नवनियुक्त उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले सबैलाई सम्मान र विश्वास गर्ने परिस्थिति निर्माण गरेर सरकार सफल बनाउने प्रतिबद्धता जनाउनु भएको छ।राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनियताको शपथग्रहण गरेपछि मन्त्रालयको कार्यभार सम्हाल्दै सिंहदरबारमा मन्त्री खड्काले रक्षा मन्त्रालय एकदमै महत्त्वपूर्ण मन्त्रालय भएकाले सबै सम्बन्धित पक्षहरुसँगको छलफलबाट आफू अघि बढ्ने बताउनुभयो।
उहाँले सामूहिकताको भाव र सबैले सबैलाई सम्मान गर्ने, विश्वास गर्न परिस्थिति निर्माण गरेर सरकार सञ्चालन गर्ने बताउनुभयो।न्यूनतम साझा कार्यक्रम अबको केही दिनमा नै ल्याउने बताउँदै न्यूनतम साझा कार्यक्रमबाट नै सरकारका प्राथमिकताहरु, सरकारका महत्वपूर्ण नीतिगत सुधारका कामहरु अघि सार्ने बताउनुभयो।
उपप्रधानमन्त्री खड्काले के भने ?
यो मन्त्रालय महत्त्वपूर्ण छ, यसलाई बुझेर नै मैले आफ्ना कामहरु प्रधानमन्त्रीज्यूको निर्देशनमा रक्षा मन्त्रालयका अधिकारीहरू, नेपाली सेनाको प्रधानसेनापतिलगायत सम्पूर्ण सम्बन्धित व्यक्तिहरुसँग छलफल गर्नेछौँ । हामी सामूहिकताको भाव र सबैले सबैलाई सम्मान गर्ने, विश्वास गर्न परिस्थिति निर्माण गरेर जानेछौँ । हामीले न्युनतम साझा कार्यक्रमको तयारी गर्दैछौँ । मस्यौदा तयार भएको छ । सरकार विस्तार गर्ने काम लगभग सम्पन्न भएको छ । केही दिनभित्रमा नै न्यूनतम साझा कार्यक्रममार्फत ल्याउनेछौँ । सरकारको न्युनतम साझा कार्यक्रम केही दिन भित्रमा नै सार्वजनकि गर्छौं । त्यसबाट नै सरकारका प्राथमिकताहरु, सरकारका महत्त्वपूर्ण नीतिगत सुधारका विषयहरु, लगायत समग्र विषयमा हामी केन्द्रित हुनेछौँ ।
को हुन खड्का
खड्काले विगतमा गृह, सूचना तथा सञ्चार, युवा, खेलकुद तथा संस्कृति, वातावरण र उद्योग वाणिज्यमन्त्री भएर काम गरेका थिए । यसपटक रक्षा मन्त्रालयको जिम्मेवारी लिएर छठौंपटक मन्त्री बन्नुभएको हो।
कांग्रेसको तत्कालीन नेता खुमबहादुर खड्काको समूहबाट कांग्रेसको केन्द्रीय राजनीतिमा उदाएका खड्का सहमहामन्त्री, महामन्त्री अहिले उपसभापति हुनुहुन्छ । ०७४ मा खुमबहादुरको निधनपछि देउवाले उहाँलाई २१ वैशाख, ०७५ मा महामन्त्री मनोनीत गर्नुभएको हो ।
कांग्रेसबाट १३ औं महाधिवेशनमा केन्द्रीय सदस्य बन्नुभएका खड्कालाई देउवाले पार्टीको महामन्त्री मनोनित गर्नुभएको थियो । त्यसपछि उहाँको राजनीतिक भूमिका बढ्दै गयो । देउवाका विश्वास पात्र मध्येका एक विमलेन्द्र निधिले देउवालाई नै चुनौती दिँदै १४ औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिएपछि त देउवा समूहमा खड्काको प्रभाव झन् बढ्यो । त्यसैले अहिले देउवाले लिने सबैजसो राजनीतिक निर्णयमा खड्काको भूमिका रहन्छ । खड्का नै देउवाका रणनीतिक योजनाकार जस्ता मध्येका हुन् ।
पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई आदर्श मान्ने उनी अहिले पनि घरि–घरि ललितपुरको बाडेगाउँस्थित किसुनजीको कुटीमा पुगेर पूजाआजा गर्छन् ।
०१० सालमा सुर्खेतमा जन्मिएका खड्का ०४५ सालदेखि नै सक्रिय राजनीतिमा छन् । गाउँमा जन्मिए पनि खड्काको परिवार सबल र राजनीतिक नै थियो, उनका बुवा जिल्ला पञ्चायतको उपसभापति थिए । माध्यमिक शिक्षापछि नेपालगन्ज र काठमाडौंबाटै उच्च शिक्षा हासिल गरेका खड्काले अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन् । नेपाल विद्यार्थी संघमा आबद्ध भएका उनी केन्द्रीय सदस्य हुँदै उपसभापतिसम्म पनि भए । ०३६ सालको जनमतसंग्रह र ०४६ सालको आन्दोलनमा उनको सक्रिय भूमिका रह्यो ।
त्यसबीचमा उनी दलमाथि प्रतिबन्ध भएकै बेला जनपक्षीय उम्मेदवारको रुपमा स्थानीय चुनावमा प्रतिस्पर्धा गरे, र जिते पनि । तर छोटो समयमै उनी पञ्चायतबाट निलम्बित भए । राजनीतिक आन्दोलनकै क्रममा पटकपटक गरेर ५ महिना हिरासतमा परेका खड्का बहुदल स्थापनापछि तत्कालीन कांग्रेस सभापति कृष्णप्रसाद भट्टराईको नजिक भएर काम गरे ।
भट्टराईकै स्नेहमा उनी ०४५ सालमा सुर्खेत सभापति भए । ०४८ को आमनिर्वाचनमा उनी सुर्खेत क्षेत्र नं. १ बाट निर्वाचित भए ।
प्रकाशित मिति: १७ चैत्र २०७९, शुक्रबार १७:५८