सिर्जना बुढाथोकी,वीरेन्द्रनगर, सुर्खेत ।वि.स २०७४ सालमा श्रीमानको मृत्यु भएपछि सुर्खेतको दमारेकी अनिता मगर अहिले वीरेन्द्रनगर–९ मा रहेका प्रशान्ति बृद्धा आश्रममा बस्दै आएकी छिन् । ३ वटा छोराछोरी जन्मिएर पनि खेर गएप्छि सन्तानविहिन भएकी अनिताको श्रीमानको मृत्युपछि हेरविचार गरिदिने आफन्त कोहि भएनन् । उनलाई आश्रमले आश्रय दिइरहेको छ ।
पश्चिम सुर्खेतकी कौशिला वपन बृद्धाआश्रम बस्न थालेको १५ वर्ष पुग्यो । वर्षेनी आउने चाडपर्वले उनलाई रमाईलो भन्दा पनि बढि निराश बनाउने गर्छन् । आफन्त भएर पनि कोहि नभएजस्तो छ उनको जीवन । कुनैबेला छोराछोरी हुर्काउन निकै दुःख गरेकी कौशिलालाई नरोउ भन्ने परिवार छैनन् । उनीहरुसंगै २८ जना वृद्धवृद्धाहरु सन्तान नभएकाकारण प्रशान्ति बृद्धा आश्रममा आश्रय लिदै आएका छन् ।
आश्रममा आफुहरुलाई बस्नका लागि निकै सहज भएको वीरेन्द्रनगर–८ की खगीसरा अधिकारीले बताइन् । छोराछोरी आफन्तले नहेरेपछि आफ्नो घरनै आश्रम र यहाँ बस्ने सबै वृद्धवृद्धा आफ्ना परिवार सरह भएको उनको भनाई छ । ‘हामीले सभामुखका रुपमा महिला पाएका छौ,त्यसैले आश्रमका लागी सरकारले केहि गर्छ भन्ने आशा पलाएको छ’, उनले भनिन्,‘हाम्रो आश्रममा भएका थोरधेर केहि समस्या समाधानमा हजुरले सहयोग गर्नुहुन्छ भन्ने आशा छ ।’
वीरेन्द्रनगरको प्रशान्ति बृद्धा आश्रममा आइतबार कर्णाली फाउण्डेन नेपालको आयोजना र संसद सहयोग परियोजना (युएनडिपी)को सहकार्यमा भएको जेष्ठ नागरिकसँग सभामुख कार्यक्रममा बोल्दै जेष्ठ नागरिकहरुले यस्तो बताएका हुन् ।
जेष्ठ नागरिक थानेश्वर सुवेदीलेआश्रममा कहिलेकहि हुने विशेष कार्यक्रम बाहेक अघिपछि खाना खाजाका लागी समस्या हुने भएकाले सरकारले आश्रमहरुलाई विशेष महत्वका साथ हेरिदिन आग्रह गरे । उनले मासिक रुपमा सरकारले रेखदेख गर्दे, प्राथमिक उपचारको व्यवस्था गर्न आग्रह गरे । वीरेन्द्रनगरमा रहेका वृद्धा आश्रमहरु कतिका जग्गा नभएको, कतिका भवन जिर्ण हुदै गएको, रेखदेख गर्ने सहयोगीलाई तलब दिन नसक्ने, खाना खाजा व्यवस्थापनमा समस्या भएको आश्रम संचालन गर्दै आएका जेष्ठ नागरिकहरुले बताएका छन् ।
जेष्ठ नागरिक जिल्ला संघका अध्यक्ष लक्ष्मी खड्काले केहि रकम सरकारले व्यवस्था गरेपनि आवश्यकता धेरै हुदाँ संस्था कसरी चलाउनने भन्ने समस्या भएको बताईन् । उनलेभौतिक, आर्थिक, मानसिक, सामाजिक रुपमा समस्यामै धेरै समस्या भएको बताईन ।‘दोस्रो पुस्तालाई जेष्ठ नागरिकलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन सिकाउन आवश्यक छ’, उनले भनिन्,‘ दोस्रो पुस्ता लक्षित कार्यक्रम गर्न आवश्यक छ । गोष्ठी, सेमिनार गरेर मात्रै जेष्ठ नागरिकलाई केहि हुदैन् ।’
सम्पन्न छोराछोरीले आफ्ना जेष्ठ नागरिकको जिम्मा आफै लिने र असहाय, अपागंता भएका जेष्ठ नागरिकका लागी सरकारले व्यवस्था गर्नुपर्ने उनीहरुले सभामुख समक्ष बताएका हुन् ।
बरिष्ठ अधिवक्ता धुब्र श्रेष्ठलेनागरिक समाजले नागरिक तहबाट केहि गरौ भनेर आफु लगाएतकाले वडा तहबाट लागी रहेको बताए । उनले कानुन जति बनेनी कार्यान्वयन हुने वकिलबाटनै भएकाले यसमा आफुहरुले सहयोग गरिरहेको बताए ।‘जेष्ठ नागरिकले समस्या परेको खण्डमा कसरी मुद्धा लडिरहेका छन् र हामीले के सहयोग गर्न सक्छौ भनेर हामी अधिवत्ताले सोच्ने हो’, उनले भने,‘हामी सबैले आफ्नो आफ्नो क्षेत्रबाट सानो सानो सहयोग गर्दा उहाँहरुका समस्या रहदैनन् ।’
अधिकारकर्मी शितल सिंह राठौरले ऐन कानुन जति बनेपनि बन्नकालागी मात्रै बनेको बताउदै आवश्यक नागरिकले उपयोग गर्न नपाएको गुनासो गरिन् । ‘कस्ता कस्ता कानुन बनेका छन् तर के काम?जेष्ठ नागरिक केन्द्रित योजना बनाउन पर्छ’, उनले भनिन्, ‘यो भन्दा अगाडी जेष्ठ नागरिकका लागी के कस्ता योजना भए र आगामी दिनमा के गर्ने सभामुख ज्युले सोच्दिनु हुन्छ भन्ने आशा छ ।’
कर्णाली प्रदेश सभाका सभामुख नन्दा गुरुङ्गले बृद्धा अवस्था भनेको विश्राम गर्ने, सन्ध्या कालिन अवस्था भएकाले घरपरिवार र समाजले भरपुर माया गर्नुपर्ने बताइन् । उनले जेष्ठ नागरिकलाई दास्रो दर्जाको होइन अभिभावकको रुपमा हेर्नुपर्नेमा जोड् दिइन् । ‘सरकारले दिने वृद्धभत्ता थोरै भएपनि यसले गर्छ’, उनले भनिन्,‘धनि वर्गलाई फरक नपरे पनि गरिब अवस्थाका नागरिककालागी निकै सहयोग मिल्छ ।’ सरकारले जेष्ठ नागरिकका लागी निशुल्क स्वास्थ्य सेवा दिइरहेको र यातायातमा पनि सुविधा दिएको जानकारी दिदै आगामी दिनमा आफ्नो तर्फबाट सहयोगमा कमि नहुने सभामुख गुरुङ्गले आश्वासन दिइन् ।
वीरेन्द्रनगर–९ मा रहेको प्रशान्ति वृद्धा आश्रमका लागी अहिले विशेष गरि एम्बुलेन्सको आवश्यकता रहेको सन्चालक समितिले बताएको छ । जेष्ठ नागरिकहरु रात विरात विरामी पर्ने हुदा तुरुन्तै अस्पताल पुराउन समस्या हुने गरेको आश्रम सन्चालक समितिले बताएको हो ।
प्रकाशित मिति: २९ श्रावण २०८०, सोमबार ११:५२