प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाद्वारा लिखित ‘जेल डायरी’ माथि बुधबार वीरेन्द्रनगरमा विमर्श गरिएको छ। प्रेस युनियन सुर्खेत र जय नेपाल फाउण्डेशन सुर्खेतको संयुक्त आयोजनामा विमर्श कार्यक्रम आयोजना गरिएको हो।
कांग्रेस नेताशंकर तिवारीले सम्पादन गरेको पुस्तक कोइरालाले वि.सं. २०१७ देखि २०२५ सालसम्म जेल जीबन बिताएको समयमा लेखिएको हो ।गत भदौमा प्रकाशन भएको पुस्तकमाथि सम्पादक तिवारी देशव्यापी रुपमाविमर्श गर्दै बुधबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर आएका हुन् ।
विमर्श कार्यक्रममा सहजकर्ता एवम् मध्यपश्चिम विश्वविद्यालयका सहप्राध्यापक डा. अर्जुनबहादुर ऐडीले पुस्तकका बारेमा सोधिएको प्रश्नको जवाफ दिँदै सम्पादक तिवारीले यो जेल डायरी अन्य डायरी भन्दा फरक रहेको बताए। ‘यसमा समाजवादको व्याख्यानिकै सुक्ष्म ढंगले गरिएको छ,’उनले भने, ‘यो डायरी अंग्रेजीबाट नेपालीमा अनुवाद गरिएको हो, कोइरालाले यो पुस्तकमा आफूमा उत्पन्न भएको रिस, आवेग, आक्रोश, खुसी र हरेक भावनालाई निर्धक्कका साथ व्यक्त गर्नुभएको छ ।’
तत्कालिन पञ्चायतविरुद्ध लड्दै गर्दाका संघर्ष, बीपीको निडरता र २००७ सालको क्रान्तिकाबारे मागहिरो रुपमा बुझ्नका लागि जेल डायरी पढ्नैपर्ने तिवारीको भनाइ छ। ‘जेल जीबनलाई उहाँले पीडाका रुपमा भन्दापनि सयौँ पुस्तक अध्ययन गरी भावी समाज निर्माणको चित्र यो डायरी मार्फत कोरिएको छ,’ उनले भने, ‘राजनीतिक मुल्य, मान्यता र आदर्श कस्तो हुनुपर्छ भन्ने कुरा यो डायरीमा उल्लेख गरिएको छ ।’
कार्यक्रममा सहभागी विद्यार्थी आदर्शबिक्रम सिंहले बीपीको सिर्जना र साहित्यलाई बेचेर कहिलेसम्म राजनीति गरिरहने ? भनी गरेको प्रश्नमा सम्पादक तिवारीले समाजलाई योगदान गरेर गएको व्यक्तिको विचारका चिन्तन र विमर्श गरेको जवाफ दिए। ‘उहाँको विचारलाई हामीले बेचेको नभइ अनुसरण गरेकाहौँ, उनले भने ।’
विमर्श कार्यक्रममा नेपालीकांग्रेस सुर्खेतका सचिव देवकुमार सुवेदीले बीपीका सिद्धान्त र विचारका बारेमा जति नै चर्चा भएपनि कांग्रेस सरकारमा गएपछि नेताहरुले ति पुस्तकमा भएका कुरा किनलागु गर्दैनन् ?भनी प्रश्न गरे । उनको प्रश्नको जवाफ दिँदै सम्पादक तिवारीले बीपीका सिद्धान्तहरु कांग्रेसले लागू गर्न नसकेको अवस्था रहेको स्वीकार गरे ।
जनतासँगै वहस गरेर विकासकाकाम अगाडी बढाउन सके विकासले सार्थकता पाउने उनको भनाइ छ । पुस्तकमा राजनीतिक नेताहरुमा अध्ययनको अभाव रहेको बीपीले उल्लेख गरेको तिवारीले बताए ।
प्रकाशित मिति: ७ चैत्र २०८०, बुधबार १७:४८