अमृतबहादुर वि.सी. शिक्षा, सहकारी र राजनीतिमार्फत समाजसेवाका क्षेत्रमा सक्रिय हुनुहुन्छ । राजनीति र सामाजिक क्षेत्रमा सुर्खेतमा मात्र नभइ उहाँको नाम कर्णाली प्रदेशमै चिरपरिचित छ । २०१६ सालमा दैलेखको जोरेबाँझमा जन्मिनुभएका विसीको प्राथमिक तहको शिक्षा दैलेखकै पिलाडीबाट सुरु भयो । पछि परिवारको बसाइँसराइ तत्कालीन लाटिकोइली गाविस हालको वीरेन्द्रनगर–१० मनिकापुरमा भयो । विसीले माध्यमिक तहको शिक्षा पनि वीरेन्द्रनगरको जन माध्यमिक विद्यालयबाट पूरा गर्नुभयो । शिक्षा क्याम्पस नेपालगञ्जबाट आई एड पूरा गरेपछि शिक्षण पेशामा जोडिनुभएका विसीले स्नातक र स्नातकोत्तर भने सुर्खेतबाटै पूरा गर्नुभयो ।

सानैदेखि जिज्ञासु र अरुको सेवामा रुचि राख्ने विसी स्कूले उम्मेरदेखि नै राजनीतिप्रति चासो राख्नुहुन्थ्यो । पञ्चायतकालमा राजनीतिक गतिविधि प्रतिवन्धित अवस्थामै उहाँले राजनीतिक पत्रपत्रिका, दस्तावेजहरु अध्ययन गर्ने, गोप्य छलफलहरुमा सहभागी हुने गर्नुहुन्थ्यो । २०३५ सालदेखि भने अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियु) मा आबद्ध हुनुभयो । विद्यार्थी संगठनको सदस्यका हिसाबले विसीले २०३६ सालको आन्दोलनमा सक्रियातापूर्वक भाग लिनुभयो । २०३८ सालदेखि भने उहाँले शिक्षण पेशा अंगाल्नुभयो ।
१५ बर्ष शिक्षण पेशामा हुँदा विसीले शिक्षक संगठनको सदस्य भएर राजनीतिक गतिविधिमा सहभगिता जनाउनुभयो । शिक्षण पेशामै रहँदा आफूले शिक्षण गर्ने ठाउँमा बहुदल र प्रजातन्त्रका बारेमा गोप्य रुपमा प्रचारप्रसार गर्ने, संगठन निर्माण गर्ने, समुदायमा जागरण पैदा गर्ने कुरामा विसी लागिरहनुभयो । २०४६ सालको जनआन्दोलन र त्यसपछि प्रजातन्त्र, लोकतन्त्र प्राप्तिका लागि भएका विभिन्न आन्दोलनमा उहाँले सक्रिय सहभागिता जनाउनुभयो ।
२०४७ सालमा प्रजातन्त्र प्राप्तिपछि विसीले तत्कालिन नेकपा माले पार्टीको सदस्यता लिएर राजनीतिमा थप सक्रिय भएर लाग्नुभयो । शिक्षण पेशासंगै राजनीति मार्फत समाज सेवामा सक्रिय विसीको मूल्यांकन गरेर पार्टी जनप्रतिनिधिका लागि टिकट दिने निर्णय ग¥यो । पार्टीको निर्णय र राजनीति मार्फत समुदाय, समाज र राष्ट्रको अवस्था बदल्ने आफ्नो चाहानालाई प्राथमिकतामा राखी सेवा निवृत्त हुनै लागेको जागिरबाट राजीनामा दिएर चुनावमा होमिनुभयो । २०५४ सालको स्थानीय निकाय निर्वाचनमा लाटिकोइली गाउँ विकास समितिको अध्यक्षमा नेकपा एमालेको तर्फबाट लोकप्रिय मतप्राप्तगरी विसीले विजय हाँसिल गर्नुभयो । लाटिकोइली गाविस सदरमुकाम वीरेन्द्रनगर नगरपालिकासंग जोडिएको भएपनि शिक्षा, स्वास्थ्य तथा विकासका हिसाबले पछाडी परेको थियो । त्यस्तो अवस्थालाई बदल्न उहाँले समुदायमा जनचेतना ल्याउनेदेखि आवश्यक स्रोत साधन र योजना ल्याउन तत्कालिन जिल्ला विकास समिति हुँदै नेपाल सरकारसम्म पहल कदमीमा तल्लिन भएर लाग्नुभयो ।
गाविस अध्यक्षको कार्यकाल सकिएको लामो समयसम्म स्थानीय निकायको निर्वाचन हुन सकेन् । स्थानीय निकायमा झण्डै दुई दशकसम्म जनप्रतिनिधिविहीन अवस्थामा विसीले सधैँ पूर्व जनप्रतिनिधिका हिसाबले जनताको कामलाई प्राथमिकता दिएर दुख सुखमा सहभागी हुनुभयो । जनप्रतिनिधिको कार्यकाल सकिएपछि विसी विभिन्न सामाजिक संघ संस्था, विद्यालय व्यवस्थापन समितिको अध्यक्ष, गाउँ शिक्षा समिति अध्यक्ष, सामुदायिक वन, काँक्रेविहार संरक्षण क्षेत्र लगायतमा नेतृत्वदायी भूमिकामा आवद्ध रहेर समाज सेवालाई निरन्तरता दिनुभयो । सुर्खेतमा सहकारी अभियानमा पनि विसीको उत्तिकै योगदान छ । विगत १५ बर्षदेखि सहकारी अभियानमा सक्रिय रुपमा लाग्नुभएका विसीले एक दशक बढी जिल्ला सहकारी संघको नेतृत्व गरिसक्नुभएको छ ।

समाज सेवासंगै पार्टी राजनीतिलाई पनि संगसंगै अघि बढाउनुभएका विसी २०५६ सालदेखि जिल्ला कमिटी सुर्खेतमा हुनुहुन्छ । उहाँले उपाध्यक्ष हुँदै हाल जिल्ला पार्टी अध्यक्षका रुपमा नेकपा एमालेको नेतृत्व गरिरहनुभएको छ । विसीलाई नेकपा एमालेले २०७९ मंसिर ४ गते हुने निर्वाचनमा सुर्खेत निर्वाचन क्षेत्र नं. २ मा प्रतिनिधिसभाको उम्मेदवार बनाएको छ । मिजासिलो स्वभाव, समाजसेवामा तल्लिन, पार्टी तथा सहकारी र विभिन्न संघ–संस्थामा तल्लो तहदेखि जिल्लास्तरमा सफल नेतृत्वकर्ताको छवि बनाउनुभएका विसी अध्ययनशील, भिजनरी नेताका रुपमा परिचित हुनुहुन्छ । इमान्दारिता, पारदर्शीता र निश्पक्षताको प्रायःका रुपमा जनतामाझ स्थापित उहाँले सुर्खेती जनताको प्रिय नेताको पहिचान बनाउनु भएको छ ।
प्रकाशित मिति: ३० कार्तिक २०७९, बुधबार २१:४४