बर्दिया राष्ट्रिय निकुञ्ज भित्र पर्ने भुरीगाँउ, तेलपानीढाँडबास वनपथको शिलान्यस गरिएको छ।निकुञ्जको टोलीलाइ गस्ती गर्नसंगै सुर्खेतको तेलपानी क्षेत्रका स्थानीयबासीन्दालाई आउजाउमा सहज हुने अपेक्षासहित शिलान्यास गरिएको हो।
बर्दिया ठाकुरबाबा नगरपालिका २ आम्बासा चेक पोष्टमा आज वन तथा वातावरण मन्त्री डाक्टर विरेन्द्र प्रसाद महतोले शिलान्यास गर्दै वन वन्यजन्तु र प्रकृतिको संरक्षण गर्नका लागि निकुञ्ज तथा निकुञ्ज सुरक्षार्थ खटिएका सेनाका लागि वनपथ आवश्यक रहेको र सुर्खेतको तेलपानी क्षेत्रका बासीन्दालाई आउजाउ गर्न सहजताका लागि पनि वनपथ खुलाईएको बताउनुभयो।
मन्त्री डाक्टर महतोले भुरीगाउँ तेलपानी र ढाडबास वनपथले यस क्षेत्रका जनताको आशा, अपेक्षालाई तीन महिना भित्र सुरु गरि देखाएर पुरा गर्ने बताउनुभयो।
उहाँले बर्दियाको भुरीगाउँ हुँदै सुर्खेतको तेलपानीसम्म वनपथ निर्माण भैसकेपछि ठाकुरबाबा नगरपालिका मात्र नभइ लुम्बिनी प्रदेशकै विकास र समृद्धि हुने बताउनुभयो।
यस्तै कर्णाली प्रदेशको सुर्खेत जिल्लाबाट निर्वाचित प्रतिनिधी सभा सदस्य हृदयराम थानीले कुन निति नियम कानुनबाट हुन्छ, तेलपानी ढाडबाँससम्म वनपथ खुल्ला गर्न तत्काल अलि धेरै बजेट छुट्टयाउन आग्रह गर्दै यस सडकमाथि कसैले पनि राजनितिकरण नगर्नु हुन आग्रहसमेत गर्नुभयो।उहाँले तीन महिना भित्र वन पथ खुलाएर तेलपानी ढाडबाँससम्म डाँडामा गाडि लिएर पुग्ने वावातरण बनाईदिनुस, तेलपानीको डाँडामा सुर्खेतका जनताले फुलमालाले स्वागत गर्नेछन् मन्त्रिसमक्ष आग्रह गर्दै भन्नुभयो।
ठाकुरबाबा नगरपालिकाका मेयर तिलकराम लम्सालले भुरीगाउँ तेलपानी हुँदै सुर्खेत जोड्ने यस सडकलाई पूर्णता दिनका प्रयत्न गर्नुभएकोमा वन मन्त्री प्रती धन्यवाद व्यक्त गर्दै उहाँले लुम्बिनी प्रदेशको बर्दियाका जनता र कर्णाली प्रदेशमा पर्ने सुर्खेतका जनताको मात्रै समस्या समाधान नभएर बर्दिया राष्ट्रिय निकुञ्जको नियमित काम हो, सुरक्षा पोष्ट बढाउने वन वन्यजन्तुको रेखदेखमा सहयोग पुर्याउनका लागि निरन्तर कार्यक्रम रहेकाले वनपथ निर्माण गर्न लागिएको बताउनुभयो।
कर्णालीका नागरिकले ५५ वर्ष देखि सडक प्रयोग गर्दै
कर्णालीका नागरिकले विगत २०२५ साल झण्डै ५५ वर्ष अघिदेखि नुनदेखि लत्ता कपडा लिन आउने, औषधी उपचार गर्न आउँदा पहिले पनि अहिले पनि ढोकोमा बोकेर ल्याईने सबैभन्दा छोटो प्रमुख मार्ग थियो, स्थानीय बासीन्दा होस् वा भित्र रहेका पोष्टका सेना हुन् अहिले पनि बिरामी पर्दा डोकोमा बोर ल्याईन्छ मेयर लम्सालले भन्नुभयो।
भुरीगाउँ तेलपानी हुँदै सुर्खेत जोड्ने यो बाटो विगत केहि बर्ष अगाडि प्रयत्न गरेर ६ किलोमिटर ट्रयाक खोलिएको र अब तेलपानी नजिक ढाडबाँसदेखि एक हजार नौ सय ७७ मिटर अर्थात झण्डै २ किलोमिटर मात्रै ट्रयाक खोल्न बाँकि रहेकाले सबैको साथ सहयोगले काम अघि बढाउनुपर्ने उहाँले बताउनुभयो ।
कूल ५२ किलोमिटरमध्ये सुर्खेततर्फ ३२ किलोमिटर पर्दछ । त्यसतर्फको २४ किलोमिटर सडक निर्माण भइसकेको छ । सडकको जम्मा १२ किलोमिटर बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्छ । अहिले वनपथ निर्माण भएमा सडक निर्माणमा सहज हुने अपेक्षा रहेको स्थानीयले जनाएका छन् । वन तथा वातावरण मन्त्रालयबाट वन तथा वातावरण मन्त्रिसहितको उपस्थितीमा आज वनपथको शिलान्यास भएपछि सुर्खेतको तेलपानी र बर्दियाको ठाकुरबाबा आसपासका स्थानीबासीन्दाहरु खुसी भएका छन् ।
भुरिगाउँदेखि तेलपानीसम्म २० किलोमिटर र कर्णाली प्रदेशसम्म बर्दियालाई जोड्ने सडकको लम्बाइ ५२ किलोमिटर रहेको छ । सुर्खेतबाट कोहलपुर हुँदै बर्दिया पुग्न करिब १ सय ३५ किलोमिटर घुम्नुपर्ने बाध्यता छ । संघीय र प्रदेश सरकारले कर्णालीलाई दक्षिणतर्फ जोड्ने रणनीतिक मार्गका रुपमा लिदैं आएका छन् । विगतमा यस सडक निर्माणका लागि दलहरुको चुनावी नारा पनि बन्ने गरेको थियो ।
प्रकाशित मिति: १७ कार्तिक २०८०, शुक्रबार २१:३१