कर्णाली प्रदेशमा झण्डै डेढ लाख बालबालिकालाई दादुराबिरूद्दको खोप लगाइने भएको छ।९ महिनादेखि ५ वर्ष मुनिका कुल १ लाख ४७ हजार ४ सय ४४ जना बालबालिकालाई खोप लगाउने लक्ष्य राखिएको स्वास्थ सेवा निर्देशनालय सुर्खेतले जनाएको छ।
यही फागुन महिनाभित्र खोप लगाउने गरी खोप अभियान सुरू हुने भएको हो।सुर्खेत, दैलेख, कालिकोट, जुम्लामा १३ गतेदेखि, सल्यानमा १० गतेदेखि, डोल्पामा २२ गतेदेखि, मुगुमा २४ र हुम्लामा २५ गतदेखि खोप अभियान सुरू हुने कार्यतालिका तय भएको छ।
सबै जिल्लामा दुई चरणमा अभियान सुरू हुने छ।कर्णालीकै जाजरकोट र रूकुम पश्चिममा भने यस अघि नै खोप अभियान सम्पन्न भइसकेको प्रदेश स्वास्थ सेवा निर्देशनालयका वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत तथा खोप फोकलपर्शन नवराज कँडेलले जानकारी दिनुभयो।
खोप अभियानका लागि कर्णालीमा करिव करिव १ हजार ४ सय खोप केन्द्र रहने अनुमान गरिएको छ।१ सय २५ जना बालबालिका भएको ठाउँमा एउटा खोप केन्द्र राखिने छ।दादुरा रूवेला खाेप अभियान २०८० सम्बन्धनमा सञ्चारकर्मीहरूलाई अभिमुखीकरण कार्यक्रममा यस्तो जानकारी दिइएको हो।
खोप कर्णालीका मुगु, हुम्ला र डोल्पामा हेलिकप्टरबाट खोप ढुवानी गरिने छ भने बाँकी जिल्लामा स्थलगत माध्यमबाट खोप ढुवानी प्रक्रिया सुरू गरिएको प्रदेश स्वास्थ आपूर्ति केन्द्र सुर्खेतका आपूर्ति प्रमुख देविराम पौडेलल जनाकारी दिनुभयो।
कर्णाली पूर्ण खोपयुक्त प्रदेश घोषणा भएपनि दादुराको जोखिम भने कायमै छ।पछिल्लो समय जाजरकोट, सुर्खेत र कालिकोटमा दादुराका विरामी भेटिएका थिए।
सरूवा रोग दादुराले रोग १ जना संक्रमितले १८ हजारसम्म बालबालिकालाई सर्ने जोखिम हुन्छ।यही कारण दादुरा खोपलाई प्रभावकारी बनाउने लक्ष्य तय गरिएको छ।
खोप अभियानलाई प्रभावकारी बनाउन स्वास्थ संस्थाहरूले बालबालिका रहेको घरमा निमन्त्रणा कार्ड नै दिएर खोप लगाउन प्रेरित गरिने छ।२०३४ सालदेखि सुरू भएको राष्ट्रिय खोप कार्यक्रममा हाल १३ प्रकारका खोपहरू लगाइने गरिएको छ।
बालबालिकालाई विभिन्न रोगबाट बचाउन पहिले १ महिने बालबालिकामा सीमित रहेको खोप कार्यक्रममा हाल १५ वर्षसम्म बालबालिकालाई समेट्दै आएको छ।
प्रकाशित मिति: ११ फाल्गुन २०८०, शुक्रबार १७:१०