मिति: २०८० असार २७ गते ।
स्थान: प्रदेश अस्पताल सुर्खेत ।
समय: बुधबार ११ः६ बजे ।
प्रदेशसभा सदस्यहरुको जमघट पायः कर्णाली प्रदेशसभामा हुन्छ । जहाँ प्रदेशको विकास र समृद्धिका लागि नीति निर्माणका विषयमा छलफल र बहस हुन्छ । औपचारिक र अनौपचारिक रुपमा विकासकै मुद्धामा सदस्यहरु केन्द्रीत हुन्छन् ।
तर बुधबार कर्णाली प्रदेशसभा सदस्यहरु प्रदेश अस्पताल सुर्खेतमा पुगे । विहान ११ बजेर ६ मिनेटमा अस्पतालको प्राङ्गनमा झरे । सीधै विरामीको भीड भएतिर लागे । प्रदेशसभा सदस्यहरु कल्यानी खड्का, सदस्यहरु टेकराज पछाई, रणसिंह परियार, पूर्णबहादुर खत्री, महेन्द्र केसी, दक्षिणा शाहीले विरामीहरुका गुनासा सुने । विरामी को हुनुहुन्छ ? उपचार पाउनु भयो ? अस्पतालको सेवा कस्तो छ ? अस्पतालमा आउँदा केही केही अप्ठेरो त परेन ? जस्ता प्रश्नहरु सोधे ।
अस्पतालको ओपिडि काउन्टरदेखि प्रतिक्षालयसम्म रहेका विरामीहरुसँग सांसदहरुले करिव एक घण्टासम्म यस्तै प्रश्नहरु सोधे । धेरै विरामीले ढिलागरी सेवा पाएको, टिकट काट्नका लागि घण्टौसम्म लाइन बस्नु परेको, स्वास्थ्य वीमा गरेपनि सेवा प्रवाहमा निकै सुस्त भएको जस्ता गुनासाहरु सुनाए भने केही अस्पतालको सेवा राम्रो भएको बताए ।
अस्पतालले प्रवाह गर्ने सेवालाई बुझ्न त्यहाँ पुगेका प्रदेशसभा सदस्यहरु केही ओपिडि काउन्टर रहेका विरामीसँग भलाकुसारी गर्दै थिए त केही सदस्यहरु औषधि शाखाको अवस्था बुझ्दै थिए । घडीले करिव साढे ११ बजाउनै लाग्दा अस्पतालका निर्देशक प्रा.डा. डम्मर खड्का प्रदेशसभा सदस्यहरु भएतिर आए र सांसदहरुलाई पालेपालो नमस्कार टक्राए ।
अनुगमन टोलिसँग उनी कति पनि हतोस्ताहित भएनन् । निर्देशक खड्काले बरु हौसिएर भन्नथाले ‘तपाइहरु सधै आइदिनुप¥यो, हाम्रो सेवा कस्तो छ बुझदिनुप¥यो, यसरी नै तपाइहरु आउन थाल्नुभयो भने हामीलाई पनि सजिलो हुन्छ ।’
अनुगमन टोलिका केही सदस्यलाई आफूसँग लिएर भर्ना भएर उपचार गरिरहेका विरामी अप्रेशन कक्ष, आइसीयू, एनआइसीयु कक्षमा रहेका विरामीको अवस्थाबारे जानकारी गराए ।
अर्काे टोलि फार्मेसी कक्ष भित्र छिरेर औषधिको म्याद गुज्रे, नजुग्रीएको बारे जानकारी लिए । अनि बिल काट्न लाइनमा बसेका विरामीका गुनासा पनि बुझे ।
करिव एक घण्टा बढीको अस्पतालको सेवा प्रवाहका विषयमा जानकारी लिएपछि अनुगमन टोलिका सबै सदस्यहरु निर्देशकको कार्यकक्षमा पुगे । आफ्नो कार्यकक्षमा पुगेका प्रदेशसभा सदस्य (प्रदेश मामिला समितिका सदस्यहरुलाई) निर्देशक खड्काले शब्दले स्वागत गरे । अनुगम टोलिसँगै पुगेका प्रदेश सभा सचिवालयका कर्मचारीहरु, सुरक्षाकर्मीहरु र पत्रकारसँग अस्पतालको अवस्थाबारे बेलिविस्तार लगाए । डेढ वर्षदेखि आफ्नै ब्लड बैंक र आँखाको अप्रेसन सुरु सेवा दिएको, देखि ६ बजेसम्म ओपिडि विहान सेवा दिएको, विरामीको सहजताका लागि छुट्टाछुट्टै ठाउँबाट ४ बटा फार्मेसी सञ्चालनमा छ । अस्पताललाई सधै सफा राख्न फोहोर गर्नेलाई १ सयदेखि ५ सयसम्म जरिवाना तिराउने व्यवस्था गरेको र १५० शैंयाको जनशक्तिबाट भएपनि ३०० शैयाबाट सेवा प्रवाह गरिरहेको लगायतका बेलिविस्तार लगाए ।
निर्देशक खड्काले अस्पताललाई छिट्टै प्रतिष्ठानको रुपमा स्तरोन्नतिका लागि अनुगमन टोलिसँग प्रदेश सभाले छिट्टो कानुन निर्माण अस्पतालको क्षमता अनुसार ओएनएमको रिभ्यू, इमरजेन्सी सेवाका लागि थप बजेट व्यवस्थापन, प्रदेश लोकसेवा आयोगले आठ तहका मेडिकल अधिकृतसम्मको भर्ना लिने र प्रदेशमा आउने सुर्खेतमा बसेर सेवा गर्ने चिकित्सकले पनि ५० प्रतिशत दुर्भम भक्ता पाउने यवस्था मिलाइदिन लगायतका आग्रह गरे । अस्पताललाई प्रतिष्ठानको रुपमा स्तरोन्नति भएको खण्डमा कर्णालीमै एमडीएमससम्मको पढाई हुने र तिनै चिकित्सकहरुले कर्णालीका दुर्गम जिल्लामा पुगेर विरामीको सेवा गर्नसक्ने विषय औल्याए ।
निर्देशकको कुरा सुनेपछि सांसदहरुले अस्पताललाई प्रतिष्ठानको रुपमा स्तरोन्नति गर्नका लागि छिट्टोभन्दा छिट्टो आवश्यक कानुन निर्माण गर्ने प्रतिबद्धता जनाए । प्रदेशसभा सदस्य रणसिंह परियारले प्रशासन सञ्चालनमा गरेको प्रयासको प्रशंसा गरे । उनले काठमाडौको वीर अस्पताल र भारतको लखनउको अस्पतालले सेवा सुविधा दिनुपर्ने र प्रतिष्ठान बनाउने विद्येक बनाउन सहयोग गर्ने प्रतिबद्धता जनाए ।
अर्का प्रदेशसभा सदस्य महेन्द्र केसीले पनि प्रतिष्ठान बनाउनका लागि आवश्यक पर्ने कानुनमा आ–आफ्नो क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्धता जनाए ।
पूर्व सामाजिक विकास मन्त्रीसमेत रहेका प्रदेशसभा सदस्य टेकराज पछाईले सामाजिक विकास समितिले सहयोग र समन्वय गरेर अस्पताललाई प्रतिष्ठान बनाउनका लागि पहल गर्ने प्रतिबद्धता जनाए ।
अर्का प्रदेशसभा सदस्य दक्षिणा शाहीले अस्पतालले अब्बल सेवा दिनुपर्ने र त्यसका लागि आफूले कानुन निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जाइन् ।
प्रदेश मामिला समितिका सभापति कल्यानी खड्काले अस्पताललाई आवश्यक पर्ने जनशक्तिलाई परिपूर्ति गर्नका लागि प्रदेशले कानुन निर्माण गरेर सहयोग गर्ने प्रतिबद्धता जनाइन् । प्रदेश अस्पताल कर्णालीको सबैभन्दा ठूलो र भरपर्दाे अस्पताल भएका कारण अस्पतालको विकासका लागि आवश्यक कानुन निर्माण गर्ने प्रतिबद्धता जनाइन् ।
कर्णाली प्रदेश सभाको प्रदेश मामिला समितिले पहिलो पटक प्रदेश अस्पताल सुर्खेतको स्थलगत अनुगमन गरेको हो । समितिले अस्पतालको सेवा प्रवाहका विषयमा जानकारी लिन अनुगमन गरेको हो ।
अनुगमनमा प्रदेश मामिला समितिका सचिव मदन खड्का लगायतका कर्मचारी र सुर्खेतमा क्रियाशिल पत्रकारहरुको सहभागी थिए ।
प्रकाशित मिति: २७ असार २०८०, बुधबार १९:१२