अपांगता भएका व्यक्तिहरुको सवाललाई संचारमाध्यमहरुले प्राथमिकता दिन अपांगता भएका व्यक्तिहरुले माग गरेका छन्।नेपाल नेत्रहीन युवा संघ सुर्खेतले आयोजना गरेको अपांगता भएका युवाहरुको सवाल तथा संस्था पहिचान सम्वन्धी अन्तरक्रियाका सहभागीहरुले आफुहरुका समस्यालार्इ प्रथामिकता दिन आग्रह गरेका हुन।
सहभागीहरुले अन्य क्षेत्रभन्दा अपांगता भएका व्यक्तिहरुको सवाललाई ओझेलमा पारिएकोले संचारमाध्यमले उनीहरुको पक्षमा बहस पैरवी गरिदिन आग्रह गरेका छन्।उनीहरुले वीरेन्द्रनगरको सडकहरु अपांगतामैत्री नभएको, सरकारी कार्यालयहरु पनि अपांगतामैत्री हुन नसकेकोले संचारमाध्यमले अपांगतामैत्री बनाउन पहल गरिदिन अपिल गरेका छन्।
यस्तै सुर्खेतमा सार्वजनिक यातायातमा अपांगता भएका व्यक्तिहरुलाई सहुलियत दिने नगरिएको, अपांगता भएका व्यक्तिहरुको आत्मसम्मानमा ठेस पुग्ने खालका शव्दाहरुहरु प्रयोग नगर्न पनि सहभागीहरुले जोड दिएका छन्।
राष्ट्रिय अपांग महासंघका जीतलाल ढकालले अपांगताका सवालहरुलाई संचारमाध्यमहरुले प्राथमिकता दिइ उनीहरुको हक अधिकारका वारेमा पैरवी गरिदिन आग्रह गर्नुभयो।
उहाँले उदाहरणीय बनेका अपांगता भएका व्यक्तिहरुलाई पनि संचारमाध्यमहरुले बाहिर ल्याइदिनुपर्ने उहाँको भनाइ छ। नेत्रहीन युवा संघ सुर्खेतका उपाध्यक्ष तथा सहजकर्ता उत्तम विकले आगामी दिनमा अपांगतामैत्री संरचना निर्माणमा कलम चलाइदिन जोड दिनुभयो।नेत्रहीन युवा संघ सुर्खेतका अध्यक्ष शेरबहादुर वलीले अझैपनि दृष्टिविहीनहरुलाई विभेद गर्ने गरिएको बताउनुभयो।
दृष्टिविहीन शिक्षक तथा कर्मचारीहरुलाई हाजिर नगराउने, सरुवा नगर्ने, दरवन्दी भएपनि अन्यलाई ल्याउनेजस्ता विभेद गर्ने गरिएकोले सोका विरुद्ध पैरवी गरिदिन उहाँले आग्रह गर्नुभय ।
पत्रकार महासंघ सुर्खेतका अध्यक्ष ललित बसेलले संचारमाध्यमहरुले विगतको तुलनामा अपांगता भएका व्यक्तिका मुद्दा र सवाललाई प्राथमिकता दिइरहेको बताउनुभयो।यस्तै आगामी दिनमा पनि थप संवेदनशील बन्दै जोड दिइने उल्लेख गर्नुभयो।
प्रकाशित मिति: २९ श्रावण २०८१, मंगलवार १७:३०