कर्णाली प्रदेशको सुर्खेतमा राष्ट्रिय भलिबल प्रतियोगिता आयोजना हुने भएको छ।
नेपाल भलिबल संघको आयोजना र कर्णाली प्रदेश भलिबल संघको व्यवस्थापनामा साढे दुई दशकपछि कर्णालीमा राष्ट्रिय भलिबल प्रतियोगिता हुन लागेको हो।
नेपाल भलिबल संघले ३४ औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता आगामी पुस २० देखि २५ गतेसम्म सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गर्ने जनाएको छ।
२०५५ मा नेपालगञ्जमा चौथो राष्ट्रिय खेलकुद हुँदा भलिबलको प्रतियोगिता भने सुर्खेतमा खेलाइएको थियो।
तर, २५ बर्ष यता भलिबलको प्रतियोगिता हुन सकेको थिएन।
भलिबलका राष्ट्रिय स्तरका प्रतियोगितालाई विकेन्द्रित गर्ने उद्देश्यअनुरूप कर्णालीमा संघले यो आयोजना गर्न लागेको हो।
प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोली त्रिभुवन आर्मी, नेपाल पुलिस र सशस्त्र प्रहरी बलको एपिएफ क्लव गरी १० टोलीले प्रतिष्पर्धा गर्नेछन्।
संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले प्रतियोगिता व्यवस्थापनका लागि कर्णाली प्रदेश भलिबल संघका उपाध्यक्ष ईश्वरबहादुर शाहीलाई सम्झौतापत्र हस्तान्तरण गर्नुभएको छ।
उपाध्यक्ष शाहीले लामो समयपछि कर्णाली प्रदेशमा भलिबलको प्रतियोगिता हुन लागेको खुसी व्यक्त गर्दै कर्णाली प्रदेश सरकारले यो आयोजनाका लागि ४४ लाख ५ सय ६० रुपैयाँ विनियोजन गरेको बताउनुभयो।
नेपाल भलिबल संघले भने प्रतियोगिताक लागि दुई लाख रुपैयाँ र पाँच वटा भलिबल उपलब्ध गराउने जनाएको छ।
प्रतियोगिताको विजेताले एक लाख, दोस्रोले ५० हजार र तेस्रो हुने टोलीले २५ हजार रुपैयाँ पाउने भएका छन।
सर्वोत्कृष्ट खेलाडीलाई १० हजार रुपैयाँ प्रदान गरिने भएको छ।
विधागत उत्कृष्टले भने समान पाँच हजार पाउनेछन्।
प्रकाशित मिति: २४ कार्तिक २०८०, शुक्रबार १६:५८