कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले २५६७ औं बुद्ध जयन्तीको अवसरमा सुख, शान्ति तथा समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ ।उहाँले सम्पुर्ण बौद्ध धर्मालम्बी कर्णालीबासी,स्वदेश तथा विदेशमा रहनुभएका नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख,शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ।
वैशाख शुक्ल पूर्णिमाका दिन गौतम बुद्धको जन्म¸ ज्ञान प्राप्ति र महापरिनिर्वाणको त्रि–संयोग पर्ने भएकाले यस दिन विश्वभरका बौद्ध धर्मावलम्बीहरूद्वारा गौतम बुद्धप्रति श्रद्धा एवं भक्तिभाव प्रकट गर्ने पवित्र दिवसका रूपमा बुद्ध जयन्ती मनाउने गरिन्छ।
नेपाल बहुजातिय, बहुभाषिक, बहुसाँस्कृतिक तथा बहुधार्मिक मुलुक हो ,विविधता भित्रको एकता नै हाम्रो विशेष पहिचान हो।
प्रदेश प्रमुख परियाले आज जारी गर्नुभएको शुभकामना सन्देशमा सबैमा सहिष्णुता, सद्भाव, अहिंसा एवं समाज सुधारको महान् अभियानमा लाग्ने प्रेरणा मिलोस् भन्ने कामना व्यक्त गर्नुभएको हो। उहाँले भन्नु भएको छ गौतम बुद्धका कालजयी उपदेश र मार्गदर्शनलाई आत्मसात् गर्दै धार्मिक¸सामाजिक तथा सांस्कृतिक विविधता बीच आपसी सद्भाव¸ सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गराई वृहत् राष्ट्रिय एकता निर्माण गर्ने बाटोमा सदैव अग्रसर रहन म सबैमा हार्दिक आह्वान गर्दछु ।
बुद्ध जयन्तीको यस महत्वपूर्ण दिनले हामी सबैलाई विश्व भातृत्वको भावनालाई आत्मसाथ गर्दे सबैलाई मिलेर अगाडि बढ्न प्रेरणा मिलोस् साथै संविधानको सफल कार्यान्वयन सहित राष्ट्रियता तथा पारस्परिक एकतालाई थप मजबुत बनाउन सबैलाई अभिप्रेरित गर्न सकोस् भन्दै सबैमा बुद्ध जयन्तीको शुभकामना व्यक्त गर्दछु।
शान्तिका अग्रदूत गौतम बुद्धले सम्पूर्ण मानव जगतको कल्याण गर्न गृहत्याग गरी कठोर परिश्रमबाट प्राप्त गर्नु भएको बोधी ज्ञान आजसम्म पनि उत्तिकै शास्वत छ। बुद्ध विचारले अहिंसा, सद्भाव, मानव कल्याण र मानिसकै जीवनमा शान्तिको बाटो देखाएकाले नै उहाँका विचार विश्वभर यति लोकप्रिय हुन सकेका हुन्,’ शुभकामना सन्देशमा भनिएको छ।
प्रकाशित मिति: २२ बैशाख २०८०, शुक्रबार ०७:५८