सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले आगामी आर्थिक बर्ष २०८०÷८१ का लागि ३ अर्बभन्दा धेरैको बजेट सार्बजनिक गरेको छ।आज सम्मपन्न १३ औँ नगर सभामार्फत आगामी आर्थिक बर्ष २०८०÷८१ का लागि ३ अर्ब २ करोड ६१ लाख ८९ हजार ९ सय ६७ रुपैयाँ बजेट सार्बजनिक गरेको हो।
चालु आर्थिक वर्षमा १ अर्ब ९४ करोड ११ लाख १२ हजार ५ सय रुपैंया बराबरको बजेट ल्याएको नगरपालिकाले आउँदो आर्थिक बर्षको लागि चालू आर्थिक वर्षको भन्दा करिब १ अर्ब भन्दा धेरै बजेट सार्बजनिक गरेको हो।
नगरपालिकाका उपप्रमुख निलकण्ठ खनालले बजेट प्रस्तुत गर्दै आगामी आर्थिक बर्षमा वडा कार्यालय सञ्चालनका लागि पुँजीगतसहित १९ करोड ३८ लाख विनियोजन गरिएको बताउनुभयो।
त्यसैगरी नगरस्तरिय कार्यक्रमका लागि ३८ करोड ५९ लाख विनियोजन गरिएको बताउनुभयो।‘शैक्षिक, प्रशासनिक, पर्यटकीय शहर स्वच्छ, समुन्नत वीरेन्द्रनगर’ भन्ने मुल नाराका साथ नगरपालिकाले आफ्नो नीति कार्यक्रम र बजेट सार्बजनिक गरेको हो।
नीति कार्यक्रममा वीरेन्द्रनगरलाई उपमहानगरपालिका बनाउनका लागि पहल गर्ने भनिएको छ।यस्तै नगरप्रमुख मोहनमाया ढकालले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकालाई उप महानगरपालिका बनाउन पहल गर्ने उल्लेख छ।
यस्तै, उपत्यकाको खानेपानी समस्या समाधानका लागि भेरी पम्पिङ आयोजना अघि बढाउने, वीरेन्द्रनगरमा कर्णाली बसपार्क निर्माण गर्ने, नागरिकका गुनासो सुन्न हेल्लो मेयर कार्यक्रम संचालन गर्ने लगायतका कार्यक्रम समेटिएको छ।
प्रकाशित मिति: १० असार २०८०, आईतवार १८:१९