सल्यानको बन्गाड कुपिण्डे नगरपालिका–१२ निगालचुलाको दुरुमखोलाको चौपारी, नेटाबजार, लामडाँडा बस्नेउरामा खानेपानीको हाहाकार भएको छ।
दुई दशकअघि निर्माण गरेका योजना जीर्ण भएपछि मर्मतका लागि सम्बन्धित निकायले चासो नदिएको र भएका मुहान पनि बढ्दो गर्मीसँगै सुकेपछि खानेपानीको हाहाकार भएको हो ।
समुन्द्री सतहदेखि करिब २ हजार मिटर उचाईमा रहेको बस्तीमा खानेपानीको हाहाकार भएपछि स्थानीय समस्यामा परेका छन्।
उनीहरु एक गाग्री पानीका लागि एक/डेढ घन्टा हिँडेर खोला तथा खोला आसपासमा भएका जरुवा धाउन बाध्य भएका छन् ।
खानेपानी लिन जाने गोरेटो सडक गतिलो नभएको र ठाडै उकालो, ओरालो भएकाले स्थानीयले सास्ती भोग्दै आएका छन् ।
खानेपानीको हाहाकार भएपछि बस्नेउराका ४०, दुरुमखोलाको चौपारी, नेटापोखरा, लामडाँडाका २० गरी ६० घर परिवार प्रभावित भएका छन् ।
प्रत्येक वर्ष गर्मीको समयमा हुने खानेपानीको हाहाकारका कारण डेढ दशकको अवधिमा झन्डै सय घर विस्थापित भैसकेका छन् ।
२०५२ सालमा तत्कालीन खानेपानी कार्यालय र जिविसको ४ लाख अनुदानमा निर्माण सम्पन्न गरिएको योजना जीर्ण भएको र अहिलेसम्म मर्मत तथा नयाँ बनाउने बारे कसैले चासो नदेखाएका कारण एक गाग्री पानीका लागि एक घन्टा पैदल हिँडेर बस्तीदेखि तलको खोला जानुपर्ने बाध्यता रहेको चौपारीकी ४८ वर्षीया निर्मला घर्तीले बताउनुभयो।
पुराना योजना तहसनहस भैसकेका, पछिल्लो समयमा निर्माण गरेका लिफ्ट खानेपानी योजना टिकाउ नभएकाले दुरुमुखोला, बस्नेउरा मात्र नभई माझखर्क, चौरमा पनि खानेपानीको समस्या उस्तै रहेको वडाध्यक्ष लालबहादुर घर्तीले बताउनुभयो।
पुराना योजना मर्मतका लागि पटक-पटक बजेट विनियोजन गरे पनि थोरै बजेटले राम्रो काम नहुने र सबैको समस्या समाधानको लागि तीन वर्षअघि प्रदेश सरकारबाट परेको १ करोड बजेटको लिफ्ट खानेपानी योजनाको काम गतिलो हुन नसक्दा समस्या समाधान हुन नसकेको उहाँले बताउनुभयो।
प्रकाशित मिति: १७ बैशाख २०८१, सोमबार १७:०८