सल्यान, अहिलेको युग डिजिटल युग हो । भौतिक दुरी टाढा भएपनि डिजिटल डिभाइसले सिंगो विश्वलाई नै एउटा गाउँका परिणत गरिदिएको छ । मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि धेरै उम्मेदवारले यही डिजिटल डिभाइसको प्रयोग गर्दै मत (भोट) मागिरहेका छन् । मतदाताको मन जित्ने उद्देश्यले धेरैले सामाजिक सञ्जाल फेसबुकबाट मत मागेका छन् । कतिले एसएमएस पठाएर भोट मागेका छन् त कतिले भ्वाइकल नै गरेका छन् । तर सल्यानबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार प्रकाश ज्वालाले भने मतदातालाई चिठ्ठी नै पठाएर मत (भोट) मागेका छन् । चुनावको अवधिमा प्रत्येक्ष मतदातालाई भेट्न असम्भव भएपछि उनले नेता कार्यकता र शुभेच्छुकमार्फत चिठ्ठी पठाएर मतदातासँग भोट मागेका हुन् । मतदातालाई पठाइएको चिठ्ठी उनका शुभेच्छुक तथा कार्यकर्ताहरुले सामाजिक सञ्जालमा समेत राखेका छन् । चिठ्ठीमा ज्वालाले निर्वाचित भएपछि स्वास्थ्य, शिक्षा, खानेपानी, कृषि, सडक, सिँचाई, विद्युत लगायत विकास निर्माणका काममा समर्पित भएर लाग्ने संकल्प गरेका छन् । उनले सल्यानको विकास निर्माणका लागि आफ्नो बुद्धि, क्षमता र हैसियतले सकेसम्म समर्मित हुने बाचा नै गरेका छन् ।
‘यस पटकको निर्वाचनमा विजयी भएपछि सल्यान र सल्यानीका आवाजहरु संघीय संसदमा बुलन्द गर्नेछु । जनताको स्वास्थ्य, शिक्षा, खानेपानी, कृषि, सडक, सिँचाई, विद्युत लगायत विकास निर्माणका काममा समर्पित भएर लाग्ने संकल्प गर्दछु’ चिठ्ठीमा उनले भनेका छन् ।
सल्यानी जनताको खुसी नै आफ्नो सपना भएको भन्दै ज्वालाले आजको सुन्दर सल्यानलाई समृद्ध सल्यान बनाउने बाचा गरेका छन् । ‘आजको सुन्दर सल्यानलाई समृद्ध सल्यान बनाउने एवम् सल्यानी जनताको खुसी नै मेरो सपना हो । मेरो बुद्धि, क्षमता र हैसियतले सकेसम्म यस पूनित कार्यमा म समर्पित भएर लागि रहने बिश्वास दिलाउन चाहान्छु । यसमा तपाईंहरुको साथ र सहयोगको अपेक्षा गर्दछु’ ज्वालाले चिठ्ठीमा लेखेका छन् ।
उनले चिठ्ठीलाई सम्हालेर राख्न र केही समस्या परेमा सिधै आफ्नो मोवाइल नम्बरमा सम्पर्क गर्न समेत भनेका छन् । ‘यो चिठ्ठीलाई हजुरहरुले सम्हालेर राख्नुहुने छ । केही समस्या परेमा अझै निकटताको लागि मेरो फोन नम्बर ९८५१०८१४९३ मा सम्पर्क गर्नुहुने छ भन्ने विश्वास लिएको छु’ ज्वालाले चिठ्ठी लेखेका छन् ।
पाँच दलिय गठबन्धनबाट प्रतिनिसभामा साझा उम्मेदवार उनले गठबन्ध दलबाट प्रदेशसभा सदस्यका उम्मेदवारका लागि पनि भोट मागेका छन् । एउटा प्रतिनिधिसभा र दुई वटा प्रदेशसभा रहेको सल्यानमा गठबन्धनबाट प्रतिनिधिसभामा नेकपा एकीकृत समाजवादीका उपमहासचिव ज्वाला उम्मेदवार छन् भने प्रदेशसभा (क) मा माओवादी केन्द्रका भिमप्रकास शर्मा र प्रदेशसभा (ख) मा नेपाली कांग्रेसका सुरेश अधिकारी उम्मेदवार छन् ।
यस्तो छ ज्वालाले मतदातालाई पठाएको पत्र
श्री…..
हार्दिक नमस्कार !
म प्रकाश ज्वाला, आगामी मंसिर ४ गते हुने निर्वाचनमा
नेपाली काँग्रेस नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनमोचा लगाएत गठबन्धन दलहरको तर्फबाट प्रतिनिधिसभा सदस्यको साझा उम्मेदवार ।
सर्वप्रथम तपाई र सपरिवार, इष्टमित्र, गाउँघर सबै आराम हुनुहोला भन्ने आशा लिएको छु । आरामै रहनु हुनेछ भन्ने कामना गर्दछु । सल्यान जिल्लामा म सधै हजुरहरुको साथमा थिए, छु र रहने छु । निर्वाचनको समयमा म हजुरहरूको घर लोसम्म आउने अधिक प्रयास गरे । तर समयको अभावले भेट हुन नसकेमा यही चिठ्ठीलाई मेरो सम्झनाको चिनो ठान्नुहुने छ । निर्वाचनपछि हुजरहरूको घरदैलोमा आउने अठोट गर्दछु । यस पटकको निर्वाचनमा विजयी भएपछि सल्यान र सल्यानीका आवाजहरु संघीय संसदमा बुलन्द गर्नेछु । जनताको स्वास्थ्य, शिक्षा, खानेपानी, कृषि, सडक, सिँचाई, विद्युत लगायत विकास निर्माणका काममा समर्पित भएर लाग्ने संकल्प गर्दछु । आजको सुन्दर सल्यानलाई समृद्ध सल्यान बनाउने एवम् सल्यानी जनताको खुसी नै मेरो सपना हो । मेरो बुद्धि, क्षमता र हैसियतले सकेसम्म यस पूनित कार्यमा म समर्पित भएर लागि रहने बिश्वास दिलाउन चाहान्छु । यसमा तपाईंहरुको साथ र सहयोगको अपेक्षा गर्दछु ।
हजुर र हजुरको परिवारले यस पटकको निर्वाचनमा प्रतिनिधिसभामा कलम चिन्हमा मतदान गरी म प्रकाश ज्वाला, प्रदेशसभा १ मा गोलाकार मित्रको हसिया हतौडा र प्रदेश सभा २ मा रुख चिन्हमा मतदान गरी गठबन्धनका साझा उम्मेदवारहरुलाई अत्याधिक बहुमतले बिजयी बनाउनुहुन विन्रमतापूर्वक हार्दिक अनुरोध गर्दछु । यो चिठ्ठीलाई हजुरहरुले सम्हालेर राख्नुहुने छ । केही समस्या परेमा अझै निकटताको लागि मेरो फोन नम्बर ९८५१०८१४९३ मा सम्पर्क गर्नुहुने छ भन्ने विश्वास लिएको छु ।
प्रकाश ज्वाला
प्रतिनिधिसभा सदस्य उम्मेदवार

प्रकाशित मिति: १ मंसिर २०७९, बिहीबार २१:४४