आज फागु पर्व, सुर्खेतसहित देशका पहाडी क्षेत्रमा धुमधामसँग मनाइँदैछ।सामान्यतया फाल्गुण शुक्ल पूर्णिमाका दिन फागु मनाइने भए पनि यो वर्ष चतुर्दशीकै दिन यो पर्व मनाउन लागिएको हो।
यो वर्ष सुर्खेत लगायत पहाडी क्षेत्रमा आज फागुपर्व मानाइँदै छ भने भोली तराईमा होली मनाइँदै छ।वसन्त ऋतुको आगमनको उल्लासमा मनाइने यो पर्व एक अर्कामाथि विभिन्न प्रकारका रङ हालेर एक अर्कालाई दलेर मनाउने चलन छ।
फागु पर्व होली नामले पनि चिनिन्छ।हिरण्यकश्यपुकी बहिनी होलिका आगोमा जलेर मरेको खुशीयालीमा फागुपर्व मनाउन थालेको कथन छ।
होलिकाकै नामबाट होली पर्व चलेको विश्वास पनि गरिन्छ।तराई मधेश क्षेत्रमा भने पूर्णिमाको भोलिपल्ट होली मनाउने परम्परा छ।
यता जिल्ला प्रशासन कार्यालय सुर्खेतले ईच्छा विपरित कसैसँग होली नखेल्न सूचना जारी जरेको छ। प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले सूचना जारी गर्दै होली पर्वलाई संयमतापूर्वक मनाउन अनुरोध गर्नुभएको छ।
होली मनाउने नाममा व्यक्ति इच्छा विपरीत जथाभावी रंग दल्ने, लोला हान्ने, बाटो ढुकेर बटुवालाई रंग लगाउने, सार्वजनिक स्थानमा होहल्ला गरी सार्वजनिक शान्ति र व्यवस्थामा खलल पुर्याउने जस्ता अराजक, उच्छृंखल एवम् अवाञ्छित कार्य नगर्न नगराउन पत्रमार्फत सूचीत गरिएको छ।
प्रकाशित मिति: २२ फाल्गुन २०७९, सोमबार ०७:०३