सुर्खेत, सुर्खेत क्षेत्र नं. २ (ख) का प्रदेशसभा सदस्य उम्मेदवार मोहनसिंह बडुवालले प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । नेकपा एकीकृत समाजवादी सुर्खेतका अध्यक्षसमेत रहेका बडुवालले पश्चिम सुर्खेत समृद्धिको स्पष्ट मार्गचित्र सहितको प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् ।
झण्डै १२ पृष्ठ लामो प्रतिबद्धता पत्रमा बडुवालले टोल-टोलका आयोजनाहरु समेटेका छन् । जनजिविकासँग जोडिएका साना तर महत्वपूर्ण आयोजनादेखि एशियाकै ठूलो सिमेन्ट खानी चौकुने सिमेन्ट उद्योगसम्म आयोजनाहरु प्रतिबद्धता पत्रमा समावेश गरेका छन् ।
-
बड्डीचौरमा नमुना शहर, बाबियाचौरमा स्मार्ट सिटी र चौकुनेमा एकीकृत नमुना सहर
-
साल्कोट अस्पताललाई ५० शैयाको क्षमतामा स्तरोन्नती , चौकुने र बराहतालमा १५ शैयाको पालिका स्तरीय विशेषज्ञ अस्पताल,
-
दुई बर्षभित्र तीनवटै पालिकामा विद्युतीकरण, अग्ला डाँडाहरुमा हावाबाट बिजुली उत्पादन
जसमा पनि सडक, विद्युतीकरण, शिक्षा र स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकताका साथ समेटेका छन् । उनले शहरीकरणको नीति अनुसार पश्चिम सुर्खेतका तीन वटा शहरलाई व्यवस्थित विकास गर्ने प्रतिबद्धता जनाएका छन् । जसअनुसार बड्डीचौरमा नमुना शहर, बाबियाचौरमा स्मार्ट सिटी र चौकुनेमा एकीकृत नमुना सहर निर्माण गर्ने प्रतिबद्धता पत्रमा उल्लेख गरेका छन् ।
त्यस्तै साल्कोट अस्पताललाई ५० शैयाको क्षमतामा स्तरोन्नती गर्ने, चौकुने र बराहताल गाउँपालिकामा १५ शैयाको पालिका स्तरीय विशेषज्ञ अस्पताल, विद्यापुरको आयुर्वेद औषधालय र आँखा इकाइ केन्द्रलाई स्तरोन्नती, हरेका वडाका स्वास्थ केन्द्रमा सर्वसुलभ र गुणस्तरीय सेवा, एक वडा एक एम्बुलेन्स, प्रत्येक वडाका स्वास्थ्य केन्द्रहरुमा सुरक्षित प्रसुति सेवाको परिकल्पना गरेका छन् ।
-
विद्यापुर जनता बहुमुखी क्याम्पसलाई आवासिय क्याम्पसको रुपमा स्तरोन्नती गर्ने, चौकुनेमा वन तथा कृषि विज्ञान क्याम्पस, सालकोटमा पशु विज्ञान क्याम्पस, बराहतालमा कृषि क्याम्पस स्थापना र एक पालिका एक आवासिय विद्यालय
-
चौकुने, बराहताल र पञ्चपुरी नगरपालिकामा एकरएक वटा शितभण्डार
-
हरेक पालिकामा जडिबुटी सङ्कलन तथा प्रसोधन केन्द्र र टोलटोलमा सहकारी
त्यसैगरी विद्यापुर जनता बहुमुखी क्याम्पसलाई आवासिय क्याम्पसको रुपमा स्तरोन्नती गर्ने, चौकुनेमा वन तथा कृषि विज्ञान क्याम्पस, सालकोटमा पशु विज्ञान क्याम्पस र बराहतालमा कृषि क्याम्पस स्थापना र एक पालिका एक आवासिय विद्यालय योजना जस्ता महत्वपूर्ण योजनाहरु समावेश गरेका छन् ।
त्यस्तै तीन वटै पालिकाकाहरुमा दुई बर्षभित्र विद्युतीकरण गर्ने, विद्युतको राष्ट्रिय प्रसारण लाइन जोड्नको लागि जिल्ला सदरमुकाम वीरेन्द्रनगर र कैलाली जिल्लाबाटसमेत प्रशारण लाईन बिस्तार गर्ने, ४३९ मेगावाट क्षमताको निर्माणाधिन बेतन कर्णाली जलविधुत आयोजना निर्धारित समयमा नै सम्पन्न गराउन पहल गर्ने, अग्ला डाँडाहरुमा हावाबाट बिजुली उत्पादन गर्ने प्रतिबद्धता पत्रमा उल्लेख गरेका छन् ।
बडुवालले हरेक गाउँ बस्तीलाई सडक सञ्जाल, तीन वटै पालिकामा चक्रपथ निर्माण, बड्डीचौर–गुटु–बेनीघाटहुँदै डोटी जोड्ने मदन भण्डारी राजमार्ग सडक खण्डको निर्माण, कर्णाली चिसापनीहँुदै जंगालाघाट मार्फत अछाम जिल्ला जोड्ने अन्तर प्रादेशिक सडक निर्माण, वीरेन्द्रनगरदेखि बराहताल गाउँपालिकाको तेलपानीहुँदै बर्दियाको भुरिगाँउ जोड्ने अन्तर प्रादेशिक सड़क निर्माण, बड्डीचौर–कल्याणकाध–भक्तडीहुँदै चौकुनेको धनराससम्मको पर्यटकीय सडक मार्ग निर्माण, हरेकवडा केन्द्रदेखि पालिका मुकाम बाह्रै महिना यातायात सञ्चालन हुनेगरी सडक निर्माण, घाटगाँउ–गुटु कोइरालवास–कुल्लीमारा सडक स्तरोन्नती, घाटगाँउ–कुमाला–बिजौरा–रेक्वा कुल्लीमारा सडक, कुमाला तोस्रा मायाताल–रेक्चा सडकखण्ड निर्माण, हुर्के–तरङ्गा–कुटा चेपाङहुदै जामुसम्म जोड्ने सडक निर्माण, बराहताल गाउँपालिकाको मसिना चेपाङखण्ड बाह्रै महिना यातायात सञ्चालन हुने गरी स्तरोन्नती, गिरीघाट–रानीघाट–डोप्का–पारमा तरङ्गा सडक स्तरोन्नती, जामुपुलदेखि विद्यापुर, जाजुरादह हुँदै दोबाटा जोड्ने सडक स्तरोन्नती, बराइचे–चनाली–भक्तडी सडकखण्ड स्तरोन्नती लगायतका आयोजनाहरु सञ्चालन गर्ने उल्लेख गरेका छन् ।
त्यस्तै बराहताल २ रानीघाट र तरङ्गामा भेरी नदीमा पक्की पुल, चौकुने गाउँपालिका र कैलालीको मोहन्याल गाँउपालिका जोड्ने कर्णाली नदीमा पक्कीपुल, चौकुने डोटी जोड्ने गरी अन्तरप्रादेशिक पक्की पुल, कर्णाली र सेती नदी दोभान र भेरी र कर्णाली नदी दोभान स्थलहरुमा (Y) आकारको पुल निर्माण जस्ता आयोजनाहरु प्रतिबद्धता पत्रमा समावेश गरेका छन् ।
बडुवालले कृषिलाई व्यवसायिक र आधुनिकीकरण गर्ने उद्घोष समेत गरेका छन् । जसका लागि खेतीयोग्य जमिनहरुमा भेरी नदी, कर्णाली नदी र विभिन्न खोलानालामा लिफ्ट प्रविधि मार्फत सिंचाई पु¥याउने, चौकुने, बराहताल र पञ्चपुरी नगरपालिकामा एक/एक वटा शित भण्डार र एक वडा एक कृषि र भेटेनरी प्राविधिकको व्यवस्था गर्ने जस्ता कार्यक्रमहरु समेटेका छन् ।
त्यस्तै पर्यटकीय क्षेत्रको विकासका लागि गुफादेखि तालतलैयासम्मका योजनाहरु प्रतिबद्धता पत्रमा समावेश गरेका छन् । भेरी कर्णाली र सेती कणाली दोभान क्षेत्रलाई धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने, राजी संग्राहलयको स्तरोन्नती गर्ने, भेरी तथा कर्णाली नदिमा सञ्चालित चाफ्टीङ व्यवसायलाई प्रोत्साहन गर्न विशेष योजना ल्याउने प्रतिबद्धतापत्रमा उल्लेख छ ।
त्यस्तै चौकुने सिमेन्ट र लखरपाटा सिमेन्ट उद्योगलाई तत्काल सञ्चालन गराउन पहल गर्ने, हरेक पालिकामा जडिबुटी सङ्कलन तथा प्रसोधन केन्द्र स्थापना, टोलटोलमा सहकारी लगायतका योजनाहरु छन् ।
त्यस्तै ०६६, २०७१ र २०७९ लगायत अन्य समयमा बाढीपहिरोबाट विस्थापित नागरिकको पुर्नवास, हरेक टोल तथा बस्तीहरुमा २४ सै घण्टा फोरजि सेवा सहितको टेलिफोन तथा इन्टरनेट सेवा, एक घर एक धारा लगायतका योजनाहरु प्रतिबद्धतापत्रमा उल्लेख गरेका छन् ।
प्रतिबद्धता पत्रको पूर्णपाठ
आदरणीय आमाबुवा, दाजुभाई तथा दिदीवहिनीहरू, हाम्रो सामु यतिबेला नेपालको संविधान कार्यान्वयनको सम्बन्धमा दोस्रो पटक प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन हुन गईरहेको यस महत्वपूर्ण अवसरमा हाम्रा अग्रजहरुको बलिदानीपूर्ण संघर्षबाट प्राप्त नेपालको संविधान कार्यान्वयनका लागि लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्दै विकास र समृद्धी सँगसँगै समुन्नत समाज निर्माण गर्नु तपाई हाम्रो प्रमुख साझा कर्तव्य हो । कर्णाली प्रदेशको राजधानीको जिल्लाबासी भएता पनि सदरमुकाम वीरेन्द्रनगरको बाङ्गेसिमलदेखि पश्चिम क्षेत्रका नागरिकहरु विकासले विकट र प्रविधिले पछौटेपनको सामाना गरिरहनुपरेको छ । यो तपाई हाम्रो यथार्थ दुर्दशा हो । सुर्खेत जिल्लाको सबैभन्दा पश्चिमको सिमाना लगाममा जन्मिएर विगत २५ वर्षदेखि निरन्तर रुपमा सामाजिक र राजनीतिक क्रियाकलाप मार्फत यसै क्षेत्रमा यहाँहरुको माझमा क्रियाशील रहदै आएको छु ।
वीरेन्द्रनगरको बाङ्गेसिमलदेखि पश्चिम क्षेत्र विकासका हरेक सुचकबाट पछाडी परेको क्षेत्र हो । यस क्षेत्रको विकासको लागि आवश्यक निकास निकाल्दै दिगो र सन्तुलित विकासमार्फत यसक्षेत्रमा सडक, विद्युत, सञ्चार, शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि तथा सिँचाई, उद्योग, वन तथा भूमि व्यवस्थापन, सुशासन र पर्यटन विकास मार्फत रोजगारी सिर्जना गर्दै यस क्षेत्रका सबै नागरिकहरुलाई आत्मनिर्भर र स्वाभिमान बनाउनको लागि यही मंसिर ४ गते हुन गइरहेको प्रदेशसभा २ (ख) सुर्खेत निर्वाचन क्षेत्रको प्रदेशसभा सदस्य पदमा आफ्नो उम्मेदवारी घोषणा गरेको छु । यही मंसिर ४ गतेको निर्वाचनमा यहाँहरुले कलम चिन्हमा अमूल्य मतदान गरी विजयी गराई संसदीय भूमिका मार्फत विकासको निकास निकाल्ने जिम्मेवारी दिनुहुन म सम्पूर्णमा हार्दिक अपिल गर्दछु । पश्चिम सुर्खेतको सडक, विद्युत, सञ्चार, शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि तथा सिँचाई, उद्योग, पर्यटन विकास, सहरीकरण, सुसंस्कृत राजनीति र सुशासन जस्ता समग्र क्षेत्रको एकीकृत रुपमा दिगो र सन्तुलित विकासको लागि निम्न अनुसारको योजना कार्यान्वयन गर्ने प्रतिबद्धता जारी गरेको छु ।
१. आर्थिक विकास
१.१ कृषि तथा पशुपन्छी र सिँचाई : यस क्षेत्रको वर्षौदेखि रहेको परम्परागत निर्वाहमुखी कृषि प्रणालीलाई आधुनिकीकरण गर्दै पर्याप्त मात्रामा सिचाई, मल, बिउबिजन, प्रविधि तथा यन्त्रिकरण मार्फत व्यावसायिक कृषि र पशुपालनलाई प्रर्वद्धन गर्दै यस क्षेत्रको कृषि उत्पादनलाई पर्याप्त मात्रमा बजारीकरण गरिनेछ । जसको लागि निम्न कार्यहरु गरिनेछ ।
१. परम्परागत निर्वाहमुखी खेती प्रणाली अन्त्य गरी आधुनिक वैज्ञानिक र व्यावसायिक कृषि प्रणाली लागू गरिनेछ ।
२. व्यावसायिक कृषि पेशालाई प्रवद्र्धन गर्नको लागि पर्याप्त मात्रामा सिचाई, मल, बिउबिजन, प्रविधि तथा यान्त्रिकीकरण मार्फत व्यावसायिक कृषि पेसालाई मुख्य आयस्रोत तथा रोजगारीको आधार बनाइने छ ।
३. यस क्षेत्रका बराहताल, चौकुने गाउँपालिका र पञ्चपुरी नगरपालिकामा भोगचलनमा आएका जग्गाहरुको लालपुर्जा वितरण गरी भूमिहीन सुकुमबासी, दलित किसानहरुलाई भूमिको मालिक बनाइने छ ।
४. तीनवटै पालिकाहरुमा उत्पादन हुने कृषि उपजको प्रचुर सम्भावनाको क्षेत्र पहिचान गरी सम्भावना अनुसार कृषि पकेट क्षेत्र घोषणा गरिनेछ ।
५. सिँचाईलाई प्रभावकारी बनाउन साना, मझौला र ठूला सिँचाइ कुलाहरुलाई क्रमश पक्की र व्यवस्थित बनाउदै बाह्रै महिना सिँचाई हुने प्रबन्ध मिलाइने छ ।
६. अग्लो स्थानमा रहेको खेतीयोग्य जमिनहरुमा भेरी नदी, कर्णाली नदी र विभिन्न खोलानालामा लिफ्ट प्रविधि मार्फत सिंचाई आयोजना सम्पन्न गरिनेछ ।
७. व्यावसायिक रुपमा पशुपंक्षी पालनलाई प्रवद्धन गर्नको लागि पर्याप्त प्रविधि, सिप तथा तालिम, अनुदान र बिमामार्फत किसानहरुलाई पेशामा उत्प्रेरित गरिनेछ ।
८. तरकारी, फलफुल, खाद्यान्न तथा दुग्धजन्य पदार्थ, माछामासु, पशुपंक्षीहरुको उत्पादनलाई कृषि सहकारी मार्फत बजारीकरणमा सहयोग गरिनेछ ।.
९. किसानले उत्पादन गरेका वस्तु खेर जान नदिन ३ वटै पालिकहरुमा एक एक वटा शीतभण्डार निर्माण गरिनेछ ।
१०. स्थानीय उत्पादनको दुवानी गर्नको लागि कृषि सडकहरु बिस्तार गरिनेछ ।
११. एक वडा एक कृषि र भेटेनरी प्राविधिकको व्यवस्था गरिनेछ ।
१.२ पर्यटन विकास
यस क्षेत्रका ३ वटै पलिकाहरुमा रहेका सम्पूर्ण नदी, तालतलैया, पोखरी, सिमसारक्षेत्र, गुफाहरु र मठ मन्दिरहरुको संरक्षण, प्रवद्धन र प्रचारप्रसार मार्फत आन्तरिक तथा वाह्य पर्यटनहरु भित्राउने कार्य गरिनेछ । जसको लागि ः
१. चौकुने गाउँपालिकामा रहेको भेरी कर्णाली र सेती कणाली दोभान क्षेत्रलाई धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा विकास गरिनेछ ।
२. स्थानीय स्तरमा पर्यटन प्रवद्र्धनका लागि होटल, रेष्टुरेन्ट र पहिचान सहितको नमूना होमस्टेहरु खोल्न प्रोत्साहन गरिनेछ ।
३. पञ्चपुरी नगरपालिका क्षेत्रमा रहेको चमेरे गुफा, गुप्तीताल, पाँचतले गुफा, जाजुरादह, लिम्बु सिमसार क्षेत्र जस्ता प्राकृतिक पर्यटकीय क्षेत्रको संरक्षण र स्तरोन्नती गरी व्यावसायिक पर्यटनलाई जोड दिइनेछ ।
४. पञ्चपुरी नगरपालिकामा रहेका प्रसिद्ध धार्मिक स्थालहरु पञ्चपुरी, मालिका, शिव मन्दिर, बाबियाचौरको कोटीहोम, सालकोटको शिवधाम, चर्चहरु र बौद्ध विहारहरुलाई संरक्षण तथा प्रबद्र्धन मार्फत धार्मिक पर्यटन हवको रुपमा विकसित गरिनेछ ।
५. बराहताल गाउँपालिकामा रहेको बराहताललाई प्राकृतिकरुपमा नै संरक्षण र प्रबद्र्धन मार्फत पर्यापर्यटनलाई जोड दिइने छ ।
६. लोपोन्मुख राजी जातिको संस्कृति संरक्षण गर्न राजी संग्राहलयको स्तरोन्नती गरी प्रविधिमैत्री बनाइनेछ ।
७. भेरी तथा कर्णाली नदिमा सञ्चालित चाफ्टीङ व्यवसायलाई प्रोत्साहन गर्न विशेष योजना ल्याइनेछ भने प्यारागलाइडिङको लागि आवश्यक सम्भाव्यता अध्ययन मार्फत सहासिक खेल पर्यटनलाई प्रोत्साहन गरिनेछ ।
८. स्थानीय स्तरमा पर्यटन प्रवद्धनका लागि पदयात्रा मार्ग, पर्यटक गाइड, पर्यटन सूचना केन्द्रको विकासका लागि सम्बन्धित संस्था र निजी क्षेत्रसँग सहकार्य गरिनेछ ।
१.३ उद्योग, व्यापार, व्यवसाय र निजी क्षेत्र
१. स्थानीय स्तरमा रोजगारी सिर्जनाको आवश्यक पूर्वाधार तयार पारी विदेशिएका युवाहरुलाई स्थानीय उत्पादन र रोजगारी सँग जोडिने छ ।
२. यस क्षेत्रमा रहेका स्थानीय कृषि, वन तथा जडिबुटीजन्य कच्चा पदार्थहरुको उपयोग मार्फत साना तथा मौला उद्योगहरु स्थापना गर्न र सञ्चालनमा भएका उद्योगहरुको संरक्षण तथा स्तरोन्नती गराइने छ ।
३. यस निर्वाचन क्षेत्रका ३ वटै पालिकाहरुमा निर्माणाधिन औद्योगिकग्रामहरुलाई यथासक्य सम्पन्न गरी सञ्चालनमा ल्याइने छ ।
४. बर्षोदेखि लाइसेन्स होल्ड गरेर राखिएको दक्षिण एशियाकै ठूलो चौकुने सिमेन्ट खानीको लाइसेन्स खारेज गरी नयाँ ठेक्का प्रक्रियामार्फत सिमेन्ट उद्योग सञ्चालन गरी रोजगारी सिर्जना गर्न पहल गरिनेछ ।
५. स्थानीय सिप तथा कच्चापदार्थको प्रयोग मार्फत अनुदानमा आधारित कुटिर उद्योगहरु सञ्चालन गरी स्थानीयहरुलाई स्वरोजगार र आत्मनिर्भर बनाउनको लागि लक्षित वर्ग कार्यक्रम सञ्चालन गरिनेछ ।
६. बराहताल गाउँपालिका ७ मा स्थापना हुन गईरहेको लखरपाटा सिमेन्ट उद्योगलाई तत्काल सञ्चालन गराई पश्चिम सुर्खेतका नागरिकहरुलाई रोजगारीको अग्राधिकार प्रदान तथा प्रभावित बासिन्दालाई आवश्यक मुआब्जा वितरणमा पहल गरिनेछ ।
७. हरेक पालिकामा पालिका स्तरीय जडिबुटी सङ्कलन तथा प्रसोधन केन्द्र स्थापना गरी खेर गईरहेको जडिबुटीमार्फत आय आर्जनमा स्थानीयलाई लगाइने छ ।
८. सरकार र निजी क्षेत्रलाई सँगसँगै विकास साझेदारको रुपमा अगाडि बढाउनका लागि आवश्यक नीति निर्माण गरिनेछ ।
१.४ सहकारी
१. टोल टोलमा सहकारी स्थापना गरी छरिएर रहेको पूर्जीलाई एकीकृत गरी स्थानीय स्तरमा पूर्जी निर्माण मार्फत लगानीलाई प्रोत्साहन गरिनेछ ।
२. सहकारी मार्फत साना तथा मझौला उद्योगहरु स्थापना गरी उत्पादन र रोजगारीलाई सगसगै बढवा दिइनेछ ।
३. लघुवित्तिय संस्थाहरुलाई व्यवस्थित गर्दै स्थानीय पुँजी स्थानीय स्तरकै उत्पादनशील क्षेत्रमा लगानी गर्ने वातारण तयार गरिनेछ ।
२. भौतिक पूर्वाधार तथा शहरी विकास
२.१ सडक, पुल तथा यातायात
१. बड्डीचौर–गुटु–बेनीघाटहुँदै डोटी जोड्ने मदन भण्डारी राजमार्ग सडक खण्डको निर्माण कार्य पूर्णरुपमा सम्पन्न गर्नको लागि सबैक्षेत्रसँग हातेमालो गर्दै पक्की सडक निर्माण कार्य सम्पन्न गरिनेछ ।
२. कर्णाली चिसापनी हँुदै जंगालाघाट मार्फत अछाम जिल्ला जोड्ने अन्तर प्रादेशिक सडक निर्माण गरी यातायातलाई सहज बनाइने छ ।
३. वीरेन्द्रनगरदेखि बराहताल गाउँपालिकाको तेलपानीहुँदै बर्दियाको भुरिगाँउ जोड्ने अन्तर प्रादेशिक सड़क निर्माण गर्न सरोकारवाला निकायहरुसंग आवश्यक समन्वय गरी निर्माण कार्य सम्पन्न गरिनेछ ।
४. बड्डीचौर–कल्याणकाध–भक्तडी हुँदै चौकुनेको धनराससम्मको पर्यटकीय सडक मार्ग निर्माण गरी बाहै महिना यातायात सञ्चालन गरिनेछ ।
५. हरेक वडा केन्द्रदेखि पालिका मुकाम जोड्ने सडक बाह्रै महिना यातायात सञ्चालन हुनेगरी निर्माण गरिनेछ ।
६. घाटगाँउ–गुटु कोइरालवास–कुल्लीमारा सडक स्तरोन्नती गरिनेछ ।
७. घाटगाँउ–कुमाला–बिजौरा–रेक्वा कुल्लीमारा सडक, कुमाला तोस्रा मायाताल–रेक्चा सडकखण्ड निर्माण एवम् हुर्के–तरङ्गा–कुटा चेपाङहुदै जामुसम्म जोड्ने सडक निर्माण गरिनेछ ।
८. बराहताल गाउँपालिकाको मसिना चेपाङखण्ड बाह्रै महिना यातातयात सञ्चालन हुने गरी स्तरोन्नती गरिनेछ ।
९. तीनवटै स्थानीय तहहरुमा चक्रपथ निर्माणका लागि सम्भाव्यता अध्ययन गरी कार्य प्रारम्भ गरिनेछ ।
१०. गिरीघाट–रानीघाट–डोप्का–पारमा तरङ्गा सडक स्तरोन्नती एवम् जामुपुलदेखि विद्यापुर, जाजुरादह हुँदै दोबाटा जोड्ने सडक स्तरोन्नती गरी सार्वजनिक यातायात सुभारम्भ गरिनेछ ।
११. बराइचे–चनाली–भक्तडी सडकखण्ड स्तरोन्नती तथा विस्तार गरिनेछ ।
१२. तीन वटै पालिकाका हरेक गाउँ बस्तीमा सडक सञ्जाल विस्तार गरिनेछ ।
१३. हरेक सडक निर्माण गर्दा प्राविधिक तवरले उपयुक्त हुनेगरी मात्र सडक निर्माण कार्य प्रारम्भ गरिनेछ । हरेक सडक निर्माणमा नाला निर्माण पूर्वशर्त रहने गरी निती निर्माण गर्न पहल गरिनेछ ।
१४. बराहताल २ रानीघाट र तरङ्गामा भेरी नदीमा पक्की पुल निर्माण गरिनेछ ।
१५. चौकुने गाउँपालिका र कैलालीको मोहन्याल गाँउपालिका जोड्ने कर्णाली नदीमा पक्कीपुल र चौकुने डोटी जोड्ने गरी अन्तरप्रादेशिक पक्की पुल निर्माण गरिनेछ ।
१६. कर्णाली र सेती नदी दोभान र भेरी र कर्णाली नदी दोभान स्थलहरुमा (Y) आकारको पुल निर्माणको लागि आवश्यक पहल गरिनुका साथै स्थानीय स्तरमा आवश्यकता अनुसार म्एच् गरी झोलुङ्गे पुलहरु निर्माण गरिनेछ ।
२.२ विद्युत् तथा वैकल्पिक ऊर्जाः
१. यस क्षेत्रका तीन वटै पालिकाकाहरुमा विद्युतीकरणको लागि विद्युतको राष्ट्रिय प्रसारण लाइन जोड्नको लागि जिल्ला सदरमुकाम वीरेन्द्रनगर र कैलाली जिल्लाबाट समेत प्रशारण लाईन बिस्तार गरी २ वर्ष भित्र हरेक घरधुरीमा विद्युतीकरण गरिनेछ ।
२. स्थानीय स्तरमा सञ्चालित लघु जलविधुत आयोजनाहरुलाई साना उद्योग तथा व्यवसायमा जोडी आयमूलक काममा लाग्न प्रोत्साहन गरिनेछ ।
३. ४३९ मेगावाट क्षमताको निर्माणाधिन बेतन कर्णाली जलविधुत आयोजना निर्धारित समयमा नै सम्पन्न गराउन पहल गरी परियोजनाबाट प्रभावित बासिन्दालाई उचित मुआब्जा र शेयर तथा रोजगारीमा अग्राधिकारका लागि पहल गरिनेछ ।
४. स्थानीय लघु जलविद्युत आयोजना निर्माण र अग्ला डाँडाहरुमा हावाबाट बिजुली उत्पादन, सोलार प्रविधि जडान जस्ता वैकल्पिक उर्जाको लागि आवश्यक मात्रामा सम्भाव्यता अध्ययन गरि कार्य प्रारम्भ गरिनेछ ।
२.३ सूचना, सञ्चार तथा प्रविधि
१. तीन वटै पालिकाका हरेक टोल तथा बस्तीहरुमा २४ सै घण्टा फोरजि सेवा सहितको टेलिफोन तथा इन्टरनेट सेवा सञ्चालन हुने गरी हालका सञ्चारका पूर्वाधरलाई स्तरोन्नती र सुविधा नपुगेका स्थानमा नयाँ टावरहरु स्थापना गरिनेछ ।
२. डिजिटल बैंकिङ सेवा प्रणाली अवलम्बन गर्नको लागि आवश्यक पूर्वाधारको विकास गरिनेछ ।
२.४ भु–उपयोग तथा एकीकृत बस्ती व्यवस्थापन
१. कृषियोग्य जमिन आवासिय व्यावसायिक, औद्यौगिक, नदी तालतलैया र सिमसार क्षेत्र, धार्मिक तथा पुरातात्विक, वन क्षेत्र, सार्वजनिक उपभोग, खानी तथा खनिज क्षेत्र र अन्य क्षेत्रको लागि उपयुक्त जमिनको पहिचान मार्फत वर्गिकरण गरि सोहि अनुसार भूमिको उपभोग गर्नको लागि भु–उपयोग नियमावली २०७९ बमोजिम भु–उपयोग योजना लागु गर्न हरेक पालिकालाई क्रियाशील बनाइनेछ ।
२. वि.स २०६६, २०७१ र २०७९ लगायत अन्य समयमा प्राकृतिक प्रकोपबाट चौकुने गाउँपालिका, पञ्चपुरी नगरपालिका र बराहताल गाउँपालिकामा विस्थापित भई त्रिपाल मुनि बस्न बाध्य भएका नागरिकहरुको यथासक्य पुर्नवासको व्यवस्थापन गरिनेछ ।
३. यस क्षेत्रको बाढी पहिरोको उच्च जोखिममा रहेका बस्तीहरुको पहिचान गरी सुरक्षित स्थानमा स्थानान्तरण गरिनेछ ।
४. योजनाबद्ध तवरले ग्रामिण क्षेत्रमा नमुना ग्रामिण वस्ती तथा सहरी क्षेत्रमा भवन संहिता बमोजिम सुरक्षित आवास निर्माण गर्दे, बड्डीचौरमा नमुना शहर, बाबियाचौरमा स्मार्ट सिटी, चौकुनेमा एकीकृत नमुना सहर निर्माण गर्न व्यवस्थित शहरीकरणको नीति लिइनेछ ।
५. वर्षोदेखि सेतो पुर्जाको भरमा रहेको जग्गा र भोगचलनमा रहेका तर स्थायी पुर्जा नभएका जग्गाहरुको सन्दर्भमा तीन तहकै सरकार संगको आवश्यक समन्वय गरी भूमिहीन तथा सुकुमबासी समस्या हलगरी हरेक नागरिकलाई भूमिको मालिक बनाइनेछ ।
३. सामाजिक विकास तर्फ
शिक्षा, स्वास्थ्य, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण र साँस्कृतिक संरक्षणका सवालहरूलाई नेपालको संविधानमा मौलिक हक र राज्य निर्देशक सिद्धान्त, नीति तथा दायित्वमा उच्च महत्वका साथ समावेश छ । तर यस क्षेत्रका नागरिकहरु बर्षौदेखि सामाजिक न्यायका हिसावले सदैव राज्यको उपेक्षामा परिरहेका छन् । यस क्षेत्रका नागरिकहरुको लागि निम्न कार्यमार्फत सामाजिक न्यायको प्रत्याभुती गराइनेछ ।
३. १ स्वास्थ्य तर्फ
चिकित्सकीय सेवाको लागि जिल्ला सदरमुकाम तथा राजधानीका अस्पतालमा भर पर्नुपर्ने यस क्षेत्रका स्वास्थ्य संस्थामा सेवा, जनशक्ति र पूर्वाधारको कमी रहेको छ, त्यसैले सुलभ स्वास्थ्यसेवाको लागि ः
१. साल्कोट अस्पताललाई ५० शैया क्षमतामा स्तरोन्नती गरी विशेषज्ञ सहितको सेवा प्रवाह गर्नको लागि आवश्यक पूर्वाधार र प्रविधिको विकास गरिनेछ ।
२. चौकुने र बराहताल गाउँपालिकामा पालिका स्तरीय विशेषज्ञ सेवा सहितको १५ शैया क्षमताको सुविधा सम्पन्न अस्पातल निर्माण गरिनेछ ।
३. विद्यापुरमा रहेको आयुर्वेद औषधालय र आँखा इकाइ केन्द्रलाई स्तरोन्नती गरी आवश्यक पूर्वाधार र जनशक्तिको व्यवस्थापन गरिनेछ ।
४. हरेका वडाका स्वास्थ केन्द्रहमा स्वास्थ्य सेवालाई सर्वसुलभ र गुणस्तरीय बनाउन आवश्यक पूर्वाधार र जनशक्ति व्यवस्थान गरिनेछ । साथै भौगोलिक कठिनाई भएका वडाहरुमा थप स्वास्थ्य इकाइ स्थापना गरिनेछ ।
५. एक वडा एक एम्बुलेन्सको नीति तर्जुमा गरी कार्यान्वयन गर्नको लागि प्रदेश संसद मार्फत कानुन निर्माण गर्न पहल गरिनेछ ।
६. प्रत्येक वडामा रहेको स्वास्थ्य केन्द्रहरुमा सुरक्षित प्रसुति सेवा प्रवाहको लागि आवश्यक पूर्वाधार र जनशक्तिको उपलब्धता गराइनेछ ।
७. हरेक माध्यमिक तहका विद्यालयहरुका स्कुल नर्सको अनिवार्य व्यवस्था गर्दै किशोरी स्वास्थ्य सेवालाई प्रभावकारी बनाइनेछ ।
८. ग्रामिण क्षेत्रमा स्वास्थ्य बिमालाई प्रभावकारी बनाइनेछ । गरिब विभिन्न वर्गका नागरिकहरुलाई दीर्घरोग र प्राणघातक रोगको उपचारको लागि आवश्यक पहल गरिनेछ ।
३.२ शिक्षा, नवप्रबद्र्धन तथा सीप विकास,
समय सापेक्ष शिक्षामा हाम्रो अभियान सुसंस्कृत शिक्षित, सबल, सक्षम र सभ्य जनशक्ति उत्पादन, सामाजिक जनचेतना र दीगो रुपान्तरण पश्चिम सुर्खेतको सान’ भन्ने नाराका साथ,
१. यस क्षेत्रका सबै शिक्षण संस्थाहरुमा गुणस्तरीय, प्रविधिमैत्रि र व्यावसायिक शिक्षा प्रदान गर्न गर्नको लागि पूर्वाधार, दक्ष तथा तालिम प्राप्त जनशक्तिको व्यवस्थापन र प्रविधि मार्फत शिक्षण संस्थाहरुको स्तारोन्नती गरिनेछ ।
२. ५ वर्ष भित्र यस क्षेत्रका सबै विद्यालयहरुलाई टिनको छानो मुक्त बनाई भुकम्प प्रतिरोधि भवनहरु निर्माण गरिनेछ ।
३. उच्च शिक्षा अध्ययनको सदरमुकाम वीरेन्द्रनगर र अन्य जिल्लाहरु तथा संघिय राजधानीसम्म पुग्नुपर्ने बाध्यता अन्त्यको लागि विद्यापुर जनता बहुमुखी क्याम्पसलाई आवासिय क्याम्पसको रुपमा स्तरोन्नती गरी व्यावसायिक शिक्षामा जोड दिइने, चौकुनेमा वन तथा कृषि विज्ञान क्याम्पस, सालकोटमा पशु विज्ञान क्याम्पस र बराहतालमा कृषि क्याम्पस स्थापना गरिनेछ ।
४. यस क्षेत्रमा सञ्चालनमा रहेका माध्यमिक तहका विद्यालयहरुमा प्राविधिक विषयहरु थप गरी व्यावसायिक रुपमा उत्पादनसंग जोड्दै पढ्दै कमाउदै (Earning by Learning) अवधारणा सुभारम्भ गरिनेछ ।
५. आधारभुत तहदेखि माध्यमिक तहसम्मका विद्यालयहरुमा गरिब, दलित, जनजाती, द्धन्द पिडित, छात्र छात्राहरुका लागि विशेष छात्रवृत्तीको व्यवस्था गरिनेछ ।
६. हरेक विद्यालयहरुमा विषयगत शिक्षकको अनिवार्य व्यवस्था गर्न शिक्षक दरबन्दीहरु समायोजन तथा पुर्नवितरण गर्न आवश्यक नीति निर्माण गरिनेछ ।
७. स्थानीय तहहरुसंगको समन्वयमा पूर्वाधार सम्पन्न विद्यालयहरुमा अङ्ग्रेजी माध्यमबाट समेत पठन पाठन सुरु गरिनेछ । साथै एक पालिका एक आवासिय विद्यालय योजना सञ्चालन गरिनेछ ।
८. उत्कृष्ट कार्य सम्पादन गर्ने शिक्षकहरुलाई आवश्यक मापदण्ड पुरा गरी पुरस्कार तथा सम्मान गरिनेछ ।
९. नयाँ खोज, आविष्कार र अनुसन्धान कार्य प्रति आर्कषित पार्न कार्य प्रकृतिको आधारमा आवश्यक स्रोतको उपलब्धता गराई यस क्षेत्रको विकास र सम्बृद्धीमा उपभोग गरिनेछ ।
१०. यस क्षेत्रका जेहेन्दार गरिब विद्यार्थीहरुलाई एम.बी.बी.एस. डाक्टर अध्ययन गर्न पालिकाहरुसंगको समन्वयमा पूर्वसर्त सहित अध्यापनको लागि पठाइनेछ ।
११. हरेका विद्यालयहरुमा बालबालिका, अपाङ्ग र छात्रा मैत्री शौचालयको अनिवार्य व्यवस्था लागू गरिनेछ ।
१२. समय सापेक्ष शिक्षा अनुरुप प्रत्येक सामुदायिक विद्यालयमा क्ष्ऋत् ल्यावको व्यवस्था गरिनेछ ।
३.३ खानेपानी तथा सरसफाई
१. सबै घरधुरीमा सुरक्षित तथा स्वच्छ खानेपानी र सरसफाइको व्यवस्था मार्फत सफा, सुन्दर र सभ्य समाज निर्माण गरिनेछ ।
२. एक घर एक धारा अभियान अन्तरगत आगामी ५ वर्ष भित्र सबै नागरिकहरुमा खानेपानीको सुलभ आपूर्ति सुनिश्चित गरिनेछ ।
३. ठूला खानेपानी आयोजना स्थानीय, प्रदेश र संघीय सरकार विचको सहकार्यमा निर्माण गर्ने खानेपानी तथा सरसफाइ कार्ययोजना निर्माण गरी कार्यान्वयन गरिनेछ ।
४. खानेपानी मुहान लगायत पानीको स्रोत, नदी नाला, कुवा तथा पोखरीको संरक्षण तथा सरसफाइ सम्बन्धी कार्य गरिनेछ ।
५. हरेक मुख्य सार्वजनिक क्षेत्रमा शौचालयको अनिवार्य व्यवस्था गरिनेछ ।
६. खानेपानीका मुहानहरु नरहेका क्षेत्रहरुमा डिप बोरिङ्ग र लिफ्ट परियोजना मार्फत खानेपानी प्रत्येक घरधुरीमा पुयाईनेछ ।
३.४ महिला तथा बालबालिका
१. यस क्षेत्रका महिलाहरुलाई शैक्षिक, प्राविधिक र आर्थिकरुपले शशक्तिकरण गरी महिला अधिकारको रक्षा गरिनेछ ।
२. महिला उद्यमशीलतालाई प्राथिमिकीरकण गदै महिलाले नेतृत्व गरेका व्यवसाय तथा सहकारीहरुलाई सवलीकरण गरिनेछ ।
३. यस क्षेत्रका महिलाहरुलाई संविधानले तोकेबमोजिम शैक्षिक, सामाजिक, आर्थिक र राजनैतिक क्षेत्रको नेतृत्वदायी तहमा पुयाउन पहल गरिनेछ ।
४. भूमिमा महिलाको स्वामित्व अभिवृद्धि गर्दै कृषि व्यावसायिकरणमा प्रोत्साहन गरिनेछ ।
५. शिक्षा, स्वास्थ र खेलकुदमा बालबालिकाहरुलाई उच्च प्राथमिकतामा राखि बाल अधिकारको अनिवार्य रुपमा रक्षा गरिनेछ ।
३.५ दलित र जनजाती
१. यस क्षेत्रमा रहेको दलित तथा जनजातीहरुको संविधान बमोजिम पहिचानसहित उनीहरुको हक अधिकारको रक्षा गरिनेछ ।
२. दलित तथा जनजातीहरुका परम्परागत पेशा व्यवसायलाई प्रविधिमैत्रि बनाउँदै उनीहरुको पेशा व्यावसायमा सहुलियत प्रदान गरिनेछ ।
३.६ अपाङ्गता भएका नागरिकको सुरक्षा सम्बन्धमा ः
१. शारीरिक तथा मानसिक रुपले अपाङ्गता भएका हरेक नागरिकहरुलाई राज्यले प्रदान गर्ने सुविधामा सामेल गराई उनीहरुको जीवनको सुरक्षाको ग्यारेन्टी गरिनेछ ।
२. सशस्त्र द्धन्द र अन्य कारणले अपाङ्गता हुन पुगेका नागरिकहरुलाई जीवन निर्वाहको लागि विशेष योजना ल्याइनेछ ।
३. ७ युवा तथा खेलकुद
१. यस क्षेत्रमा युवा उद्यमशीलता र स्वरोजगारी, आत्मनिर्भरता अभिवृद्धि गर्नको लागि आवश्यक योजना ल्याइनेछ ।
२. यस क्षेत्रलाई खेलको माध्यमबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा परिचित गराउन खेल क्षेत्रको विकास अनिवार्य भएको हुँदा हरेक तीन वटै स्थानीय तहहरुमा १÷१ वटा सुविधा सम्पन्न रङ्गशाला निर्माण गरी सञ्चानमा ल्याइनेछ ।
३. खेलाडीहरुलाई आवश्यक तालिम, प्रशिक्षण, सहुलियत, खेल सामाग्री, जीवन निर्वाह सुविधाको प्रत्याभुति गराइनेछ ।
३.८ कला तथा संस्कृती
यस क्षेत्रमा रहेका विभिन्न जातजातीहरुको मौलिक कला, संस्कृति र सम्पदाको पहिचान संरक्षण, सम्वर्द्धन, प्रबद्र्धन र समाजिक जागरण मार्फत व्यावसायिक बनाइनेछ
४. वन, वातावरण तथा विपद् जोखिमन्यूनीकरण तर्फ
४.१ वन तथा वातावरण
१. सामुदायिक वन मार्फत वन संरक्षण, आगलागि नियन्त्रण, काठ आपूर्तिमा स्थानीयको अग्राधिकारको व्यवस्था मिलाईनेछ ।
२. वन क्षेत्रमा स्थानीय रैथाने प्रजातीका वन पैदावार र जडिबुटीको वृक्षारोपण गरी वन पैदावारको संकलन तथा बिक्रि वितरण गरी वन क्षेत्रलाई समेत आम्दानीको क्षेत्रमा उपभोग गर्ने व्यवस्था मिलाईनेछ ।
४.२ भूसंरक्षण तथा जलाधार व्यवस्थापन
१. भेरी, कर्णाली नदिले कटान गरेको र सम्भावित जोखिममा रहेका क्षेत्रहरुमा तटबन्धनको व्यवस्था गरिनेछ । तटबन्धनको व्यवस्था मिलाईनेछ ।
४. ३ महामारी तथा विपद् व्यवस्थापन
१. बाढी पहिरो, भुकम्प, भु–क्षय, सुख्खा तथा खडेरी, चट्याङ महामारी र आगलागि जस्ता विभिन्न प्रकारका प्राकृतिक प्रकोप जस्ता विपत्तिहरुबाट हरेक नागरिकको जिउधनको सुरक्षा गर्नका लागि वडादेखि प्रदेशतहसम्म विपद् व्यवास्थापन कोष स्थापना गरिनेछ ।
२. प्राकृतिक प्रकोपबाट सुरक्षित रहनको लागि विपद् पूर्व तयारीको लागि भेरी, कर्णली नदी र खोला किनारका बस्तीहरुमा विपद् पूर्व सूचना प्रणाली स्थापना गरिनेछ
३. बाढी पहिरो, भूकम्प, भू–क्षय, सुख्खा तथा खडेरी, महामारी र आगलागि जस्ता विपत्तिको समयमा तत्काल राहत, उद्धार र सुरक्षित बासको लागि पालिका स्तरमा राहत तथा उद्धार संयन्त्रको व्यवस्थापन गरिनेछ ।
५. सुशासन तथा संस्थागत विकास
५.१ नीति, ऐन तथा सुशासन
१. पश्चिम सुर्खेतको हरेक क्षेत्रको विकासका लागि स्थानीय सरकार, प्रदेश सरकार, संघीय सरकार र निजी क्षेत्र सबैसंगको सहकार्यमा आवश्यक मात्रामा विद्यमान कानुनको संशोधन र नयाँ नीति निर्माण गरिनेछ ।
२. हरेका आयोजनाहरुको सार्वजनिक सुनुवाई र सामाजिक परीक्षण अनिवार्य रुपमा गराइनेछ ।
३. सरकारी संयन्त्रलाई नागरिक मैत्री बनाउन पारदर्शिता, जवाफदेहिता, मितव्ययिता, विधिको शासन, निर्णय प्रक्रियामा जनसहभागिता, सरल र सुलभ सेवा प्रवाह, भष्ट्राचार नियन्त्रण जस्ता सुचकहरु सेवा प्रवाहका पुर्वशर्तको रुपमा लागू गरिनेछ ।
४. हरेक सरकारी निकायहरुबाट प्रदान हुने सेवा प्रवाहलाई सर्वसुलभ, सहज र प्रभावकारी बनाउन हरेक कार्यालयमा नागरिक बडापत्र, हेल्पडेस्क र गुनासो व्यवस्थापन केन्द्र स्थापनाको लागि नीति निर्माण गरिनेछ ।
५. संविधान बमोजिम स्थानीय तह र प्रदेशका एकल तथा साझा अधिकार सूची भित्र रहेका बाँकी नीति, कानुन, नियमावली तथा कार्यविधि तयार पार्नको लागि सम्बन्धित तहका सरकारहरु विचको समन्वयमा आवश्यक कानुन निर्माण गरिनेछ ।
५.२ सङ्गठनात्मक विकास
१. यस क्षेत्रका सबै सरकारी कार्यालय, विद्यालयहरु, अस्पताल, स्वास्थ्यचौकीहरुमा संगठन व्यवस्थापन तथा दरबन्दी सर्वेक्षण गरी योग्य, दक्ष र सक्षम जनशक्तिको आपुर्ती गरी सङ्गठनहरुको सवलीकरण गरिनेछ ।
२. सबै सरकारी कार्यालय, विद्यालयहरु, क्याम्पसहरु, अस्पताल, स्वास्थ्यचौकीहरु सुचना प्रविधि मैत्री बनाइनेछ ।
३. तीनवटै पालिकाको जग्गा सम्बन्धीको कारोबार गर्नको लागि पञ्चपुरी नगरपालिकाको बाबियाचौरमा इलाका नापी तथा मालपोत कार्यालय स्थापना गरिनेछ ।
४. दीगो विकास लक्ष्यलाई मार्गदर्शन मानेर योजना तर्जुमा तथा आयोजनाहरुको छनौट र कार्यान्वयन गरिनेछ ।
पुनश्चः स्वदेश तथा विदेशमा रहनुभएका आदरणीय आमाबुबा, दाजुभाई तथा दिदीबहीनीहरु कृपया यो प्रतिबद्धता पत्र सुरक्षित राख्नुहोला अनि निर्वाचन पश्चात मलाई कति कार्य भए र के–के काम बाँकी छन् भनेर प्रश्न गरिरहनुहोला ।
धन्यवाद, अभिवादन ।
मोहनसिंह बडुवाल
प्रदेशसभा सदस्य उम्मेदवार
सुर्खेत क्षेत्र नं. २ (ख)
प्रकाशित मिति: २१ कार्तिक २०७९, सोमबार ००:१५