वीरेन्द्रनगरमा रहेको नगर अस्पताल सुर्खेतमा आजदेखी ५५ वर्षभन्दा माथिको उमेर समूहका नागरिकहरुको स्वास्थ्य परीक्षण सेवा सुरु गरिएको छ।स्वास्थ्य सेवा निर्देशनालयमार्फत कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरको वडा नं ६ बाट यो कार्यक्रम सुरु गरिएको हो।
यसअघि सुर्खेतकै पश्चिमको दुर्गम चौकुने गाउँपालिका र रुकुम पश्चिममा कार्यक्रम सुरु भइसकेको छ।कार्यक्रमको आज एक कार्यक्रमका विच सामाजिक विकास मन्त्री खड्कबहादुर पोखरेलले उद्धघाटन गर्नु भएको हो।
अस्वस्थकर जीवनशैली, शारीरिक व्यायाममा कमी, आहार विहारमा ध्यान नदिँदा नसर्ने रोगको जोखिम बढ्दै गएको निर्देशनालयका जनस्वास्थ्य निरीक्षक किरण शर्माले बताउनुभयो।
यो कार्यक्रमले ५५ वर्षभन्दा माथिको उमेर समूहका मानिसहरुको उच्च रक्तचाप, मधुमेह र मिर्गौलाका लागि पिसाव जाँच गरिने बताउनुभयो।
नगर अस्पताल रहेको वडा भएका भएकोले वीरेन्द्रनगरमा सर्वप्रथम वडा नं. ६ बाट यो कार्यक्रम थालिनेछ।सुरुमा नसर्ने रोगका विरामीको तथ्यांक संकलन गरिने र त्यसपछि रोकथाम र उपचारको काम गरिने उहाँको भनाइ छ।
स्वास्थ्य सेवा निर्देशक डा. रविन खड्काले वीरेन्द्रनगरको ६ नम्बर वडाबाट सुरु हुने यो कार्यक्रम नमूना भएकोले यसको उपलव्धिका आधारमा पछि नगरपालिकाभर विस्तार गर्ने लक्ष्य रहेको बताउनुभयो।
उहाँले कर्णालीमा २१ प्रतिशत नसर्ने रोगको विरामी भएको तथ्यांक रहेपनि करिव ५० प्रतिशत रहेको अनुमान गर्नुभयो।
मन्त्री पोखरेलले ५५ वर्ष माथिका उमेर समूहलाई लक्षित कार्यक्रम निकै प्रभावकारी भएकोले यसको पूर्ण लाभ लिन उहाँले आव्हान गर्नुभएको छ।लक्षित उमेर समूहका मानिसहरुका लागि यो कार्यक्रम निकै उपयोगी भएको उहाँको दावी छ ।पहिलो दिन केही नागरिको स्वास्थ्य परिक्षण गरिएको जनाइएको छ।
कार्यक्रममा प्रदेश स्वास्थ्य आपुर्ती व्यवस्थापन केन्द्रका प्रमुख शक्तीबहादुर सुवेदी,सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख वृशबहादुर शाही लगायतको सहभागिता रहेको थियो।
प्रकाशित मिति: १७ माघ २०८०, बुधबार १६:५२