बुद्ध एयरको एटिआर ७२ विमान सुर्खेत विमानस्थलमा सफलतापूर्वक अवतरण गरेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणको सहयोग तथा सहकार्यमा आज विमानको परीक्षण उडान गरेको हो।
बुद्ध एयरले एटिआर ४२ जहाजबाट सुर्खेत–काठमाडौं नियमित उडान भर्दै आईरहेको छ। परीक्षण उडान अनुकूल रहेको अवस्थामा २०२३ जनवरीदेखि सुर्खेत–दैलेख दैनिक दुई उडान संचालन गर्ने योजना रहेको बुद्ध एयरले जनाएको छ।
यसको भाडादर भने जम्मा ७ हजार ५ सय रहने बुद्ध एअरले प्रेश विज्ञप्ती मार्फत जानकारी दिएको छ ।
बुद्ध एयरका अनुसार उक्त एटिआर ७२ विमानमार्फत उडान संचालन गर्दा यात्रुहरुलाई पत्यक्ष लाभ पुग्ने महसुस गरी न्यूनतम भाडा दर सात हजार पाँच सय हुने छ। साथै, उक्त प्रायोजनको लागि बुद्ध एयरले डिसेम्बर २०२२ भित्र थप दुई वटा एटिआर ७२ जहाज ल्याउन लागेको विज्ञप्तीमार्फत जानकारी दिएको छ।यसअघि श्रीएयर लाईन्सले पनि एटिआर ७२ विमानको परीक्षण उडान गरेको थियो। परीक्षण उडानमा अनुकूल रहेको निश्कर्ष निकालेपनि श्रीएयर लाईन्सले उडान नियमित गर्न सकेको छैन।
सुरुमा १८ सिटबाट सुर्खेत उडान सुरु गरे पश्चात बिगत ५ बर्ष देखि एटिआर ४२ (४७ सिट) जहाजबाट नियमित उडान संचालन गर्दै आएको छ।
यस्तै, एयरले सुर्खेत उडान गर्ने यात्रुहरुको माग अनुरुप सिट उपलब्धता न्यून रहेको तथ्यलाई आत्मसाथ गर्दै एटिआर ७२ मार्फत उडान संचालन आवश्यकता महसुस भएको बताएको छ।
लामो समयदेखी सुर्खेत विमानस्थलबाट १८ सिटेहुँदै ४७ सिटे बुद्धको जहाजले नियमित उडान भरीरहेको थियो । तर भाडादर महंगो भएकोले भाडादर घटाउनुपर्ने वा ७२ सिटे जहाज सञ्चालन गर्नुपर्ने स्थानियहरुले माग राख्दै आएका थिए ।
सुर्खेत विमास्थलबाट भाडादर मंहगो भएपछि सुर्खेत लगाएत कर्णालीका अधिकाँश नागरिक नेपालगञ्जबाट उडान भर्न बाध्य थिए । यसै विषयमा सुर्खेत उद्योग बाणीज्य संघले सुर्खेतमा ७२ सिटे विमानको उडान हुनुपर्ने वा भाडादर घटाउनुपर्ने विषयमा लामो समयदेखी कुरा उठाउँदै आएको थियो ।
प्रकाशित मिति: ३० कार्तिक २०७९, बुधबार १४:०२