नेकपा माओवादी केन्द्रको अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष पञ्चा सिंहविरुद्ध दोस्रो पटक पक्राउ पुर्जी जारी भएको छ । १५ वर्षअघि कालिकोटका १७ वर्षीय राजबहादुर मल्लको हत्यामा संलग्न रहेको आरोप सिंहसहित ६ जनाबिरुद्ध सुर्खेत जिल्ला अदालतको अनुमति लिएर जिल्ला प्रहरी कार्यालय सुर्खेत पक्राउ पुर्जी जारी गरेको हो । कालिकोटको महावै गाउँपालिका स्थायी ठेगाना भएका सिंहसहित ‘टाइगर’ भनिने पदमबहादुर रावत, ‘गुराँस’ भनिने बालकृष्ण सिंह, टंकबहादुर सिंह, कालिकोटकै खाडाचक्र नगरपालिकाका ‘सुभाष’ भनिने विरबहादुर मल्ल र ‘अशोक’ भनिने अलि कार्कीविरुद्ध पक्राउ पूर्जी जारी भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक योगेन्द्रसिंह थापाले जनाए । उनीहरुको घर–ठेगानामा खोजतलासका लागि पत्राचार गरिसकेका प्रहरीले जनाएको छ । सिंहसहितको तत्कालीन माओवादी समूहले सुर्खेतमा जन माविमा पढ्दै गरेका राजबहादुरको २०६५ फागुन २६ गते बेलुका आठ बजेतिर सुर्खेत बसपार्कमा खाना खाएर कोठातर्फ जाँदै गरेको बेला खुकुरी प्रहार गरेर हत्या गरेको आरोप छ । हत्या लगत्तै मृतक राजबहादुरका काका नवराज मल्लले सुरुको जाहेरी दिएका थिए। हत्या घटनापछि प्रहरीले ३१ जनालाई अनुसन्धान अधिकृत तोकेपनि अहिलेसम्म कसैलाई पक्राउ गर्न सकेको छैन।
प्रकाशित मिति: ८ माघ २०८०, सोमबार ०१:३७