संरक्षित वन काँक्रेविहार संरक्षित वन क्षेत्रभित्र वन्यजन्तु भने असुरक्षित रहेका छन। वीरेन्द्रनगर नगरपालिका–९, लाटीकोइलीमा रहेको काँक्रेविहार क्षेत्रमा महिनैपिच्छे संरक्षित जनावर जरायो मर्ने गरेका छन्।
जसका कारण संरक्षित वनमा वन्यजन्तु असुरक्षित बनेका हुन्। स्थानीयका अनुसार गत वैशाखदेखि यो चैतसम्म करिब ५० वटा जरायो मरेको अवस्थामा फेला परेका छन्।
तीमध्ये केही कुकुरले लखेटेर, खाडलमा डुबेर र धेरैजसो पासोमा पारेर वा चोरी सिकारीले बन्दुक हानेर मारिएका छन्।लाटीकोइलीका स्थानीय सुदीपविक्रम जिसीले यसरी मारिँदा अहिले काक्रेविहारमा जरायोको सङ्ख्या घट्दै गएको बताउनुभयो।
काँक्रेविहारभित्र वनभोज खानेको भिड, बाजा र डिजेको चर्को आवाजले पनि शान्ति खोज्ने जरायो बाहिरिन थालेका छन्।त्यसका साथै जरायोले मन पराउने घाँस र पानीको अभावले गर्दा पनि बाहिर निस्किएका बेला मार्ने, खाल्डोमा डुब्ने गरेको पाइएको जिसीले बताउनुभयो।
उहाँले महिनामा कम्तीमा चार/पाँच वटा जरायो मर्ने गरेका भन्दै गत माघ र फागुनमा मात्रै आठ वटा जरायो मृत फेला पारेको बताउनुभयो। विगतमा ७० वटासम्म रहेको भनिएका जरायो अहिले बढीमा २५/३० वटासम्म रहेको हुन सक्ने अनुमान गरिएको छ।
यता डिभिजन वन कार्यालय सुर्खेतले जरायोका लागि पानीपोखरी निर्माण गर्ने तयारी भइरहेको जनाएको छ।
विगतमा बनाएका पोखरीमा पानी जम्न नसक्दा समस्या आएकाले अहिले पानी अडिन सक्ने खालको बनाइने डिभिजन वन कार्यालयका प्रमुख वसन्तबाबु श्रेष्ठले बताउनुभयो।
उहाँले आफू सरुवा भएर आएको करिब दुई महिना भएको र यसबिचमा तीन वटा जरायो मृत फेला परेको जानकारी दिनुभयो।
संरक्षण हुन नसक्दा जरायो लोप हुने अवस्थामा पुगेको भन्दै उहाँले काँक्रेविहारभित्र वनभोज खाने, बढी भिडभाड हुने काममा पनि रोक लगाउन आवश्यक रहेको जनाउनुभयो।
यस्तै स्थानीय अभियन्ताले पनि केही समयअघि काँक्रेविहार संरक्षित वनमा वनभोज खान रोक लगाउन मागसहित डिभिजन वन कार्यालयमा निवेदन दिएका थिए।
प्रकाशित मिति: ९ चैत्र २०८०, शुक्रबार १६:०५