रुकुम पश्चिमको चौरजहारी नगरपालिका-८ सोती गाउँमा अन्तरजातीय प्रेमसम्बन्धको विषयलाई लिएर नवराज विकसहित ६ जनाको हत्यामा संलग्न रहेका २४ जनालाई जिल्ला अदालत रुकुम पश्चिमले जन्मकैदको सजाय सुनाएको छ।
साढे तीन वर्षअघि भएको घटनासँग सम्बन्धित कर्तव्य ज्यान र जातीय छुवाछूतको मुद्दामाथि रुकुम पश्चिम जिल्ला अदालतका न्यायाधीश खड्गबहादुर केसीको इजलासले जन्मकैदको सजाय सुनाएको हो।
आइतबारदेखि मुद्दामा अन्तिम सुनुवाइ सुरु भएकोमा मंगलबार अन्तिम आदेश आएको हो।२४ जनालाई जातीय छुवाछुतको कसुरमा थप दुई वर्ष कैद र ५० हजार जरिवानाको पनि फैसला भएको छ।घटनामा संलग्न रहेका २३ पूर्पक्षका लागि कारागारमा थिए।
बाहिर रहेका ११ जना मध्ये एक जनालाई जन्मकैद, दुई वर्ष कैद ५० हजार जरिवाना हुने छ।अन्य २ जनालाई जातीय छुवाछुतको कसुरमा २ वर्ष कैद र ५० हजार जरिवाना सुनाइएको छ।दोषीहरुबाट जनही ४० हजार रुपैया भराउने र रकम मृतकका परिवारलाई दामासाहीले दिने पनि फैसलामा छ।
घटनामा संलग्नताको आरोप लागेका ८ जनाले भने सफाइ पाएका छन् ।२०७७ जेठ १० मा जाजरकोटको भेरी नगरपालिका-४ रानागाउँका २१ वर्षीय नवराज विक आफ्ना साथीहरू लिएर मल्ल थरकी प्रेमिकालाई भगाएर बिहे गर्न सोतीगाउँ पुगेका थिए। त्यहीबेला उनीहरूमाथि सोती गाउँका स्थानीयले योजनाबद्ध आक्रमण गर्दा नवराजसहित ६ जनाको ज्यान गएको थियो भने अरू १२ जना घाइते भएका थिए।
उनीहरूको शव दुई सातासम्मको खोजीपछि भेरी नदी किनारबाट संकलन गरिएको थियो। घटनामा नवराजसहित उनका साथीहरू सन्दीप विश्वकर्मा, टीकाराम सुनार, गणेश बुढा, लोकेन्द्र सुनार र गोविन्द शाहीको ज्यान गएको थियो।
नवराजका बुबा मुनलाल नेपालीको जाहेरीका आधारमा घटनामा चौरजहारी-८ का तत्कालीन वडाध्यक्ष डम्बरबहादुर मल्लसहित ३४ जनाविरुद्ध मुद्दा चलेको थियो। उनीहरूमध्ये १ जना किशोरीकी आमा धरौटीमा र अन्य १० जना सामान्य तारिखमा छुटेका थिए भने २३ जना पुर्पक्षका लागि कारागार चलान भएका थिए।
६ जनाको हत्या गरी भेरी नदीमा फालेको अभियोगमा जिल्ला अदालतमा २०७७ जेठ ३२ मा मुद्दा दायर गरिएको थियो।३३ जनालाई कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, जातीय भेदभाव र छुवाछूत कसुरको अभियोग छ भने एक जनालाई मतियारको अभियोग लागेको थियो।
प्रकाशित मिति: २० मंसिर २०८०, बुधबार ०७:०६