सुर्खेत । प्रदेश अस्पताल सुर्खेतले जटिल प्रकृतिको उपचार मानिने स्पानल इन्जुरी (मेरुदण्डको अप्रेशन)को सफल अप्रेशन गरिएको छ । अस्पतालमा हालसम्म ५१ वटा स्पानल इन्जुरीको सफल अप्रेशन गरेको प्रदेश अस्पताल सुर्खेतका अर्थाेपेडिक विभागका प्रमुख डाक्टर शुभ श्रेष्ठले जानकारी दिए । ‘स्पानल इन्जुरीको अप्रेशन जटिल प्रकृतिको उपचार सेवा मध्येको एक हो’ डाक्टर श्रेष्ठले भने, ‘प्रदेश अस्पतालमा पनि हामीले उपचार सेवा दिँदै आएका छौँ ।’ तीन वर्षदेखि अस्पतालमा स्पानल इन्जुरीको अप्रेशन हुँदै आएको छ ।
सुर्खेतमै स्पानल इन्जुरीको अप्रेशन सुरु गरेपछि ढाँड भाँचिएका कर्णालीका विरामीलाई उपचारका लागि बाहिर जानुपर्ने बाध्यताको अन्त्य भएको डाक्टर श्रेष्ठले बताए । महंगो र जटिल प्रकृतिको समस्या भएकै कारण ढाँडको अप्रेशन गर्ने विरामीका लागि अस्पतालले ‘विपन्न नागरिक औषधि उपचार कोष’ सञ्चालन गरेको छ । २०७९ असारदेखि सञ्चालनमा आएको यही कोषबाट स्पानल इन्जुरीको अप्रेशन गरेका विरामीलाई एक लाख बराबरको औषधि उपचार सेवा पाउँदै आएका छन् ।
आर्थिक अभावमा कुनै पनि विरामी उपचारबाट बन्चित नहोस् भन्ने उद्देश्यले अस्पतालले विपन्न नागरिक औषधि उपचार कोष सञ्चालन गर्दै आएको छ । पछिल्लो समयमा प्रदेश अस्पतालमा ठूला र जटिल प्रकृतिका उपचार सेवाहरु सञ्चालन हुँदै आएका छन् ।
अर्पाेपेडिक विभागमा हाल डा.शुभ श्रेष्ठ, डा. पदम गिरी, डा. रविन केसी, डा. तेजेन्द्र साउद, डा. किशोर कुमार विष्ट र डा. हिक्मत भण्डारीसहित ६ जना चिकित्सकरु कार्यरत छन् ।
यसैबीच ५० भन्दा बढी स्पानल इन्जुरीका विरामीको सफल अप्रेशन गरेको अवसरमा अस्पतालले एक कार्यक्रमको आयोजना गर्दै केक काटेर खुशीयाली मनाएको छ । अस्पतालमा आएका जटिल प्रकृतिका विरामीलाई सहज रुपमा उपचार गर्न सफल भएको खुशीयालीमा अस्पतालले केक काटेर खुशीयाली मनाएको हो । कार्यक्रमका अस्पताल विकास समितिका अध्यक्ष खड्क बसेल, अस्पतालका निर्देशक डाक्टर डम्बर खड्का लगायत अर्थाेपेडिक विभागका चिकित्सक तथा स्वास्थ्यकर्मीहरु सहभागी थिए ।
प्रकाशित मिति: ७ माघ २०८०, आईतवार १५:१२