सुर्खेत : कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले सामाजिक कामबाट नै मानवीयता बलियो हुने बतएका छन । उनले पछिल्लो समय मानवीयता कमजोर हुँदै गएको हुँदा विभिन्न सामाजिक कामहरु गरी मानवीयता बलियो बनाउनुपर्ने उल्लेख गरे । मानवअधिकार तथा शान्ति समाजको २४ औं वार्षिक साधारणसभामा बोल्दै मन्त्री भण्डारीले मानवअधिकार तथा शान्ति समाजजस्ता स्वयंसेवक संस्थाहरुले गर्ने सामाजिक कामले मानवीयता बलियो बनाउने बताए । उनले समाजमा व्यापक कुरीति, कुप्रथाका विरुद्ध सामाजिक कामहरु गर्न आग्रह गर्दै उनले मानवीयता कमजोर हुने काम नगर्न आग्रह गरेका छन । लोकतन्त्र, मानवअधिकार, प्रेस स्वतन्त्रताका पक्षमा शान्ति समाज सदैव अडिग रहनुले राजनीतिक दलहरुलाई पनि आड भरोसा मिलेको उनको भनाइ छ । मानवअधिकार तथा शान्ति समाजका केन्द्रीय सचिव प्रकाश शाहीले पछिल्लो समय शान्ति समाजको केन्द्रीय नेतृत्वले कर्णाली प्रदेशलाई प्राथमिकतामा पारेको जिकिर गरेका छन । कर्णालीमा छोरी पढाउँ, गरिमा बढाऔं अभियानबाट कर्णालीका १८ जना दलित बालिकाहरुलाई छात्रावृत्ति प्रदान गरेको, जाजरकोटमा गएको भूकम्पका कारण पीडितहरुलाई खाद्यान्न तथा न्याय कपडा प्रदान गरेको, मिसन कर्णाली, मोडेल कर्णाली, इन्भेष्ट कर्णाली, प्याकेज कर्णाली, रिलिफ कर्णाली र कर्णालीको उत्थानमा योगदान दिन बहस थालेको तथा वृक्षरोपण तथा सरसफाईलाई शान्ति समाजले कर्णाली लक्षित अभियान थालेको जानकारी दिए । मानवअधिकार तथा शान्ति समाज सुर्खेतका संस्थापक सभापति गोविन्द कोइरालाले जलबायु परिवर्तनका साथै कर्णालीका सीमान्तकृत समुदायका बालिकाहरुलाई शिक्षाको पहुँचमा ल्याउन शान्ति समाज अग्रसर रहेकोमा सह्राना व्यक्त गरेका छन ।
समाजका सुर्खेत अध्यक्ष प्रेमबहादुर भण्डारीले समाजले कर्णाली तथा सुर्खेतको सामाजिक क्षेत्रमा गरिएका कामहरुबारे जानकारी गराए । यसैवीच मानव अधिकार तथा शान्ति समाजले दिपक गौतमको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपसभापति रणबहादुर खड्का, सचिव सम्झना बुढा, कोषाध्यक्षः सेतुराम पाण्डे र सहसचिव दानबहादुर रोकाय निर्वाचित भएका छन । यस्तै सदस्यहरुमा ओमबहादुर बुढा, रेशम भण्डारी, महेन्द्रकुमार थापा, नैनसरा बुढा, तेजकुमारी चपाई, जि.सी. र कुमारी बिन्द्रा बडुवालसहित मनोनित सदस्यहरु ज्योति पौडेल, योगेन्द्र कार्की, मंगलकुमार शर्मा र रचना सुनार चयन भएका छन ।
प्रकाशित मिति: १२ आश्विन २०८१, शनिबार १७:३१