सडक पूर्वाधार स्तरोन्नति र जग्गा अधिग्रहण गर्न ढिलाइका कारण दैलेखमा रहेको पेट्रोलियम पदार्थको अन्वेषण कार्य ढिलाइ भएको छ।
कोरोना महामारीका कारण धकेलिएको पेट्रोलियम पदार्थको अन्वेषण कार्यका लागि सम्झौताको म्याद पुनः थप गरिए पनि सडक पूर्वाधार स्तरोन्नति र जग्गा अधिग्रहण गर्न ढिलाइका कारण काम सुरु हुन नसकेको खानी तथा भूगर्भ विभागले जनाएको छ।
खानी तथा भूगर्भ विभागका भूगर्भविद् डा. गणेशनाथ त्रिपाठीले कोरोना महामारीका कारण धकेलिएको पेट्रोलियम पदार्थको अन्वेषण कार्यका लागि सम्झौताको म्याद थप गरिएको भए पनि अन्वेषण गर्न आवश्यक सामग्री ल्याउन सडक पूर्वाधार नभएका कारण ढिलाइ भएको बताउनुभयो।
उहाँले चीनबाट भारत हुँदै नेपालगञ्जसम्म सामग्री आउने र त्यहाँबाट दैलेखमा पुर्याउन सडक पूर्वाधार समस्या भएको बताउनुभयो।
विभागले स्थलगत अध्ययन गरेर फाइल मन्त्रालयमा बुझाएको छ।
चीनबाट भारत हुँदै नेपालगञ्ज नाकाबाट भित्रिने ड्रिलिङ उपकरण ६ मिटर चौडा, ६० टन तौल र १५ मिटर लामो हुने भएकाले सडकका मोडहरू स्तरोन्नति गर्नुपर्ने अवस्था छ। त्रिपाठीले दैलेखको भैरवी गाउँपालिका–१, को करिब ४५ रोपनी जग्गा अधिग्रहण गर्न मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने तयारी भएको छ।
सडक मार्ग स्तरोन्नतिको काम भने सडक विभागले थालिसकेको छ।
अन्वेषणका लागि तीनवटा पूर्व–पश्चिम र सातवटा उत्तर–दक्षिण दिशामा खनिएका १० वटा सिस्मिक लाइनहरूमा सर्भे कार्य सकिएपछि त्यसको वास्तविक अध्ययनपश्चात् पेट्रोलियम पदार्थको अन्वेषणका लागि गरिने मुख्य ड्रिलिङको काम अघिल्लो असोज महिनामा गर्ने तयारी भए पनि कोरोनाको तेस्रो लहरका कारण काम प्रभावित बनेको थियो।
चीनको प्राविधिक टोलीले सिस्मिक सर्भे सम्पन्न गरी पेट्रोलियमको मात्रा विश्लेषण गरी प्रमाणित भण्डार व्यापारिक प्रयोजनका लागि उपयुक्त छ वा छैन भन्ने जानकारीका लागि मुख्य ड्रिलिङ गर्नुपर्ने हुन्छ।
प्रकाशित मिति: १८ पुष २०७९, सोमबार १७:०६