वीरेन्द्रनगर नगरपालिकाले शुरु गरेको मेयरसँग महिला किसान कार्यक्रम प्रभावकारी बन्न थालेको छ। नगरपालिकाले महिलाहरुकै लागि भनेर कृषि क्षेत्रमा होमिन चाहने र लागिरहेकाहरुलाई विभिन्न कृषि उपकरण,विउ जस्ता सामग्रीहरु प्रदान गर्दै आएको छ।
जसका कारण अहिले महिला दिदिबहिनिहरु यो कार्यक्रममा जोडिन थालेका छन।कार्यक्रमले महिलालाई उत्पादनमा जोडेर आत्मनिर्भर बनाउने लक्ष्य रहेको छ।चालु आर्थिक वर्षमा नगरपालिकाले हाते ट्याक्टरदेखि मल, विउ, टनेल, डिप बोरिङ जस्ता उपकरण र सामग्री वितरण गरेको छ।
नगरपालिका र कृषकको ५०÷५० प्रतिशत अनुदानमा ति कृषि सामग्री र उपकरण वितरण गरिएको छ।तरकारी उत्पादनका लागि लगिएका टनेलहरुको अवस्था बुझ्न आज वीरेन्द्रनगरका नगरप्रमुख मोहनमाया ढकालले स्थलगत अनुगमन गर्नुभएको छ।
वीरेन्द्रनगरका विभिन्न वडामा पुगेर ढकालले कृषक महिलाहरुको विगतको अवस्था र टनेल पाएपछिको अपेक्षाका विषयमा बारीमै पुगेर समस्या र सुझाव संकलन गर्नुभयो।वीरेन्द्रनगर ५ का कमला सुनारले वर्षौंदेखि तरकारी खेती खुला रुपमा गर्दै आएको र अपेक्षाअनुसारको प्रतिफल पाउन नसकेको मेयर ढकाल समक्ष जानकारी गराउनुभयो।
उहाँले खुला रुपमा तरकारी खेती गर्दा हावाहुरी, असिनाले तरकारी नै सखाप भन्दै अव सहजहुने बताउनुभयो।यस्तै सामुहिक रुपमा तरकारी खेतीमा होमिएका वीरेन्द्रनगर २ उत्तरगंगाका सिता रावत महतराले नगरपालिकाले दिएको टनेलले ठूलो राहत पुगेको बताउनुभयो।अहिले उहाँले एउटै सिजनमा एकलाख भन्दा धेरै आम्दानी गर्न सफल हुनुभएको छ। उहाँका बारीमा अहिले काँक्रा,टमाटरका विरुवाहरु लटरम फलेका छन। उहाँ भन्नुहुन्छ विक्रीमा कुनै समस्या छैन,ग्राहहरु घरमा किन्न आउनुहुन्छ। उहाँले गरेको व्यवुसाय देखेर अहिले गाँउका अन्य व्यक्तीहरले पनि व्यवसायीक रुपमा कृषि गर्न थालेका छन।व्यवसायी रुपमा लामो समयदेखि यहाँका महिलाहरु तरकारी खेतीमा लागेका छन्।प्रविधि र सीपको खासै जानकारी नहुँदा भनेजति उत्पादन गर्न नसकिरहेको अवस्थामा मेयरसँग महिला कार्यक्रमले थप उत्साही बनाएको महतराले बताउनुभयो।
यता नगरपालिकाले भने टनेल निर्माण देखि अन्य विउविजन तथा तालिमहरुमा समेत किसानहरुलार्इ सहयोग गर्दै आएको छ। नगरपालिकाले कृषि प्राविधक मार्फत किसानका समस्या समाधान गर्न घरघरमै पुगेर सेवादिन थालेको जनाएको छ।कृषि सामग्री र उपकरणले थप नयाँ महिला कृषक जोडिएको नगरपालिकाका कृषि विकास शाखाका प्रमुख हेमराज केसीले जानकारी दिनुभयो। उहाँले वडाभन्दा पनि उत्पादनमा बढी जोडिएका र जोड्न खोजिरहेका महिला कृषकहरुलाई विशेष प्राथमिकतामा राखेर सामग्री र उपकरण वितरण गरिएको बताउनुभयो।
मेयर ढकालले महिला कृषकहरुले फलाएको तरकारी र उहाँहरुमा देखिएको उत्साहले खुसी बनाएको बताउनुभयो। महिलाहरूलाई उत्पादन र रोजगारमा जोडेर आत्मनिर्भर बनाइने उहाँको भनाइ छ।रोजगारी सिर्जना, उत्पादनमा वृद्धिसँगै आर्थिक वृद्धिदरमा सहयोग पुग्ने अपेक्षा गरिएको छ कार्यक्रमलाई थप प्रभावकारी बनाउन नगरपालिका गम्भीर रहेकाले आगामी आर्थिक वर्ष अझै धेरैभन्दा धेरै महिला कृषकहरुलाई व्यवसायीकसँगै उद्यमी बनाउनेतर्फ नगरपालिका अग्रसर रहने ढकाल बताउनुभयो। वीरेन्द्रनगरको तल्लो क्षेत्र कृषि योग्य क्षेत्र भएकाले यसलाइ पकेट क्षेत्र घोषणा गरेर नगरपालिकाले कृषि जन्य कार्यक्रमहरु सञ्चालन गर्ने बताउनुभयो। नगरपालिकाले कृषि क्षेत्रलार्इ प्राथामिकतामा राखेर अहिले विभिन्न कामहरु गरिरहेको मेयर ढकालको भनार्इ छ। महिलाहरूलाई उत्पादन र रोजगारमा जोडेर आत्मनिर्भर बनाइने बताउनुभयो।
यसैंबीच नगरपालिकाले यसअघि नगरभित्रका महिला किसानहरूलाई मेसिनरी औजार वितरण गरिएको थियो। विभिन्न ३९ जना महिलाहरूलाई ती औजारहरू वितरण गरिएको हो । यसअघि २८ जना महिलालाई मिनीटिलर र ११ जनालाई पावरटिलर वितरण गरिएको हो । कृषि नै आर्थिक विकासको महत्त्वपूर्ण आधार हो भन्ने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको हो ।
प्रकाशित मिति: १२ असार २०८१, मंगलवार २२:०७