भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा ७ हजार परिवार विस्थापित भएका छन्।
भूकम्पका कारण जाजरकोटमा ९०५ घर र रुकुम पश्चिममा दुई हजार १३६ घरमा पूर्ण क्षति भएको सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरुले जनाएका छन्।
भूकम्पमा परी १५३ जनाको मृत्यु भएको छ।
जाजरकोटमा १ सय १ जना र रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको हो।
यसअघि जाजरकोटमा १ सय ५ जनाको मृत्यु भएको तथ्यांक सार्वजनिक गरिएकामा जिल्ला प्रशासन कार्यालयले चार जनाको नाम दोहोरिएको जनाएको छ।
भूकम्पका घाइतेमध्ये ३९ जनाको नेपालगन्जस्थित भेरी अस्पताल, २ जनाको कोहलपुर अस्पतालमा उपचार भइरहेको छ।
त्यस्तै २७ जनाको प्रदेश अस्पताल सुर्खेत, १६ जनाको सम्बन्धित जिल्लाका स्वास्थ्य संस्था र ८ जनाको काठमाडौंमा उपचार भइरहेको छ।
भूकम्पमा घाइते भएकामध्ये २४३ जना उपचारपछि घर फर्किइसकेका छन्
गृह मन्त्रालयका अनुसार भूकम्पबाट जाजरकोट, रुकुम पश्चिम, रुकुम पूर्व, सल्यान, रोल्पा, नवलपरासी पूर्व, दैलेख, दाङ, बैतडी, जुम्ला र प्युठान प्रभावित भएका छन्।
प्रकाशित मिति: २० कार्तिक २०८०, सोमबार १६:२०