वनमा लागेको आगो निभाउने क्रममा ज्यान गुमाउने घटना बढ्न थालेको छ।दैलेखपछि जाजरकोटमा पनि आगो निभाउने क्रममा एक जनाको ज्यान गएको छ। जाजरकोटको भेरी नगरपालिका-७ मा आगो निभाउने क्रममा जलेर सामुदायिक वनका अध्यक्षको ज्यान गएको हो ।
सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा पातिहाल्न सामुदायिक वनका अध्यक्ष दलजित कार्कीको जलेर ज्यान गएको भेरी नगरपालिका ७ का वडाध्यक्ष दीपबहादुर शाहीले बताउनुभयो।
उहाँले हिजो सो सामुदायिक वनमा आगो निभाउन खोज्दा जलेर घाइते हुनुभएका कार्कीको उपचारका लागि अस्पताल लैजाने तयारी गर्दै गर्दा ज्यान गएको बताउनुभयो।
गाउँलेहरुको प्रयासमा डढेलो गएराति निभाइएको छ। यस्तै, दैलेखमा अस्ति वनमा लागेको डढेलोमा परेर एक जनाको ज्यान गएको थियो भने जलेर घाइते भएका सात जनाको उपचार भइरहेको छ।
विज्ञले सुरक्षाका उपाय अपनाएर मात्र आगो निभाउन आग्रह गरेका छन्।
सुरक्षाको उपायविना आगो निभाउँदा ज्यान जाने खतरा धेरै हुने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव सुन्दरप्रसाद शर्माले बताउनुभयो।
केही दिन अघिसम्म तराई र मध्यपहाडी क्षेत्रमा रहेको डढेलो अहिले उच्च पहाडी र हिमाली क्षेत्रमा पनि देखिन थालेको छ।
धेरैजसो आगलागी र डढेलो मानवीय लापरबाहीकै कारण लाग्ने भएकाले सचेत हुन र सावधानी अपनाउन विज्ञले आग्रह गर्दै आएका छन्।
प्रकाशित मिति: २९ बैशाख २०८०, शुक्रबार १०:५९