कर्णाली प्रदेशलाई विभिन्न पदक दिलाउने खेलाडी पुरस्कृत भएका छन्।कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने खेलाडीलाई नगद पुरस्कारसहित सम्मान गरेको हो।
कर्णालीलाई विभिन्न प्रतियोगितामा स्वर्ण, रजत र कास्य पदक दिलाउने खेलाडीहरू सम्मानित भएका छन्।सन् २०२१ मा भारतको सिक्किममा सम्पन्न स्ट्रेन्थ लिफ्टिङ प्रतियोगितामा स्वर्ण पदक विजेता सुर्खेतकी खगिसरा घर्तीलाई नगद दुईलाख र गत भदौ २१ देखि असोज ३ गतेसम्म काठमाण्डौमा भएको साफ महिला फुटबल प्रतियोगितामा रजत पदक विजेता हुम्लाकी दीपा शाहीलाई ५० हजार रुपैयाँ प्रदान गरिएको छ।
गत असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकीमा भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा उसुमा स्वर्ण विजेता सुर्खेतका दीपक हमाल र एथलेटिक्समा स्वर्ण विजेता जुम्लाका दुर्गबहादुर बुढालाई दुई-दुई लाख रुपैयाँ पुरस्कार प्रदान गरिएको छ।
त्यस्तै नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा रजत जित्ने चार जनालाई एक लाख ५० हजारका दरले र कास्य पदक जित्ने ११ जना खेलाडीलाई एक लाख रुपैयाँका दरले पुरस्कार वितरण गरिएको छ।
काठमाडौंमा सम्पन्न १२औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा कर्णालीलाई स्वर्ण दिलाउने सुर्खेतका सुरेश चौधरी र अजय विक तथा कालिकोटका भावना फर्साललाई २० हजार रुपैयाँका दरले पुरस्कार उपलब्ध गराइएको छ।
कर्णालीलाई पदक दिलाउने खेलाडीको सम्मान र उनीहरूमा थप उत्प्रेरणा बढाउन नगद पुरस्कार उपलब्ध गराइएको कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले जनाएको छ।
पदक विजेता खेलाडीलाई पुरस्कार वितरण गर्दै कर्णालीका सामाजिक विकास मन्त्री टेकराज पछाईले कर्णालीमा खेलकुदको विकासका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभयो।
प्रकाशित मिति: ९ चैत्र २०७९, बिहीबार १६:३२