स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने उदेश्यका साथ सुर्खेतको वीरेन्द्रनगरमा कृषि हाट बजार संचालनमा आएको छ।कृषकहरुले उत्पादन गरेको कृषि उपज विक्रि वितरण गर्न सक्नेगरी वीरेन्द्रनगर १० मा कृषिहाट बजार संचालनमा ल्याएको आएको हो।आज एक कार्यक्रमको आयोजनाकाबीच नगर प्रमुख मोहनमायाँ ढकालले कृषि हाट बजारको उद्घाटन गर्नुभएको हो।
नगर प्रमुख ढकालले लामो प्रयासपछि आफुहरुले हाटबजार संचालनमा ल्याउन सकेको भन्दै यसले बजार व्यवस्थापनसँगै कृषकलाई सम्मान पुग्ने विश्वास व्यक्त गर्नुभयो।कृषि प्रधान देशका नागरिक रहेको भन्दै कृषि उत्पादनमा जोडिएर आत्म निर्भर हुन आवश्यक रहेको औल्याउनुभयो।
उहाँले भन्नुभयो, “यो हाटबजारले कृषकहरुलाई आफ्ना उत्पादन आफै बेच्न सहज भएको छ, हामी कृषि प्रधान देशका नागरिक भएको हुँदा कृषि उत्पादनलाई जोड दिनुपर्छ अनि मात्रै आत्म निर्भर हुन सक्छौँ।”
उहाँले वडा नम्बर १ र २ लाई समेटेर समेत यस्तै कृषि हाटबजार संचालनमा ल्याउने योजना नगरपालिकाको रहेको उहाको भनाई छ।नगरपालिकाले कृषि क्षेत्रबाट आत्मनिर्भर स्वरोजगार बनाउने नीति लिएको बताउनुभयो।
यस्तै कार्यक्रममा नगरपालिका उपप्रमुख निलकण्ठ खनालले पनि अहिले मानिसहरु किनेर खाने आफुहरुले उत्पादन नगर्ने प्रवित्तिमा रमाइरहेको भन्दै उत्पादनमा जोडिन आवश्यक रहेको बताउनुभयो। उहाँले कम्तीमा आफुलाई पुग्नेगरी कौशी खेतीमा भएपनि खेती गर्नतर्फ अग्रसर हुन सुझाव दिनुभयो।
कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका वडा नम्बर १० का वडा अध्यक्ष डिल बहादुर रखालले आफ्नो कार्यकालभरी कृषि क्षेत्रबाट समृद्धीको आधार तय गर्ने बताउनुभएको छ।
उहाँले विषादीयुक्त कृषिउपज महँगो मूल्यमा खरिद गर्नुपर्ने आम उपभोक्ताको बाध्यतालाई मध्यनजर गर्दै कृषि हाट संचालन गरेको वडा अध्यक्ष रखालले जानकारी दिनुभयो।
हाटबजारको उद्घाटन कार्यक्रममा कृषक समुह, कृषक महासंघ, टोल विकास समितिका पदाधिकारी कृषकहरु लगायतको सहभागिता रहेको थियो।
यसअघि रत्नराजमार्ग अन्तर्गत घुस्रा जाने सडकमा अव्यवस्थित तरिकाले किसानले उत्पादन गरेका तरकारिहरु विक्री वितरण हुँदै आएका थिए।
यता हाटबजार स्थापनासंगै स्थानिय किसानहरु पनि खुशी भएका छन्।निर्माण सम्पन्न भएपछि हरेक दिन विहान किसानहरुले यहाँ आफुले उत्पादन गरेका कृषि उपजहरु राख्न पाउने भएका छन् ।
कृषि हाट बजार संचालनमा आउँदा कृषि उपजका विचौलियाको अन्त्य हुने जनाइएको छ। छ कट्टा जमिनमा कृषि हाट बजारसंगै यहाँ खेलकुद तथा जेष्ठ नागरिक दिवा सेवा केन्द्र समेत सञ्चालन हुने भएको छ ।
कार्यक्रममा उस्सु खेलको समेत प्रदर्शन गरिएको थियो।
प्रकाशित मिति: २९ असार २०८०, शुक्रबार १६:४८