घरेलु टोली नेपाल समूह ‘ए’को विजेता बन्दै साफ यू-२० च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
आज भएको समूह ‘ए’को खेलमा बंगलादेशलाई २-१ गोलको अन्तरले पराजित गर्दै नेपाल अन्तिम चारमा प्रवेश गरेको हो । दुवै टोलीले यस अघि नै सेमिफाइनल बनाई सकेका भएपनि यस खेलको नतिजाले नेपाल समूह विजेता र बंगलादेश उपविजेता बन्दै अघि बढेका हुन् ।
२ मिनेटको अन्तरालमा २ गोल गरेपछि नेपालले साबिक उपविजेता बंगलादेशमाथि दबाब बनाएको थियो । खेलको १७ औं मिनेटमा नेपालले अग्रता लियो । १७ औं मिनेटमा नेपालका कप्तान कुशल देउवा क्लियर गरेको बल बंगलादेशका गोलरक्षक मेहेदी हसन स्रबनले मैदानमा मध्यमागमा आएर नियन्त्रण गर्न खोज्दा समिर तामाङले बल खोस्दै गोल गरे । समिरको पेस बुझ्न नसक्दा स्रबन गल्ती गर्न पुगेका थिए ।
त्यसको दुई मिनेटपछि नेपालले अग्रता दोब्बर पार्यो । अभिनाश स्याङतानले लेफ्ट विमबाट उलब्ध गराएको क्रसमा निराजन धामीले वान टचमै बललाई पोस्टको दिशा देखाए । निराजनका लागी जारी प्रतियोगितामा दोस्रो गोल थियो ।
सुरुवातमै २ गोलले पछि परे पछि बंगलादेशका प्रशिक्षक मारुफुल हकले २ खेलाडी परिवर्तन गरे । पहिलो हाफको अन्यतिर नेपाली खेलाडीले बक्स भित्र गल्ति गरेपछि बंगलादेशले पेनाल्टीको अवसर पायो । राम थापाले पेनाल्टी क्षेत्रभित्र मिराजुललाई लडाएपछि बंगलादेशले स्पट किकको अवसर पायो । ४३ औं मिनेटमा वैकल्पिक खेलाडी मिराजुल इस्लामले पेनाल्टीमा गोल गर्दै बंगलाखेशलाई खेलमा फर्काउने प्रयास गरे ।
दोस्रो हाफमा बंगलादेशले नेपाली रक्षापंतीका लागि केही कठिनाई थपे पनि उर्जन श्रेष्ठको रणनीति र नेपालको डिफेन्सलाईलाई पार गर्न सकेन । बंगलादेशले गरेको खेलको अन्तिम प्रहार जियारत शेखले जोगाएपछि नेपाल पहिलो हाफको सकोर लाइन मेन्टेन गर्न सफल भयो ।
यससंगै नेपाल समूह ‘ए’को विजेताका रुपमा सेमिफाइनमा प्रवेश गरेको हो । बंगलादेशले उपविजेताका रुपमा अघिल्लो चरणमा प्रवेश गर्यो । दुवै टिमले आफ्नो पहिलो खेलमा श्रीलंकालाई पराजित गरेका थिए ।
प्रतियोगिताअन्तर्गत भोलि हुने भारत र मालदिभ्सबीचको खेल पछि नेपाल र बंगलादेशले सेमिफाइनलका लागि प्रतिद्वोन्द्वी पाउने छन् ।
प्रकाशित मिति: ६ भाद्र २०८१, बिहीबार १७:३७