सुर्खेत ।
जबजब नेपाली कांग्रेसले जित हात पार्छ तब तब मात्र सुर्खेती जनताले विकासको अनुभूति गर्न पाउँछन् । भन्ने कुराको उदाहरण हो, उपत्यकका चक्रपथको रेखाङ्कन, दशरथपुर–नेटा–दह सडकको रेखाङ्कन, रातानाङ्ग्ला–धरमपोखरा–मटेला–दह सडकको रेखाङ्कन, झुप्रा बृहत खानेपानी (हालःको सुर्खेत उपत्यका खानेपानी आयोजना निर्माण, मध्यपश्चिम विश्वविद्यालयको स्थापना र सञ्चालनका साथै तत्कालीन क्षेत्रीय अस्पताल (हालको प्रदेश अस्पताल) स्थापना र सञ्चालन । जुन काम नेपाली कांग्रेसले २०५६ सालमा विजय हाँसील गरेपछि भएका उपलब्धीका उदाहरण हुन् । जसको नेतृत्व सांसद हृदयराम थानीले गर्नु भएको थियो ।
त्यमित मात्र होइन, वीरेन्द्रनगरको फोरलेन सडक, काँक्रेविहारको पुनःनिर्माण, हटलाईन सडक निर्माण, मैनतडाको जहरे, तातापानीको जामु, कुइने र घाटगाउँमा पक्की पुल निर्माणको काम पनि नेपाली कांग्रेसकै नेतृत्वमा भएको सरकारका पालामा भएका हुन् ।
नेपाली कांग्रेसको नेतृत्वमा भएका विकासका ती पूर्वाधारलाई पुरा गर्ने र नयाँ विकास योजनाको शुरुवात गर्ने काम पनि २०७० सालको निर्वाचनमा कांग्रेसले विजय हाँसिल गरेपछि भएका हुन् ।
कांग्रेसकै नेतृत्वमा बनेको संविधान पछि अहिले मुलुक दोस्रो पटक आम निर्वाचनको अभियानमा जुटेको छ । जुन अभियानमा सुर्खेत क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसको तर्फबाट हृदयराम थानी चुनावी मैदानमा हुनुहुन्छ ।
यो पटक भने नेपाली कांग्रेस सहित वाम–लोकतान्त्रिक गठबन्धन बनेर संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि अभिमत लिन जनताकाबीचमा आएको छ । सुशासन, विकास, समृद्धि र समानताकासाथै सुर्खेत उपत्यका खानेपानी समस्याको समाधान, वीरेन्द्रनगर चक्रपथको निर्माण, वीरेन्द्रनगरको फोहोर व्यवस्थापन, १३२ केभिए विद्युत प्रसारण लाइन निर्माण नेपाली कांग्रेसका उम्मेदवार हृदयराम थानीका अबका एजेण्डा हुन् ।
त्यसकासाथै कोहलपुर–सुर्खेत सडक स्तरोन्नति, वीरेन्द्रनगरलाई उपमहानगरपालिका बनाउने, सुर्खेत विमानस्थलको उपयुक्त निकास खोज्ने, कर्णाली प्रदेशका जिल्लामा हुने हवाई उडान सुर्खेत विमानस्थलबाटै गर्न व्यवस्था गर्ने, सुर्खेत उपत्यकाको डुवान समस्याको समाधान गर्न ढल व्यवस्थापन सहितको परियोजना सञ्चालन गर्ने सुर्खेत क्षेत्र नम्बर २ प्रतिनिधि सभाका उम्मेदवार थानीको प्राथमिकताका एजेण्डा हुन् ।
बड्डीचौर–गुटु–बेनिघाट सडक स्तरोन्नति गर्ने, फलाँटे–तेलपानी भुरीगाउँ सडक निर्माण गर्ने, कर्णाली चिसापानी–घाटगाउँ–गुटु–जंगलाघाट सडक निर्माण गर्ने, पश्चिमका सबै पालिकामा विद्युतीकरण गर्ने, चौकुने गुटु र लखरपाटा सिमेन्ट उद्योग स्थापना गरी पश्चिम सुर्खेतलाई विकसित क्षेत्रको रुपमा नयाँ परिचय दिने उम्मेदवार थानीको अभियान छ ।
कर्णाली प्रदेश राजधानी सुर्खेतलाई केन्द्र बनाई धार्मिक तथा पर्यटकीय सर्किट सञ्जाल बनाउने उम्मेदवार थानीको योजना सुर्खेत र कर्णाली प्रदेशका लागि मात्र नभई समग्र धार्मिक तथा पर्यटकीय क्षेत्रको विकासको कोषे ढुङ्गा सावित हुन सक्छ । प्रविधिको तिव्र विकाससँगै प्रयोगमा आइरहेको सञ्चार प्रविधिलाई समयानुकुल बनाउन संरचनाहरुको विस्तार गर्ने लगायतका संकल्पहरु रहेका छन् ।
प्रकाशित मिति: २४ कार्तिक २०७९, बिहीबार १७:४६