गएको पुस १० मा सत्ता समीकरणमा कुरा नमिलेपछि अलग भएका नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) फेरि नजिक हुन थालेका छन् । पुस २५ को साँझ कांग्रेस सभापति शेरबहादुर देउवा निवास पुगेर विश्वासको मत मागेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कांग्रेसले पुस २६ गतेको संसद् बैठकमा विश्वासको मत दियो । त्यसयता माओवादी र कांग्रेसबीच सद्भावपूर्ण टिप्पणी र भेटवार्ता चलिरहेको छ ।
सुरुमा दुवैतर्फबाट संलग्न भएर गरेको वार्ताका कारण कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिने वातावरण बनेको थियो । त्यसबेला कांग्रेस नेताहरू रामचन्द्र पौडेल, कृष्ण सिटौला, पूर्णबहादुर खड्का र माओवादी केन्द्रबाट कृष्णबहादुर महरा, जनार्दन शर्मासहितका नेताहरू वार्तामा सक्रिय थिए ।
त्यसमा सहजकर्ता र मध्यस्थकर्ताको भूमिकामा थिए– माधवकुमार नेपाल ।
तर, पछिल्लो समय देउवा र प्रचण्डबीच सिधा वार्ता हुन थालेको छ । एकीकृत समाजवादीका अध्यक्ष नेपालको मध्यस्थकर्ताको भूमिका भने यथावत् छ । यसले कांग्रेस, माअोवादी र एकीकृत समाजवादीसहितको गठबन्धन ब्युँतिने विश्वास ती पार्टीका नेताहरूले गर्न थालेका छन् ।
“प्रधानमन्त्रीले राष्ट्रपतिमा राष्ट्रिय सहमति भनिरहनुभएको छ,” कांग्रेस प्रमुख सचेतक रमेश लेखकलले भने, “माओवादी केन्द्रले राष्ट्रिय सहमतिको राष्ट्रपति भनेको हामीलाई कांग्रेसकै भनेको हो भन्ने विश्वास छ ।” एमालेमा देखिएको छटपटी र अधैर्यताले पनि त्यसलाई पुष्टि गरिरहेको उनको भनाइ छ । “राष्ट्रिय सहमतिको राष्ट्रपति भनेर प्रधानमन्त्रीले भनेपछि एमाले त्यसलाई हुँदैन भनेर सशंकित भइरहेको छ । ऊ अधैर्य र विचलित पनि देखिँदै छ,” लेखकले भने, “यसले एमालेले माओवादीसँगको विश्वास गुमाएको संकेत गरेको छ ।”
कांग्रेस सभापति शेरबहादुर देउवा निकटका एक नेता पछिल्लो समय देउवा र प्रचण्डबीच सिधा सम्पर्क भइरहेकाले त्यसले थप विश्वासको वातावरण बनिरहेको बताउँछन् । उनका अनुसार माओवादी केन्द्र र कांग्रेसबीच राष्ट्रपतिको उमेदवारमा भने सहमति हुन बाँकी छ । प्रचण्डले एकजना गैरराजनीतिक व्यक्तिलाई राष्ट्रपतिमा अघि सारेपछि र कांग्रेसले पहिलो कार्यकाल प्रचण्डलाई प्रधानमन्त्री दिन अस्वीकार गरेपछि गठबन्धन भत्किएको थियो । अहिले प्रचण्ड गैरराजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउनुपर्ने अडानमा छन् वा छैनन् भन्ने स्पष्ट भएको छैन । कांग्रेसले पनि पार्टीबाट राष्ट्रपतिको उमेदवारको टुंगो लगाइसकेको छैन । त्यसैले अबको चरणमा दुवैतर्फबाट राष्ट्रपतिको उमेदवार प्रस्तुत गरेर त्यसैमा सहमति खोजिने प्रधानमन्त्री निकट ती नेता बताउँछन् ।
“अब सार्वजनिक नगरे पनि कांग्रेस र माअोवादी केन्द्रबीच राष्ट्रपतिको उमेदवारका विषयमा छलफल सुरु हुन्छ,” ती नेताले बाह्रखरीसँग भने, “उमेदवारमा सहमतिपछि सहमति सार्वजनिक गर्ने वा नगर्ने भन्ने समझदारी हुन्छ ।”
प्रधानमन्त्रीमा प्रचण्डको निरन्तरताका लागि कांग्रेसले अघि सारेको उमेदवार नै कायम हुने उनको विश्वास छ । तर, प्रचण्ड र देउवाको साझा रोजाइमा पर्ने उमेदवार भने रामचन्द्र पौडेल नभएर सिटौला हुनसक्ने उनको बुझाइ छ । “अहिलेको प्राथमिकता सत्य निरूपण आयोगमार्फत सशस्त्र द्वन्द्वका क्रममा भएका घटनाको निरूपण हो । यसमा रामचन्द्रजी भन्दा सिटौलाजीको भूमिका प्रभावकारी हुन्छ भन्ने बुझाइ पाइएको छ,” ती नेताले भने, “त्यसैले कांग्रेसकै राष्ट्रपतिको उमेदवार तर प्रचण्डले रोजेको व्यक्ति छानिने अवस्था बन्न सक्छ ।” तर कांग्रेसभित्र भने पौडेलको विकल्प खोज्न नहुने दबाब सभापतिलाई परेको छ । इतरसमूहले पनि पौडेललाई अघि सार्न दबाब दिएको स्रोत बताउँछ ।
माअोवादी केन्द्रका अर्का एक उच्च पदाधिकारी देश अहिले पुस १० को अवजस्थामा नभएर पुस २६ को अवस्थामा रहेकाले राष्ट्रपति चुनाव पनि त्यही अवस्थामा हुने बताउँछन् । उनका अनुसार पुस २६ गतेको अवस्था भनेको एमालेसहितको राष्ट्रिय सहमतिको अवस्था हो । त्यसैले एमालेको विकल्प खोजेका नभएर माओवादीले राष्ट्रिय सहमति खोजेको हो । “एमालेले आफ्नै उमेदवारमा राष्ट्रिय सहमति जुटाउने हो भने पनि त उसैले पहल थाल्नुपर्यो नि,” ती पदाधिकारीले बाह्रखरीसँग भने, “हामीले सहमतिको कुरा गरेका छौँ । विवाद कांग्रेस र एमालेबीच भइरहेको देखिँदै छ । त्यो विवादको विषयमा उहाँहरूसँगै कुरा गर्नु राम्रो हुन्छ ।”
एकीकृत समाजवादीका उपमहासचिव डा. विजय पौडेल राष्ट्रपति चुनावका विषयमा विभिन्न तहमा छलफल जारी रहेपनि ठोस सहमति जुटिनसकेको बताउँछन् । उनी सहमतिका प्रयास जारी रहेकाले उमेदवारी दर्ता गर्ने मितिसम्म कुनै परिणाम निस्कन सक्ने बताउँछन् ।
मंगलबार मात्र पनि नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले अध्यक्ष नेपालसँग भेट गरी आगामी दिनको राजनीतिका लागि नेताहरूको भूमिकाका विषयमा छलफल गरेका छन् । अहिलेसम्म माअोवादी केन्द्र र कांग्रेसबीच विश्वासको वातावरण निर्माणमा भूमिका खेलेका अध्यक्ष नेपालबाट कांग्रेसले अझै एकपटक प्रयास गर्न र परिणाम निकाल्न अगुवाइका लागि आग्रह गरेको एकीकृत समाजवादी स्रोतले जनाएको छ । स्थानीय तहको निर्वाचनदेखि संघीय र प्रादेशिक चुनावमा गठबन्धन गरेर सहकार्य गरेका कांग्रेस र माअोवादी केन्द्र पुस १० देखि अलग्गिएका थिए । त्यसपछि प्रचण्ड एमाले अध्यक्ष केपी शर्मा ओली निवास पुगेर प्रधानमन्त्री बनेका थिए । संघीय संसद् सचिवालयमा प्रमुख प्रतिपक्ष दलका रूपमा नाम लेखाएको कांग्रेसले संसद्मा प्रतिपक्षकै कुर्सी रोजेको थियो । तर, प्रधानमन्त्रीलाई विश्वासको मत दिन कांग्रेस सांसदहरू सत्ता पक्षकै लाइनमा लामबद्ध भए ।
पुस २६ को यही घटनाले एमाले भने सशंकित छ । प्रतिनिधि सभाको रोस्ट्रममा उभिएर देउवाले संविधानको रक्षाका लागि अझै सहकार्यको अवश्यकता रहेको र सरकारको सैद्धान्तिक राजनीतिक धरातल कमजोर भएकाले उसलाई बलियो भएर काम गर्नका लागि कांग्रेसले विश्वासको मत दिने घोषणा गरे । सँगै उनले एमाले अध्यक्ष ओलीले संविधानलाई नै दुर्घटनामा पुर्याउने नियतले दुईदुईपटक संसद् विघटन गरेकाले त्यसको दोषको भारी बोक्ने हिम्मत प्रचण्डमा छ वा छैन भनेर गठबन्धनमा तरंग पैदा गर्ने प्रयास गरेका थिए । देउवालगत्तै बोलेका एमाले अध्यक्ष केपी शर्मा ओली त्यही भनाइबाट तरंगित हुँदै संसद् विघटन प्रधानमन्त्रीको अधिकारका रूपमा व्याख्या गरेका थिए । उनले विश्वासको मत दिएर प्रतिपक्षमा बसेको कांग्रेसको कदमले लोकतन्त्रकै नयाँ परिभाषा खोज्नुपर्ने अवस्था आएको टिप्पणी गरेका थिए । त्यतिबेलै ओलीले प्रतिपक्ष दल भएर पनि प्रचण्डलाई विश्वासको मत दिने कांग्रेसको नियतमाथि प्रश्न गरेका थिउ । “कांग्रेसले असल मनसायका साथ विश्वासको मत दिएको हो भने धन्यवाद, जालझले गरेको हो भने जाल माछा नभएको नदिमा पर्नेछ,” ओलीले भनेका थिए, “विश्वासको मत दिएर ढोक्सा थापेको हो भने माछा अन्तै जानेछन् । रित्तै ढोक्सा हात पार्नेछ ।” –बाह्रखरीबाट
प्रकाशित मिति: २५ माघ २०७९, बुधबार १३:२१