कर्णाली प्रदेशमा बयस्कका साथै बालबालिकहरुमा पनि मानसिक स्वास्थ्यको समस्या भोग्नुपरेको जनाइएको छ।एन्जाइटी, डिप्रेशनलगायतका कारणले बयस्कका साथै बालबालिकामा पनि मानसिक स्वास्थ्यको समस्या देखिएको पाइएको हो।
कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले आयोजना गरेको मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीतिक कार्ययोजना र यसको अवस्थावारे आज सुर्खेतमा आयोजना गरेको कार्यक्रममा प्रदेशको विद्यमान अवस्थावारे जानकारी गराउँदै मानसिक रोग विशेषज्ञ डा. सुशील समदर्शीले पछिल्लो समय कर्णालीका बालबालिकामा पनि मानसिक स्वास्थ्यको समस्या देखा पर्नु चिन्ताजनक अवस्था रहेको बताउनुभयो।
उहाँले १६ लाख ८८ हजार कर्णालीको जनसंख्यामध्ये बयस्कका ११.७ प्रतिशत जनसंख्या मानसिक स्वास्थ्यको समस्याबाट ग्रसित भएको पाइएको बताउनुभयो।
यस्तै यहाँका चार प्रतिशत बालबालिका पनि मानसिक स्वास्थ्यको समस्याबाट गुज्रिएको उहाँले बताउनुभयो।उहाँले अझैपनि नेपालमा ७० प्रतिशत मानसिकहरु मानसिक स्वास्थ्यको सहज पहुँचमा पुग्न नसकेको बताउँदै यस क्षेत्रमा सरकारको लगानी एक प्रतिशत पनि नभएको उल्लेख गर्नुभयो।घरघरमा मानसिक स्वास्थ्यको समस्या भोगेका व्यक्तिहरु रहेको हुँदा यसको उपचार शहर केन्द्रीत मात्रै रहेको उहाँको भनाइ छ।
मानसिक स्वास्थ्यको समस्या भोगेकाहरुलाई भेदभाव तथा लाञ्छना बढी भोगेको स्मरण गर्दै डा. समदर्शीले जनचेतनाको अभावले अझैपनि झारफुक र धामीझाँक्रीको भर पर्नुपर्ने अवस्था रहेको बताउनुभयो।कलिलो उमेरका बालबालिकाहरु नै मानसिक स्वास्थ्यको समस्याबाट पीडित भएको हुँदा त्यसका लागि सवै पक्षले उच्च मनोबलका साथ अगाडि बढ्ने सुझाव उहाँले गर्नुभयो।
उहाँले मानसिक स्वास्थ्यको सेवालाई तल्लो तहसम्म पुर्याउन जरुरी रहेको बताउनुभयो।यस्तै मुख्यमन्त्री यामलाल कँडेलले ध्यान नदिइ ओझेलामा पारिएको मानसिक स्वास्थ्यको सेवालाई गम्भीर रुपमा लिएर यसको उपचारलाई प्रभावकारी बनाउन निर्देशन दिनुभयो। यसको उपचार नगरे जटिल र विकराल समस्या आउन नसक्ने भन्दै उहाँले यसका अन्धविश्वासलाई पनि हटाउनुपर्नेमा जोड दिनुभयो।
बालबालिका, बयस्क, ज्येष्ठ नागरिक सवैजना यसबाट पीडित भएको हुँदा निराकरणका लागि प्रवद्र्धनात्मक, निरोधात्मक र प्रचारात्मक कार्यक्रम गर्नुपर्ने उहाँको भनाइ छ।
प्रदेश सरकारले मानसिक स्वास्थ्य समस्यालाई गम्भीर रुपमा लिएर मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीतिक कार्ययोजना तयार गरिसकेको बताउनुभयो।
उहाँले अव कार्ययोजना अनुसार काम गर्न सुझाव दिनुभयो।सामाजिक विकास मन्त्री वीरबहादुर शाहीले मानसिक स्वास्थ्य समस्यालाई न्यूनीकरण गर्न बजेट, योजनाहरु बनाएको बताउनुभयो।कार्ययोजना अनुसार नै प्रदेश सरकारले काम गर्ने प्रतिवद्धता जनाउनुभयो।
मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्दै आएको सिएमसी नेपालका प्राविधिक निर्देशक डा. पशुपति महतले कर्णाली प्रदेशले पहिलो पटक कार्ययोजना बनाइ न्यूनीकरणका काम गर्न थालेकोमा खुसी व्यक्त गर्नुभयो।
मानसिक स्वास्थ्यबाट पीडित सल्यानकी सुशीला चन्दले मानसिक स्वास्थ्यबाट पीडित भएकाहरुको उपचारका लागि आयआर्जनलगायतका कार्यक्रमहरु ल्याउन आग्रह गर्नुभयो। उहाँले विगत विर्सेर उपचारपछि नयाँ जीवन पाउन सकिने भएकोले पीडितहरुलाई आत्मनिर्भर तथा स्वरोजगार कार्यक्रममा संलग्न गराउन सके मानसिक रोगको समस्यामा कमी आउने उल्लेख गर्नुभयो।
कार्यक्रमममा कर्णाली प्रदेशसभाका सामाजिक विकास समितिका सभापति घनश्याम भण्डारी, स्वीस दूतावासका राजनीतिक सल्लाहकार प्रतिज्ञा सिम्खडा, सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखा प्रमुख वृषबहादुर शाही, सामाजिक विकास सचिव दीर्घबहादुर पोख्रेललगायतले मानसिक स्वास्थ्य कार्ययोजनालगायत विविध पक्षमा भनाइ राख्नुभएको थियो।
प्रकाशित मिति: १५ असार २०८१, शुक्रबार १७:४५