कर्णाली प्रदेशका अपांगता भएकाहरुले प्रदेश सरकार भएको अनुभुति गर्न नपाएको बताएका छन।आज पिपल्स एक्सेस सुर्खेतले आयोजना गरेको कार्यक्रममा सहभागीहरुले स्थानिय र प्रदेश सरकारले अपांगता भएकाहरुको क्षेत्रमा कामै गर्न नसकेको बताएका छन।
उनीहरुले अपाङगता परिचयपत्र लिन निकै झन्झटिलो प्रकृया रहेको भन्दै यसलार्इ सहज बनाउन माग गरेका छन।कर्णाली प्रदेशमा ६० हजार हाराहारीमा अपांगता भएकाहरु भएपनि हालसम्म करिब १० हजारले मात्रै परिचयपत्र पाएको जनाइएको छ।कर्णालीमा अपांगता समुन्वय समिति गठन नुहदाँ काम गर्न समस्या रहेको भन्दै निति निर्माणमा भएका कुरा पनि कार्यान्वयन हुन सकेका छैनन्।यसबीच सुर्खेतका स्थानीय तहरमा अपांगता परिचयपत्र दिनका लागि राजनीतिक दललगायत अन्य पक्षहरुले दवाव दिने गरेको पाइएको छ।
अपांगता भएकाहरुको अवस्था हेरेर कार्यविधि अनुसार प्रक्रिया पुर्याएर वर्ग अनुसार दिइने परिचयपत्र राजनीतिक दललगायत अन्य पक्षले आफ्नो इच्छाहरुको दिन दवाव दिने गरेको पाइएको हो।सरकारी सेवा सुविधा पाउनका लागि यस्तो दवाव आउने गरेको सम्बन्धित तहका महिला शाखाहरुको जनाएका छन।यस्तै भेरीगंगा नगरपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका लक्ष्मी सुवेदीले अपांगता परिचयपत्रका लागि राजनीतिक दवाव आउने गरेको बताउनुभयो।कार्यविधि अनुसार प्रक्रिया पुर्याएर अवस्था हेरेर दिइने परिचयपत्र आफूखुशी दिन दवाव आउने गरेको भन्दै उहाँले जसका कारण काम गर्न चुनौती आएको बताउनुभयो।स्थानीय तहको निर्वाचनपछि नयाँ जनप्रतिनिधिहरु आएको सात महिना वितिसक्दा पनि भेरीगंगामा परिचयपत्र वितरणको एउटा पनि बैठक बस्न नसकेको उहाँको भनाइ छ।
हालसम्म भेरीगंगाका ३५३ जनालाई अपांगता परिचयपत्र वितरण गरिसकिएको छ।यस्तै वीरेन्द्रनगर नगरपालिकाका महिला शाखाका सरला रेग्मीले हालसम्म ९६८ वटा परिचयपत्र वितरण गरिएको जानकारी दिनुभयो।उहाँले अपांगताको क्षेत्रमा पर्याप्त काम गर्न नसकेको स्वीकार्दै आगामी दिनमा थप काम गर्ने प्रतिवद्धता जनाउनुभयो।उहाँले नगरपालिकाले अपांगता भएकाहरुको जीविकोपार्जन कार्यक्रम संचालन गर्ने तयारी गरेको बताउनुभयो।गुर्भाकोट नगरपालिकाको महिला शाखाका ललित चौधरीले अन्य स्थानीय तहको भन्दा गुर्भाकोटमा धेरै काम भएको दावी गर्नुभयो।
उहाँले हालसम्म ३७० जनालाई परिचयपत्र वितरण गरिएको, ३३ जनालाई सहायक सामग्री वितरण गरिएको जानकारी दिनुभयो।यस्तै कार्यक्रममा राष्ट्रिय अपांग महासंघका कर्णाली प्रदेश अध्यक्ष विष्णुप्रसाद शर्माले मिडियाले अपांगताका सवालमा धेरै विषयहरु उठान गर्न सक्ने बताउनुभयो।उहाँले कर्णालीका अपांगता भएका व्यक्तिहरुले अपांगता अधिकारको उपभोग गर्न नपाएको भन्दै यस्ता सवाललाई मिडियाले उठाएर सहजीकरण गरिदिनुपर्ने सुझाव दिनुभयो।कार्यक्रममा परिलक्षित संस्थाका कार्यक्रम अधिकृत राजु लामिछानेले संस्थाको कार्यक्रमबाट ३५ जना बालबालिकाहरुलाई छात्रवृत्ति दिइएको बताउनुभयो।
कार्यक्रम पिपल्स एक्सेस सुर्खेतका अध्यक्ष सीता आचार्यको अध्यक्षतामा भएको थियो।
प्रकाशित मिति: २५ मंसिर २०७९, आईतवार १७:०७