वीरेन्द्रनगर नगरपालिकाले विमानस्थल विस्तारको लागि विभिन्न ६ बुँदे निर्णय गरेको छ।आज बसेको सर्वपक्षीय बैठकले हाल सञ्चालन भईरहेको हवाई सेवालाई सुरक्षित तथा भरपर्दो बनाउन संघीय सरकार सँग माग गर्ने निर्णय गरेको छ।
विमानस्थल विस्तार गर्दा अधिग्रहण गरिने जग्गा र भौतिक संरचनाको चलनचल्तीको मूल्यमा स्थानीयवासीहरुलाई उचित मुआब्जा उपलब्ध गराउने अमर ज्योती नमुना माध्यमिक विद्यालयलाई उपयुक्त स्थानमा तत्काल स्थानान्तरण गर्न योजना र कार्यक्रम सहित पहलकदमी लिन प्रदेश सरकार सँग सम्झौता गर्ने निर्णय गरेको छ।
नगर प्रुमुख मोहनमाया ढकालले कर्णाली प्रदेश अन्तर्गत रहेका विमानस्थल र नजिक रहेका विमानस्थलमा सुर्खेत विमानस्थलवाट नियमित हवाई सेवा सञ्चालन गर्न संघीय सरकार सँग माग गर्ने बताउनुभयो।
उहाँले सुर्खेत विमानस्थलवाट दैनिक रुपमा ३०० भन्दा वढी यात्रुहरु आवत जावत गर्ने भएकाले आवश्यक भौतिक संरचना निर्माण गर्न नेपाल उड्डयन प्राधिकरण सँग माग गर्ने बताउनुभयो।
उहाँले सर्वदलिय तथा सर्वपक्षीय वैठकवाट गरिएका निर्णयहरु कार्यपालिकाको बैठक मार्फत कार्यान्वयनका लागि अगाडी वढाउन सम्वन्धित निकायमा अनुरोध गर्ने बताउनुभयो।
धावनमार्ग विस्तार सरोकावाला एकमत
सुर्खेत विमानस्थलको धावनमार्ग विस्तार गर्न यहाँका निर्वाचित जनप्रतिनिधि, राजनीतिक दल, निजी क्षेत्र, नागरिक समाज एकमत भएका छन्।वीरेन्द्रनगर नगरपालिकाले आज विमानस्थल विस्तार सम्वन्धमा आयोजना गरेको सर्वपक्षीय बैठकमा धावनमार्ग विस्तार गर्न एकमत भएका हुन।
विमानस्थल धावनमार्ग विस्तारको च्याप्टर सकिएको भन्दै विभिन्न टिकाटिप्पणी भइरहेका बेला नगरपालिकाले सर्वपक्षीय र सर्वदलीय बैठकको आव्हान गरेको हो।बैठकमा सहभागी संघीय तथा प्रदेशसभाका जनप्रतिनिधिहरु, राजनीतिक दल, निजी क्षेत्र, नागरिक अगुवा सवैले धावनमार्ग विस्तारको काम अविलम्ब सुरु गर्न समेत सुझाव दिएका छन्।
नागरिक अगुवा पीताम्बर ढकालले सुर्खेत विमानस्थलमा धेरै लगानी लागिसकेको हुँदा अव अन्तिम पटक उत्तरतर्फ धानवमार्ग विस्तार गर्ने काममा ढिलो नगर्न आग्रह गर्नुभयो।
उहाँले उत्तरतर्फ रहेको अमरज्योति माविलाई अन्यत्र स्थानान्तरण गरी सरकारले नै विद्यालय निर्माण गर्नुपर्ने, पीडितहरुलाई सरकारी दरभन्दा पनि चलनचल्तीको क्षतिपूर्ति दिएर धावनमार्ग विस्तार गर्न सुझाव दिनुभयो।यस कामको सुरुवात गर्न नगरपालिकालाई आग्रह गर्दै उहाँले अव विगतको कुरा नहेरी भविष्यतर्फ मोडिन ध्यानाकर्षण गराउनुभयो।
अमरज्योति माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष पूर्णप्रसाद पौडेलले प्रभावित बासिन्दाहरुलाई न्यायोचित क्षतिपूर्ति र विमानस्थल पायक पर्ने स्थलमा स्थानान्तरण गरी निर्माण गरिदिएमा धावनमार्ग विस्तार सम्भव भएको बताउनुभयो।
उहाँले पटक पटक धावनमार्ग विस्तार गर्ने भन्दै जनतालाई तनाव दिने काम भइरहेको टिप्पणी गर्नुभयो।अमरज्योति माविका प्रधानाध्यापक खगेन्द्र थापाले विद्यालय कहिल्यैपनि विमानस्थल विस्तारको बाधक नभएको बताउनुभयो। उहाँले उपयुक्त स्थानमा जग्गा र भवन बनाइदिएमा विमानस्थल विस्तार गर्न सकिने उल्लेख गर्नुभयो।
यस्तै वीरेन्द्रनगर नगरपालिकाका निवर्तमान प्रमुख देवकुमार सुवेदीले आफू विमास्थल धावनमार्गको सँधै पक्षमा रहेको बताउनुभयो।उहाँले आफू नगर प्रमुख हुँदा धावनमार्ग विस्तार नहुने देखिएपछि प्रभावितहरुको आग्रह अनुसार नगरपालिकाले विस्तारको फाइल क्लोज गर्नुपरेको प्रष्ट्याउनुभयो।
नेपाल उद्योग बाणिज्य महासंघ कर्णाली प्रदेश अध्यक्ष पदमबहादुर शाहीले विगतमा तीन तहका सरकारले विमानस्थल धावनमार्ग विस्तारको मुद्धालाई प्राथमिकतामा नपरेको बताउनुभयो।
सुर्खेत उद्योग बाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेलले प्रदेशको समृद्धि र विकासमा राजनीति इगो नराख्न आग्रह गर्नुभयो।यस्तै प्रदेशसभाका सदस्य जानकी सिहँले सुर्खेतको विमानस्थल संगै कर्णालीको विकासको लागी सबैं राजनितिक मिल्नुपर्नेमा जोडदिनुभयो।
पूर्वमन्त्री एवं कर्णाली प्रदेशसभा सदस्य यामलाल कँडेलले धावनमार्ग विस्तारलाई साझा बनाएर अगाडि बढिएको बताउनुभयो।उहाँले सुर्खेत विमानस्थललाई नाफाको विमानस्थल बनाउनका लागि सवैवीच एकता हुनुपर्ने औंल्याउनुभयो।
यस्तै प्रतिनिधिसभा सदस्य हृदयराम थानीले सुर्खेत विमानस्थलको धावनमार्ग विस्तारमा आफू विगतदेखि अहिलेसम्म पनि लागिरहेको बताउनुभयो।
उहाँले कर्णालीलार्इ हेर्न लायक बनाउने हो भने सबै भन्दा पहिले विमानस्थलको धामनमार्ग विस्तार गर्नुर आवश्यक रहेको उल्लेख गर्दै सवैलाई एकैठाउँमा आउन पनि उहाँले आव्हान गर्नुभयो। सासंद थानीले अरु विमानस्थल बनाउने कुरामा पनि सहमत हुन तयार रहेको उल्लेख गर्नुभयो।
प्रकाशित मिति: २४ पुष २०८०, मंगलवार १८:१२