कर्णाली प्रदेशमा दलितमाथि हुने जातीय विभेद तथा छुवाछूतका घटनाहरु अब मोबाइल एप्समा दर्ता हुने भएको छ।
विभेदका घटनाहरु दर्ताका साथै तथ्यांकीकरण हुने र समाधानका लागि पहल गर्न मोबाइल एप्समार्फत काम हुने भएको हो।समता फाउण्डेशनले डिग्निटी एप्समार्फत घटनाहरु दर्ता गर्ने जनाएको छ।
कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले मोबाइल एप्सको सार्वजनिक गर्नुभएको छ। उहाँले एप्सबाट जातीय विभेद तथा छुवाछूतका घटनाहरुको विवरण एकीकृत हुने र समाधानका लागि पहल गर्न सघाउ पुग्ने बताउनुभयो।विभेद तथा छुवाछूत अन्त्यका लागि एप्सबाट काम गर्न सहज हुने उहाँको भनाइ छ ।
समता फाउण्डेशनका कार्यकारी अध्यक्ष प्रदीप परियारले कर्णाली प्रदेशभरमा दलित माथि हुने जातीय विभेद तथा छुवाछूतका घटनाहरु यही एप्सको सहयोगबाट संकलन हुने बताउनुभयो। उहाँले एप्स कर्णालीबाट पहिलो पटक सार्वजनिक गरिएको जानकारी दिनुभयो।
दलितमाथि हुने विभेदका घटनाहरु अहिलेसम्म के कति भयो भन्ने तथ्यांक नरहेको हुँदा यो एप्सबाट मासिक तथा बार्षिक तथ्यांक राख्न पनि सहज हुने उहाँको भनाइ छ।डिग्निी एप्सका परिकल्पनाकार एवं समता फाउण्डेशनका प्रवन्धक तिरुपति परियारले एप्समा घटना अभिलेख दर्ता, फ्लोअप सवै हुने खालको रहेको जानकारी दिनुभयो।एप्स संचालनका लागि कर्णालीका १० जिल्लामा एक÷एक जना दलित अधिकारकर्मी तयारी पारी प्रशिक्षण दिइएको छ।
अधिकारकर्मीहरुले दलितमाथि हुने विभेद र छुवाछूतका घटनाहरु संलग्न गरी समाधाको पहल गर्ने उहाँले बताउनुभयो।समता फाउण्डेशनका कर्णाली प्रदेश संयोजक मंगलसेन सार्कीले कर्णालीमा दलितहरुको संख्या बढी भएकोले यो मोबाइल एप्स पहिलोपटक कर्णालीबाट लागू गरिएको जनाउनुभयो । उहाँले यही एप्सबाट दलितमाथि विभेद र छुवाछूतका घटनाहरुको एकीन तथ्यांक आउने जानकारी दिनुभयो।
पत्रकार महासंघ सुर्खेतका अध्यक्ष ललित बसेलले एप्सबाट बास्तविक तथ्यांक संकलन हुने र त्यसका आधारमा सार्वजनिक गर्न सहज हुने उल्लेख गर्नुभयो ।
प्रकाशित मिति: २९ मंसिर २०७९, बिहीबार १७:००