नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त हुनुभएको छ।एकसय ६९ जना सांसदको समर्थनमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रचण्डलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो।
कुनै एक दलको बहुमत नपुगेको अवस्थामा राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा २ अनुसार विभिन्न पार्टीका बहुमत सांसदको समर्थनमा प्रचण्डलाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो।
प्रचण्डलाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी तथा स्वतन्त्र सांसदहरू प्रभु साह, किरण साह र डा. अमरेशकुमार सिंह गरेर एक सय ६९ जना सांसदको समर्थन रहेको छ।
तेस्रो पटक प्रधानमन्त्री बन्नुभएका प्रचण्डको शपथ ग्रहण भने आज मात्रै गर्ने राष्ट्रपति कार्यालयले तयारी गरेको छ।
प्रचण्ड यसअघि २०६५ र २०७३ मा प्रधानमन्त्री बन्नुभएको थियो।
राष्ट्रपति भण्डारीले यही पुस ३ गते सात दिनको समयसीमा दिइ प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रतिनिधि सभा सदस्यलाई प्रधानमन्त्रीमा दाबी पेस गर्न आह्वान गर्नुभएको थियो।
प्रकाशित मिति: ११ पुष २०७९, सोमबार ०७:१३