कर्णाली प्रदेशस्तरीय फुटबल प्रतियोगिताको उपाधि जुम्लाले चुमेको छ ।
जुम्ला चन्दननाथ नगरपालिका रंगशालामा भएको फाइनलमा हुम्लालाई ४ गोल गर्दै उपाधि जुम्लाले जितेको हो ।
जुम्लाको जितका लागि रुवेन भण्डारीले हृयाट्रिक गर्दा दोस्रो हाफमा जुम्लाकै महेन्द्र शाहीले पेनाल्टी सुटआउटमा १ गोल थपेपछि जुम्लाको ४ गोल भएको हो ।
हुम्लाले पटक-पटक गोल गर्ने अवसर पाए पनि सफल हुन सकेन ।
उपाधि जितेको जुम्लाले प्रदेशस्तरीय फुटबलको कप, मेडल प्रमाणपत्र पाएको छ ।
विजेता र उपविजेता टिमलाई कर्णाली प्रदेशसभा सदस्य पूर्वसामाजिक विकासमन्त्री टेकराज पछाई, प्रदेशसभा सदस्य देवन्द्रबहादुर शाही, प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरे लगायतले प्रमाणपत्र, मेडल र टफ्री हस्तान्तरण गरेका छन्।
जुम्लाले आगामी मंसिरमा हुने दसौं राष्ट्रिय खेलकुदमा धेरै खेलाडी छनौट हुने अपेक्षा गरेको छ ।
प्रदेशस्तरीय फुटबलमा कर्णालीका १० मध्ये ६ जिल्लाबाट टिम दर्ता भएको थियो।
जुम्ला, मुगु, हुम्ला, कालिकोट, सुर्खेत र जाजरकोट जिल्लाले प्रदेशस्तरीय फुटबल प्रतियोगितामा भाग लिएको जिल्ला फुटबल संघ जुम्लाका महासचिव दीपेन्द्र हमालले बताउनुभयो।
जुम्लाले सुर्खेत र हुम्लाले कालिकोटलाई सेमिफाइनलमा पराजित गर्दै उपाधि भिड्न पक्का गरेका हुन।
प्रतियोगितामा सहभागी ६ वटै जिल्लाबाट उत्कृष्ट खेलाडीलाई विभिन्न सूचकका आधारमा छनोट गरिने जिल्ला फुटबल संघ जुम्लाका अध्यक्ष भरत बुढ्थापाले बताउनुभयो ।
प्रकाशित मिति: १८ फाल्गुन २०८०, शुक्रबार १८:२९