यस वर्षको वर्षायाममा १५ अर्ब २४ करोड रुपैयाँको विद्युत् भारततर्फ निर्यात गरिएको छ।नेपाल विद्युत प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् विद्युत् यस वर्ष गत २८ जेठबाट भारतीय बजारमा बिक्री सुरु गरेको थियो।
प्राधिकरणले यस वर्षको जेठदेखि २० मंसिरसम्ममा एक अर्ब ७३ करोड ७१ लाख युनिट विद्युत् निर्यात गरी १५ अर्ब २३ करोड ८० लाख रुपैयाँ आर्जन गरेको हो।
प्राधिकरणले यसअवधिमा दैनिक रुपमा अधिकतम ७ सय मेगावाटसम्म विद्युत् निर्यात गरेको थियो।निर्यात गरिएको विद्युत्को औसत बिक्रीदर प्रतियुनिट ८ रुपैयाँ ७७ पैसा छ।
चालु आव ०८०/८१ को साउनदेखि २० मंसिरसम्ममा १३ अर्ब २३ करोड ६७ लाख रुपैयाँको विद्युत् निर्यात गरिएको छ।
यसअवधिमा एक अर्ब ४७ करोड ६७ लाख युनिट विद्युत् निर्यात भएको छ । निर्यात गरिएको विद्युत्को औसत बिक्रीदर प्रतियुनिट ८ रुपैयाँ ९६ पैसा छ।
सुक्खायाम सुरु भएसँग खोला तथा नदीहरुमा पानीको बहाव घटेर देशभित्रका जलविद्युत् गृहहरुबाट उत्पादन घट्न सुरु भएको छ।तर जाडोसँगै आन्तरिक माग बढेपछि त्यसलाई पूर्ति गर्न भारतीय बजारबाट विद्युत् आयात सुरु भएको छ।
आज रातिबाट विद्युत् निर्यात बन्द हुनेछ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अहिले दैनिक रुपमा विद्युत्को अधिकतम माग १७ सय मेगावाटको हाराहारीमा रहेको र त्यसलाई पूर्ति गर्न आन्तरिक उत्पादनले मात्र नधान्ने हुँदा थोरै परिमाणमा विद्युत् आयात सुरु गरिएको बताउनुभयो।
‘प्राधिकरणले जेठमा २१ करोड ६० लाख, असारमा एक अर्ब ७८ करोड ५३ लाख, साउनमा दुई अर्ब १४ करोड ७६ लाख र भदौमा तीन अर्ब ४७ करोड ८५ लाख रुपैयाँको विद्युत् निर्यात गरेको छ।
यसैगरी, असोजमा चार अर्ब १७ करोड ७७ लाख, कात्तिकमा दुई अर्ब ६९ करोड ७० लाख र २० मंसिरसम्ममा ७३ करोड ५९ लाख रुपैयाँ विद्युत् निर्यात गरी आर्जन भएको छ।
प्रकाशित मिति: २२ मंसिर २०८०, शुक्रबार १६:२३