दैलेखमा रहेको पेट्रोलियम अन्वेषणको लागि जग्गा प्राप्त गर्न दिन संघिय सरकारले स्वीकृति दिएको छ।
मन्त्रीपरिषदको बैठकले पेट्रोलियम अन्वेषणको लागि भन्दै भैरवी गाँउपालिका वडा नम्बर १ जलजलेमा रहेको जग्गा उपलब्ध गराउन स्वीकृति दिएको हो।अन्वेषणको लागि आवश्यक पर्ने ४५ रोपनी जग्गा उपल्बध गराउने मन्त्रीपरिषदले निर्णय गरेको हो।
यसअघि भैरवी-१को करिब ४५ रोपनी जग्गा अधिग्रहण गर्न मन्त्रिपरिषदमा प्रस्ताव लिइएको थियो।चीनबाट भारत हुँदै नेपालगञ्ज नाकाबाट भित्रिने ड्रिलिङ उपकरण ६ मिटर चौंडा, ६० टन तौल र १५ मिटर लामो हुने भएकाले सडकका मोडहरु स्तरोन्नति गर्नैपर्ने अवस्था रहेको छ।
पेट्रोलियम पदार्थ अन्वेषण सक्ने गरी तयारीका कामहरु छिटो सक्न चीनले ताकेता गरेको छ।अन्वेषणको लागि ड्रिलिङ गर्ने स्थानहरु छनोट गरेर गत असोजमा चिनियाँ प्राविधिक टोली फर्किएको थियो।
‘चाइना जिओलोजिकल सर्भे’ले अन्वेषणस्थलमा ड्रिलिङका लागि १५ मिटरसम्म लामो फलामे पाइप कन्टेनरमार्फत लैजानुपर्ने बताएको छ।
दैलेख पुग्ने कर्णाली राजमार्ग र करिब १० किलोमिटर ग्रामीण सडक साँघुरो र त्यसका घुम्तीहरु सानो भएकाले चुनौतीपूर्ण अवस्था छ।यसअघि निर्धारित समयमा दैलेखसम्म ड्रिलिङ उपकरण ल्याउन सक्ने गरी सडक पूर्वाधार स्तरोन्नति गर्न र जग्गा अधिग्रहण गर्न ढिलाइ भएको थियो।
कात्तिक २०७६ मा तत्कालीन उद्योगमन्त्री मात्रिका यादवले दैलेखको नाभिस्थानबाट पेट्रोलियम पदार्थ अन्वेषणको कार्यको उद्घाटन गर्नुभएको थियो।
अन्वेषणमा लाग्ने सबै खर्च चिनियाँ पक्षले नै व्यहोरिरहेको छ।दैलेखमा अन्वेषण सफल भएमा पाल्पामा पनि चीनको सहयोगमा अन्वेषणको काम सुरु गर्ने योजना छ।
प्रकाशित मिति: २४ माघ २०७९, मंगलवार १७:१९