कुनैबेला राम्रो उत्पादन हुने बारीमा दुःख गरे अनुसार उत्पादन हुन छोड्यो यसको कारण त कीटनाशक विषादी प्रयोग पो रहेछ । खड्काले भने तरकारी बालीमा लाग्ने रोग किरा नियन्त्रणका लागी जैविक उपचार विधि अपनाइएको छ ।पछिल्लो चार वर्षयता बजारमा पाइने विषादी प्रयोग गर्ने छोडेको उहाँको भनाइ छ । खड्काको बारीमा मौसम अनुसार तरकारी उत्पादन भइरहेका छन् । कुनैबेला विषादी प्रयोग नगरी तरकारी फल्दैन जस्तो लाग्थ्यो । उहाँले भन्नुभयो, “विषादी प्रयोग नगर्दा पनि त तरकारी फल्दो रहेछ । त्यसमाथि अर्ग्यानिक खाँदा स्वास्थ्य पनि नबिग्रिने ।”
छ रोपनी क्षेत्रफलमा तरकारी खेती गरिरहेको खड्काको परिवारले मौसम अनुसार काउली, बन्दागोपी, गोलभेँडा, तिताकरेला, भेन्डी लगायतका तरकारी उत्पादन हुन्छ । उहाँले बारीमा उब्जाउ वृद्धि भएसँगै खड्काले सागर कृषि पशुपन्क्षी फार्म दर्ता गरेर छ रोपनी जग्गामा तरकारी खेती गरेर वार्षिक ५-६ लाख आम्दानी गर्ने गर्नुभएको छ । खड्का भन्नुहुन्छ, “कलाकार पशुपति शर्मा र सीता केसीले गाएको मलाई अमेरिका यही मलाई जापान पनि यही गीत मेरै लागी बनेको हो की ।” गाउँका अधिकांश पुरुष रोजगारीका लागि मुग्लान र खाडीमूलकमा गए पनि आफू गाउँमै तरकारी व्यवसाय गरेर आम्दानी गरेको बताउनुभयो । पालिकामा तरकारी सङ्कलन केन्द्र नहुँदा डोकोमा तरकारी बोकेर बिक्रीका लागि जम्बुकाँध बजार ल्याउनु पर्ने बाध्यतामा रहेको खड्काको भनाइ छ । “सानै उमेरमा हिमाचल गए, दुःख पाए । अब आफ्नै देशमा गएर केही काम गर्छु भन्ने लाग्यो । गाउँ फर्किए तरकारी लगाए । तर तीनै खड्का आजभोलि गाउँकै अगुवा कृषक बनेका छन् । पहिला त मैले जहान परिवारले खाने तरकारी फलाए । पछि बिक्री हुन थालेपछि व्यावसायिक तरकारी खेतीतिर लागेको हौँ”, उहाँले थप्नुभयो, “घरमा श्रीमती (खजुरा)ले दुई भैँसी, एक हल गोरु र केही बाख्रा पालेर सघाएकी छन् । गाईबस्तुको मल बाहेक अन्य मल प्रयोग गर्दिनन् ।”
छोराछोरीलाई उनले तरकारी बेचेरै पढाएका हुन् । उहाँ जस्तै समाजमा रहेको शोषण, दमन, र अन्यायलाई साधैका लागी अन्त्य गर्ने अठोट बोकेर युद्धमा होमिए नौमुले गाउँपालिका–६ का धन बहादुर तारामी मगर अहिले व्यावसायिक तरकारी खेतीमा लाग्नुभएको छ । सेना समायोजन गर्दा योग्य ठहरिएका मगरले नेपाली सेनामा समायोजन भई एक वर्ष जागिर गर्नुभयो ।
नेपाली सेनाले सञ्चालन गर्ने तालिम गर्दागर्दै स्वास्थ्यमा समस्या देखिएपछि स्वैच्छिक अवकाश लिएर गाउँ फर्केका तारामी मगरको अहिले परिचय नै फेरिएको छ । चार रोपनीमा जग्गाभित्र लटरम्म फलेका बोडी, टमाटर, काउली बन्दा, करेला, लौकासहितका तरकारीले अहिले दश वर्षे जनयुद्धदेखि नेपाली सेनाको जागिर समेतलाई बिर्साउने गरेको उहाँको भनाइ छ । तरकारीमा लाग्ने किराको नियन्त्रणका लागि तारामी मगर आफैँ कीटनाशक औषधी बनाउनुहुन्छ ।
किरा नियन्त्रणका लागि बास, खाडल पासो, ल्युउर राखिएको पानीको पासो, साबुन पानी पासो, मोहनी पासोले बारीमा लागेको किराको नियन्त्रण गर्ने प्रविधिलाई देखाउँदै भन्नुभयो तरकारीमा लाग्ने किराको सङ्ख्या र क्षतिको आङ्कलन गरेर निषादीमुक्त तरकारी उत्पादन गरिरहेको छु । जलवायु उत्थानशील कृषि प्रविधिबाट व्यावसायिक तरकारी खेती गर्न थालेपछि गाउँका अन्य किसान समेत त्यस तर्फ आकर्षित बनेको उहाँको भनाइ छ ।
“गाउँ घरमा विगतमा अमृत हुने बस्तु बजारबाट विषादी ल्याएर हाम्रै कारण विष बनाइएका छन्”, तारामीले भन्नुभयो, “अब विषादी नियन्त्रणका लागि सरकारले अभियान नै चलाउनु पर्छ । नत्र कृषि खेती गरिरहेका किसान भेटाउन सकस हुन्छ । तारामीको तरकारी खेती देखेपछि गाउँका अन्य युवा पनि तरकारीबाट राम्रो उत्पादन लिन थालेका छन् ।” “विषादी नछरी किरा नियन्त्रण र विषादी रहित तरकारी उत्पादनमा तारामीले अपनाएको तरिकाले हामीलाई लोभ्याएको छ,” नौमुले गाउँपालिका–४ का कृष्ण बहादुर थापा मगरले भन्नुभयो, “आफ्नै वरिपरि पाइने वनस्पति र गहुँतबाट किरा नियन्त्रण गरिँदा स्वास्थ्य सुरक्षा र कीटनाशक विषादीमा हुने खर्चबाट बचिएको छ । उहाँ अहिले गाउँ छिमेक वरपर राम्रो उदाहरणका नमुना कृषक बन्नुभएको छ । घरमा भेट्न आउने आफन्त हुन् कि अन्य छिमेकी यिनी (तारामीको) खेतीकै कुरा गर्छन् ।”