सुर्खेत उधोग वाणिज्य संघले प्रधानमन्त्रीलाई १८ बुँदे मागपत्र पेश गरेको छ।कर्णालीको निजी क्षेत्रले चिनसँग जोडिएका नाकाहरु खोल्नका लागि पहल गरिदिन प्रधानमन्त्री पुष्पकमल दाहल ‘प्रचण्ड’ समक्ष माग गरेको छ।
निजी क्षेत्रले चीनसंग जोडिएका कर्णालीका मुगुको नाक्चे नांग्ला, हुम्लाको हिल्सा र डोल्पाको मुरिम्ला नाका खोल्न गम्भिर पहल थाल्नका लागि आग्रह गरेको छ।
सुर्खेत आएको अवसरमा सुर्खेत उद्योग वाणिज्य संघले विभिन्न १८ बुँदे मागपत्र प्रधानमन्त्री प्रचण्डलाई बुझाएको छ।
मागपत्रमा लामो समयदेखि रोकिएर रहेका चौकुने र लखरपाटामा सिमेन्ट कारखाना स्थापनाका लागि सडक, विद्युत आदि लगायतका सम्पूर्ण आवश्यक पूर्वाधार एवं संरचना बनाउनुपर्ने, सुर्खेतको साटाखानीमा प्रस्तावित एक हजार विगाहा क्षेत्रफलमा औद्योगिक क्षेत्र स्थापनाका लागि यथाशीघ्र कार्यारम्भ गर्नुका साथै यस प्रदेशअन्तर्गतका प्रत्येक जिल्लामा औद्योगिक ग्राम स्थापना गर्नुपर्ने उल्लेख गरिएको छ।
यस्तै सुर्खेतमा प्रादेशिकस्तरको प्रदर्शनीस्थल निर्माण गर्नुपर्ने माग निजी क्षेत्रको छ।
सुर्खेत विमानस्थलको धावनमार्ग विस्तारका लागि आवश्यक बजेट विनियोजन गर्न, जडिबुटी संकलन तथा प्रशोधन केन्द्र सञ्चालनमा ल्याउनका लागि आवश्यक मशीन, औजार उपकरणका लागि आवश्यक बजेटको माग गर्नुका साथै माथिल्लो कर्णाली जलविद्युत आयोजनाका साथै नलगाडलगायतका अन्य जलविद्युत आयोजना सञ्चालनका लागि सरकारका तर्फबाट गर्नुपर्ने आवश्यक नीतिगत, भौतिक पूर्वाधार निर्माणको कार्य तत्काल सुरु गर्नुपर्ने पनि उक्त मागपत्रमा उल्लेख छ।
यस्ता छन् अन्य मागहरु
— विगतमा अन्वेषण प्रारम्भ गरिएको दैलेखको पञ्चकोशीमा पेट्रोलियम पदार्थ उत्खनन् प्रक्रिया तीव्र गतिमा अगाडि बढाउनुपर्ने ।
—सुर्खेतलाई विद्युतको १३२ केभीए राष्ट्रिय प्रशारण लाइनमा जोड्ने उद्देश्यले शुरू गरिएको हाइटेन्शन लाइन विस्तारका क्रममा देखिएका अवरोध हटाई निर्धारित अवधिमै काम सम्पन्न गर्न प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने ।
—कर्णालीमा अर्गानिक कृषिको प्रवर्द्धन तथा व्यवसायिकीकरणका लागि अर्गानिक कृषि अनुसन्धान केन्द्र तथा अन्य आवश्यक पूर्वाधार एवं नीतिगत तयारी गर्न पहल गरिनुपर्ने ।
—जाजरकोट र कालिकोटमा पाइने बहुमूल्य रत्नपत्थर उद्योग स्थापना गर्नुपर्ने । सुर्खेतमा प्रस्तावित प्रदेशस्तरीय मेडिकल कलेज स्थापनाका लागि तत्काल ठोस काम शुरू गर्नुपर्ने
—कम्पनी रजिष्ट्रारको प्रादेशिक कार्यालय राजधानीमा स्थापना गरी सेवा आरम्भ गर्नुपर्ने । नेपाल राष्ट्र बैंकको सुर्खेत कार्यालयलाई पूर्वाधार तथा अधिकारसम्पन्न गराई क्षेत्राधिकार अनुसार सेवा प्रवाह योग्य बनाउनुपर्ने ।
— कर्णालीमा आयोजना हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित समयमै आयोजना गर्नका
लागि पर्याप्त बजेटलगायतको व्यवस्थापन गर्नुपर्ने ।
— पछिल्लो समय देखिएको आर्थिक संकटको अन्त्यका लागि बजारमैत्री नीति अवलम्बन गर्नुपर्ने ।
—एक प्रदेश एक शीत भण्डारण स्थापना गर्नुपर्ने ।
प्रकाशित मिति: ४ भाद्र २०८०, सोमबार १५:५१