प्रदेश अस्पताल सुर्खेतले जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भई गएको भूकम्पमा परी घाइते भएकाहरुको अवस्था सुधारोन्मुख रहेको जनाएको छ।
अस्पतालले आज पत्रकार सम्मेलनको आयोजना गरी घाइतेहरुको स्वास्थ्य अवस्था र उद्धार तथा उपचार व्यवस्थापनमा अस्पतालले गरेका कामबारे जानकारी दिएको हो। प्रदेश अस्पतालमा भूकम्पबाट घाइते बनेका ४५ जनाको उपचार भएको छ।
अस्पतालले उपचारपछि २४ जनालाई डिस्चार्ज गरिएको, १ जना न्यूरो आइसियू भेन्टिलेटरमा, १ आइसियूमा र १९ जनाको वार्डमा उपचार भइरहेको अस्पतालले जनाएको छ।
स्पतालमा जाजरकोटका भेरी, बारेकोट र नलगाड, कुशे, जुनीजाँदे, छेडागाड र रुकुम पश्चिमका चौरजहारी, सानीभेरी, आठबिसकोट र दैलेखको गुराँस गाउँपालिकाका घाइतेहरु उपचार गरिएको छ।
तीमध्ये १७ जना पुरुष र १८ जना महिला रहेका छन्।
अस्पतालमा ५ वर्ष मूनीका ६ जना बालबालिकाको उपचार भइरहेको भने ५ जनाको शल्यक्रिया गरिएको छ।
अस्पतालका निर्देशक खड्काले घाइतेहरुको उपचार तथा व्यवस्थापन गर्न अस्पतालका विपद् व्यवस्थापन समिति सक्रिय भई उपचार टोली चौबिसै घण्टा खटिएको बताउनुभयो। अस्पतालले भूकम्प प्रभावित क्षेत्रमा कन्सल्टेन्ट अर्थोपेडिक सर्जन डा रबिन केसी, डा सुलभ श्रेष्ठ, हेल्थ असिस्टेन्ट विकास बुढाथोकी, विकास रोकाया र फार्मेसी सुपरभाइजर सुरज लुहारलाई जाजरकोट खटाएको थियो।
सुर्खेत विमानस्थल ल्याइएका घाइतेहरुलाई अस्पतालका तीनवटा एम्बुलेन्समार्फत अस्पताल ल्याउने व्यवस्था मिलाइएको थियो।
प्रकाशित मिति: २३ कार्तिक २०८०, बिहीबार १६:२७