अपाङ्गताको सवालमा कर्णाली प्रदेश सरकारलाई ९ बुँदे सुझाव दिएका छन।अपाङ्गता भएका व्यक्तीहरुको लागि काम गर्दै आएका विभिन्न संघसस्थाहरुले ध्यानाकर्षपत्र मार्फत ९ बुँदे सुझाव दिएका हुन ।
कर्णाली ग्रामीण उत्थान तथा समाज विकास केन्द्रको आयोजनामा भएको कार्यक्रममा विभिन्न संघस्थाहरुले सरकारलार्इ सुझाँव दिएका हुन।सिडिएस पार्क सहित, डार्डो नेपाल मुगु, नेत्रहिन महिला संघ नेपाल, नेत्रहिन युवा संघ नेपाल र राष्ट्रिय अपाङ्ग महासंघ नेपालले प्रदेश सरकारलाई संयुक्त रुपमा ध्यानाकर्षणपत्र मार्फत ९ बुँदे सुझाव दिएका हुन्।
उनिहरुले सबैका लागि वृहत यौनिकता शिक्षामा पहुँच सुनिश्चित गर्नु सुझाव दिएका छन्। यौन तथा प्रजनन स्वास्थ्य र अधिकारका लागि बृहत यौनिकता शिक्षा आवश्यक भएको भन्दै विभिन्न प्रकारका अपाङ्गताका लागि सबै सिकाइ सामग्रीहरु पहुँचयोग्य ढाँचामा विकास गरिनुपर्ने सुझाव दिइएको छ।
बृहत् अपाङ्गता स्वास्थ्य कार्यक्रमका संयोजक अनिशा श्रेष्ठले अहिले यो कार्यक्रम मुगुसहित सुर्खेत र काठमाडौँमा लागु गरिएको बताउनुभयो।उहाँले महिलालाई प्रजनन स्वास्थ्य सेवाका बारेमा जानकारी दिने, सेवाप्रदायक स्वास्थ्य संस्थाको व्यवहार, ज्ञान र सिपका साथ अपाङ्गता तथा पहुँचमैत्री स्वास्थ्य संरचना निर्माणलाई यो कार्यक्रमले प्राथमिकता दिएको बताउनुभयो।
महिलाहरु दोहोरो विभेदमा
यसैबिच, अपाङ्गता भएका महिलाहरु दोहोरो विभेदमा पर्ने गरेको भन्दै यतातर्फ सरकारले ध्यान दिनुपर्ने माग गरेका छन्।
कर्णाली ग्रामीण उत्थान तथा समाज विकास केन्द्र (सिडिएस पार्क) मुगुले आज सुर्खेत वीरेन्द्रनगरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले अपाङ्गता भएका महिलाहरु दोहोरो विभेदमा पर्ने गरेको बताएका हुन्।
समुहगत छलफलमा सहभागी नेत्रहिन महिला अधिकारकर्मी सोमना खड्काले अपाङ्गता भएका व्यक्तीहरुलाई अहिले पनि समाजमा विभेद गर्ने गरिएको भन्दै त्यसमाथी पनि अपाङ्गता भएका महिलाहरु दोहोरो विभेदमा पर्ने गरेको बताउनुभयो।
उहाले कर्णालीमा महिनावारी भएको समयमा छाउगोठमा बस्नुपर्ने बाध्यता रहेको भन्दै अपाङ्गता भएका महिलाहरुलाई झनै समस्या यो प्रथाले बनाएको बताउनुभयो।उहाले गर्भवती महिलाहरु परिक्षण गर्न तिन दिनको बाटो हिडेर स्वास्थ्य संस्थामा जानुपर्ने बाध्यता रहेको भन्दै त्यसरी अपाङ्गता भएका गर्भवती महिलाहरु कसरी चेकजाँच गर्न जान सक्छन भन्दै प्रश्न गर्नुभयो।
अपाङ्गता भएका महिला गर्भवतीहरु कती हुन्छन र कती छन भने कुनै नीकायसँग तथ्याङ्क नरहेको उहाले बताउनुभयो।नेत्रहिन युवा संघ नेपालका सचिव अर्जुन साउदले अपाङ्गता भएका व्यक्तीहरुको हरेक क्षेत्रमा अझैपनि अधिकार प्रत्याभुत हुन नसकेको बेला मुगुको छायाँनाथ रारा नगरपालिकाले केही सुधारका काम गरेको भन्दै खुशी व्यक्त गर्नुभयो।
अपाङ्गता निती
मुगुको छायाँनाथ रारा नगरपालिकाले नेपालमै पहिलोपटक अपाङ्गता नीति बताएको छ।नगरप्रमुख विष्णु कुमार भावले आफुहरुले नेपालमै पहिलोपटक अपाङ्गता सम्बन्धी नीति ल्याएको भन्दै त्यसलाई कार्यान्वयनमा लिइएको जानकारी दिनुभयो।
पालिकामा अपाङ्गता हेल्पडेस्क स्थापना गरि अपाङ्गता भएका व्यक्तीहरुलाई सेवा दिइरहेको भन्दै भामले पालिकामा सांकेतिक भाषाको समेत शुरुवात गरिएको जानकारी दिनुभयो।
पालिकाका ३१ वटा विद्यालय र २९ वटा स्वास्थ्य संस्थाहरुको संरचनालाई अपाङ्गतामैत्री बनाइएको र पालिकाकामा रहेको ७ सय जना अपाङ्गता भएका व्यक्तीहरुलाई निशुल्क स्वास्थ्य बिमा गरिएको बताउनुभयो।
यस्तै, प्रदेश सरकारले स्वास्थ्यको सेवालाई सबै नागरिकको पहुँचमा पुर्याउनेगरी नीति निर्माण गरिएको भन्दै यो नीतिले अपाङ्गता भएका व्यक्तीहरुको पनिस्वास्थ्य सेवामा पहुँच पुग्ने दाबी गरेको छ।
सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख वृशबहादुर शाहीले ७० वटा सामुदायि स्वास्थ्य इकाई बनिरहेको र ४२ वटा एम्बुलेन्स मार्फत सेवा दिइरहेको जानकारी दिनुभयो।समुहगत छलफलमा प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक रबिन खड्का लगायतको सहभागिता रहेको थियो।
संस्थाका संस्थापक अध्यक्ष अजबहादुर शाहीले संस्थाले बृहत अपागंगताको क्षेत्रमा विभिन्न काम गरेको बताउनुभयो।राष्ट्रिय जनगण्ना २०७८ अनुसार कर्णालीमा ५३ हजार ५२ जना अपाङ्गता भएका व्यक्तीहरु रहेका तथ्याङ्क छ।
प्रकाशित मिति: १६ माघ २०८०, मंगलवार १७:५३