वीरेन्द्रनगर नगरपालिकाले सामाजिक सुरक्षा भत्ता विद्युतीय भुक्तानी अनलाइन प्रणाली ‘इएफटी’ मार्फत वितरण गरेको छ।बैंकिङ प्रणालीबाट भुक्तानी गर्दै आएको नगरपालिकाले चालू आर्थिक वर्षको अन्तिम त्रैमासिक अवधिको सामाजिक सुरक्षा भत्ता सिधै सेवाग्राहीको खातामा भुक्तानी गरेको हो।
इएफटी’ सेवासुरु भएपछि लाभग्राहीलाई भुक्तानी गर्नुपर्ने रकम सिधै बैङ्क खातामा पठाइएको छ।नगरपालिकाका लेखा अधिकृत हरिबहादुर क्षेत्रीले वीरेन्द्रनगरमा हालसम्म १२ हजार पाँच सय नागरिकले सामाजिक सुरक्षा भत्ता लिने गरेका बताउनुभयाे।
उहाँले नगरपालिकाले कर्णाली प्रदेशमै पहिलो पटक सामाजिक सुरक्षा भत्ता अनलाइन भुक्तानी शुरुवात गरेको बताउनुभयो। लेखा अधिकृत क्षेत्रिले हाल पहिलो चरणम ९ हजार २ सय ९ जनाको अनलाइन भुक्तानीमार्फत खातामा रकम जम्मा भएको बताउनुभयो।
उहाँले बाँकी रहेका २ हजार २ सय नागरिकको पनि इएफटी माध्यबाट छिटै सोझै लाभग्राहीको खातामा रकम जम्मा गरिने बताउनुभयो।नगरपालिकाले बार्षिक ४० करोड ५० लाख २७ हजार सामाजिक सुरक्षा बापतको रकम सेवाग्राहीलार्इ वितरण गर्ने गरेको छ।नगरपालिपकाले आगामी आर्थिक वर्ष पनि अनलाइन माध्यमबाट सामाजिक सुरक्षा भत्ता अनलाइन भुक्तानी गर्ने नीति लिएको छ।
नगर प्रमुख मोहनमाया ढकालले सामाजिक सुरक्षाको अनलाइन भुक्तानीले लाभग्राही बैंकमा जानुपर्ने, लाइन लाग्नुपर्ने बाध्यता केही हदसम्म कम हुने विश्वास व्यक्त गर्नुभयो। नगर प्रमुख ढकालले इएफटी’ मार्फत सामाजिक सुरक्षा भत्ता वितरणले लाभग्राहीलाई अझ सहज हुने जिक गर्नुभयाे ।विद्युतीय भुक्तानी प्रणालीले सुशासन, वित्तीय अनुशासन र उत्तरदायित्व कायम गर्न सघाउ पुग्ने उल्लेख गर्नुभयो ।
यसअघि सरकारले पठाएको पैसा बैंकले लाभग्राहीको खातामा जम्मा गरिदिने गरेकोमा अब नगरपालिकाले पैसा पठाउनेछ ।
प्रकाशित मिति: १८ असार २०८०, सोमबार १६:४९