कर्णाली प्रदेशका सात जिल्लामा टाइफाइडविरुद्धको खोप अभियान संचालन हुन लागेको छ। भूकम्प प्रभावित जिल्ला जाजरकोट र रुकुमपश्चिममा टाइफाइडका साथै दादुरा र रुबेला विरुद्धको खोप पनि संचालन हुनेछ।
सुर्खेतमा पुस १२ गतेदेखि पुस २५ गतेसम्म स्थानीय तह अनुसार विभिन्न चरणमा खोप अभियान संचालन हुनेछ।
प्रदेश स्वास्थ्य सेवा निर्देशनालले सुर्खेतसहित जुम्ला, कालीकोट, दैलेख र सल्यानमा टाइफाइडविरुद्धको खोप संचालन हुनेछ भने भूकम्प प्रभावित जिल्लामा जाजरकोट र रुकुम पश्चिममा दादुरा र रुवेलाविरुद्धको खोप पनि संचालन हुने जनाएको छ।निर्देशनालयका खोप फोकलपर्सन नवराज कँडेलले खोप अभियान प्रक्रिया सुरु भइसकेको जानकारी दिनुभयो।
यस्तै जाजरकोटमा यही पुस ४ गतेदेखि १४ गतेसम्म, रुकुम पश्चिममा यही पुस ५ गतेदेखि पुस १४ गतेसम्म, दैलेखमा पुस ६ गतेदेखि २० गतेसम्म, जुम्लामा पुस ८ गतेदेखि १४ गतेसम्म, सल्यानमा पुस ९ गतेदेखि २७ गतेसम्म, कालीकोटमा पुस १२ गतेदेखि १८ गतेसम्म खोप अभियान सञ्चालन हुनेभएको छ।
जाजरकोट र रुकुम पश्चिममा गत कात्तिक १७ गते भूकम्प गएपछि ती जिल्लामा श्वासप्रश्वासका माध्यमबाट, दुषित पानी र खानेपानीबाट रोग फैलन सक्ने जोखिमका साथै ती जिल्लासँग सीमाना जोडिएका अन्य जिल्ला पनि प्रभावित हुने भएकोले खोप अभियान संचालन हुन लागेको हो।टाइफाइडविरुद्धको खोप १५ वर्षदेखि ४५ वर्ष उमेर समूहकालाई दिइनेछभने दादुरा तथा रुबेला विरुद्धको खोप ६ महिनादेखि १५ वर्ष मुनिका बालबालिकालाई दिइनेछ।
खोप फोकलपर्सन कँडेलले सुर्खेतमा टाइफाइड विरुद्धको खोप यही पुस १२ गतेदेखि १५ गतेसम्म पहिला चरणमा र पुस २१ गतेदेखि २५ गतेसम्म दोस्रो चरणमा दिइने जानकारी दिनुभयो।
अन्य जिल्लाहरुमा पनि यही अनुसारको खोप तालिका मिलाइएको उहाँको भनाइ छ।यस्तै जिल्ला जनस्वास्थ्य सेवा कार्यालयका प्रमुख गणेशभक्त गौतमले नौ वटा स्थानीय तह रहेको सुर्खेतमा पहिलो चरणमा पंचपुरी, लेकबेसी नगरपालिका तथा बराहताल, चिंगाड र चौकुने गाउँपालिकाका लक्षित समूहलाई खोप लगाइने बताउनुभयो।
दोस्रो चरणमा वीरेन्द्रनगर, भेरीगंगा र गुर्भाकोट नगरपालिका तथा सिम्ता गाउँपालिकामा खोप लगाइनेछ।यस्तै प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार टाइफाइडविरुद्धको खोप गर्भवतीले लगानी नमिल्ने जनाएको छ।
यस्तै ६ महिनासम्मका पूर्ण स्तनपायी आमा, एडस् भएको अवस्था, उच्च ज्वरो आएका तथा सिकिस्त विरामी परेका, गम्भीर खालको एलर्जी भएकाले यो खोप लगाउन नमिल्ने निर्देशनालयका प्रदेश खोप फोकल पर्सन नवराज कँडेलले बताउनुभयो।टाइफाइडविरुद्धको खोप लगाएपछि सामान्य असर देखिने गर्दछ।जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका खोप फोकलपर्सन घनबहादुर बुढाले सुर्खेतका लागि पर्याप्त खोप आउने बताउनुभयो।
सुर्खेतमा खोप लगाउने १५ देखि ४५ वर्ष उमेरका दुई लाख एक हजार नौ सय लक्षित समूह भएकोले खोपको सुनिश्चितता भएको उहाँले बताउनुभयो।विद्यालयका साथै वडाहरुमा भएका आधारभूत स्वास्थ्य केन्द्रलाई नै खोप केन्द्र तोकिनेछ ।
प्रकाशित मिति: ५ पुष २०८०, बिहीबार १६:५१