सुर्खेत । पर्सी १२ गते अर्थात पर्सी (विहीबारदेखि सुर्खेतमा टाइफाइट विरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ । विहीबारदेखि २५ गतेसम्म खोप अभियान सुरु गर्न लागेको जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतले जनाएको छ ।
खोप अभियान दुई चरणमा (१२ देखि १५ गतेसम्म) लेकवेशी नगरपालिका, चिङ्गाड गाउँपालिका, चौकुने गाउँपालिका, पञ्चपुरी नगरपालिका र बराहताल गाउँपालिकामा सञ्चालन हुने छ । त्यस्तै दोस्रो चरणमा (२१ गते २५ गतेसम्म) वीरेन्द्रनगर नगरपालिका, भेरीगंगा नगरपालिका, गुर्भाकोट नगरपालिका र सिम्ता गाउँपालिकामा खोप अभियान सञ्चालन हुने जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख गणेशभक्त गौतमले जानकारी दिए ।
मंगलबार जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले टाइफाइड खोप अभियान सञ्चालन सम्बन्धि सञ्चारकर्मीसँग अन्तरक्रिया गर्दै यस्तो जानकारी दिएको हो ।
सुर्खेतका दुई लाख भन्दा बढी नागरिकलाई खोप लगाउने लक्ष्यसहित अभियान सुरु गर्न लागिएको हो । खोप १६ वर्ष उमेर समूहदेखि ४५ वर्षसम्मका नागरिकले लगाउने पाउने छन् । खोप अभियानका लागि सबै तयारी पूरा भइसकेको जनस्वास्थ्य कार्यालयले जनाएको छ । खोप अभियान सम्बन्धित वडाका स्वास्थ्य संस्थाहरुमा सञ्चालन हुने छ ।
सुर्खेत लगायत कर्णाली प्रदेशभर टाइफाइटको जोखिम कायमै छ । उच्च ज्वरो आउने, जाडो हुने, टाउको दुख्ने, पखाला लाग्ने, सुख्खा खोकी, पेट देख्ने, पखाला लाग्ने, भोक नलाग्ने र वाकवाकीका लक्ष्य देखिएमा टाइफाइडको सम्भावन हुन्छ ।
टाइफाइट बिरुद्धको खोप अभियान कर्णाली प्रदेशका जाजरकोट, रुकुमपश्चिम, सल्यान, दैलेख, कालिकोट र जुम्लामा पनि सञ्चालन भइरहेको छ ।
मंगलबार टाइफाइड खोप अभियान सञ्चालन सम्बन्धि सञ्चारकर्मीसँग अन्तरक्रिया सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख बृषबहादुर शाही, नेपाल पत्रकार महासंघ सुर्खेतका अध्यक्ष ललित बसेल, जिल्ला जनस्वास्थ्य कार्यालयमा कार्यरत उदय विसी, घनश्याम बुढा लगायतले खोप अभियानलाई प्रभावकारी बनाउनका लागि प्रचार प्रचार र सचेतनामूलक कार्यक्रमलाई सँगसँगै लैजानुपर्ने बताएका थिए ।
प्रकाशित मिति: १० पुष २०८०, मंगलवार १०:३३