निर्माण सुरु भएको तीन वर्ष बित्दा पनि भेरी कोरिडोर अन्तर्गत जाजरकोटको तल्लुवगरको बेलिब्रिज निर्माण अलपत्र रहेको छ।
भेरी कोरिडोरअन्तर्गत पर्ने जाजरकोटको नलगाड नगरपालिका–१२ र रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाको अनाह बिचको भेरी नदीमा रहेको तल्नु बगर बेलिब्रिज तिन वर्षमा निर्माण हुन नसकेको हो।
चीन नेपाल र भारत जोड्ने त्रिदेशीय व्यापारिक नाकाका रूपमा रहेको भेरी कोरिडोरलाई पूर्णता दिने महत्त्वपूर्ण उक्त पुल निर्माणमा सुरु देखि नै ढिला-सुस्ती भएको हो।
तीन वर्ष अघि सडक डिभिजन कार्यालय चौरजहारीले बेलिब्रिज पुल निर्माणका लागि ठेक्का खुलाएको थियो।
२०७८ साल पुसमा हिम सगरमाथा खड्का कृष्ण जेभीले ३ करोड ८१ लाखमा पुल निर्माणको जिम्मा पाएको एक वर्षपछि मात्र काम सुरु गरेको थियो।
तल्नुबगरस्थित भेरी नदीमा यातायातका साधन वारपारको तत्कालीन समस्यालाई समाधान गर्नका सडक डिभिजन कार्यालयले बेलिब्रिज पुल बनाउन ठेक्का खुलाएको थियो।
एक वर्षभित्र निर्माण कार्य सम्पन्न गर्ने गरी निर्माणको जिम्मा पाएको निर्माण कम्पनीले चरम ढिलासुस्तीले गर्दा अझै पुल निर्माण हुन नसकेको बताइएको छ।
थोरै समयमा जडान गर्ने गरी डिजाइन गरिएको अस्थायी प्रकृतिको बेलिब्रिज पुल निर्माण गर्नै पक्की पुल सरह समय लगाएपछि नागरिकले महँगीको चरम मार खेप्नु परेको छ।
जाजरकोटमा रहेको भेरी कोरिडोर कार्यालयले पुल निर्माण एक महिना भित्र सम्पन्न हुने बताएको छ ।
भेरी कोरिडोर कार्यालयका जाजरकोटका प्रमुख सुनिल रञ्जितकारले विभिन्न कारणले पुल निर्माणमा ढिलासुस्ती भए पनि अहिले पुल निर्माणको काम नब्बे प्रतिशत सकिसकेको बताउनुभयो।
भेरी कोरिडोर कार्यालयका अनुसार १ सय १८ किलोमिटर लम्बाइ रहेको जाजरकोट डोल्पा सडक खण्ड भित्रको ५६ किलोमिटर सडक खण्डमा अहिले काम भइरहेको छ।
६२ किलोमिटरमा कार्यालयले फराकिलो बनाउने काम सुरु गर्न थालेको बताएको छ। गोर्खापत्रबाट साभार
प्रकाशित मिति: १६ बैशाख २०८१, आईतवार १६:२८