नेपाली काँग्रेसका केन्द्रीय उपसभापति पूर्णबहादुर खड्काले मुलुकमा देखिएको समस्याको निकास र जनताले खोजेको तीब्र विकासको चाहना पूरा गर्ने काम निर्वाचनपछिको बलियो गठवन्धन सरकारले पूरा गर्ने बताउनुभएको छ।
आज नेपाली काँग्रेस सुर्खेतले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा सुर्खेत क्षेत्र नं. १ मा प्रतिनिधिसभातर्फका उम्मेदवारसमेत रहनुभएका नेता खड्काले गठवन्धन मुलुकको आवश्यकता अनुसार भएकोले यो गठवन्धन मङ्सिर ४ गतेको निर्वाचनपछि पनि कायम रहने जनाउनुभयो।
आगामी निर्वाचनपछि झन बलियो गठवन्धनको सरकार हुने र त्यसैले जनताको तीव्र विकासको चाहना, लिक बाहिर जान लागेको संविधानलाई सही बाटोमा हिँडाएर संरक्षणको काम गर्ने उहाँले बताउनुभयो।
विकास र निकासको लागि बलियो सरकारको आवश्यक पर्ने भएकोले त्यसका लागि गठवन्धन गरिएको उहाँको भनाइ छ।
विगतमा एमालेलाई जनतालाई जिताएपनि संविधानको धज्जी उडाएको, दलहरुवीच एकता कायम गर्न नसकेको, जनताको विकासको चाहनालाई पूरा गर्न नसकेकोले काँग्रेसको नेतृत्वमा गठवन्धन बनेको र यही सरकारले अहिले संविधान जोगाउने र विकास गर्ने जिम्मेवारी पाएको उहाँले जनाउनुभयो
उहाँले सुर्खेत कर्णाली प्रदेशको राजधानीसमेत भएको हुँदा विगतमा आफूहरुले गरेका विकास निर्माणको काम अझैसम्म पनि अधुरै रहनु दुःखद भएकोले आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा गठवन्धनलाई मत दिन आग्रह गर्नुभयो।
यस्तै काँग्रेसका पूर्व केन्द्रीय सदस्य एवं पूर्व मन्त्री हृदयराम थानीले गठवन्धनका साझा उम्मेदवाहरुलाई दायाँ बायाँ नसोचेर मतदान गरी जिताउन जोड दिनुभयो।
सुर्खेत क्षेत्र नं. २ का लागि प्रतिनिधिसभातर्फका उम्मेदवारसमेत रहनुभएका नेता थानीले कोहलपुर—सुर्खेत सडक चार लेन बनाउने, बर्दिया जोड्ने भुरीगाउँ—तेलपानी सडक, गुटु—बेनीघाट सडक, १३२ केभीए विद्युत प्रसारण लाइन, भेरीको पानी लिफ्ट गरी सुर्खेत उपत्यका ल्याउने योजनाहरु विगतमा सुरुवात भएपनि हुन नसकेकोले आफूहरु निर्वाचित भएर तत्काल काम अगाडि बढाउने प्रतिवद्धता जनाउनुभयो।
कार्यक्रममा सुर्खेत क्षेत्र नं. १ का प्रदेश क का उम्मेदवार एवं काँग्रेस सुर्खेतका सभापति खड्कबहादुर पोख्रेल र सुर्खेत क्षेत्र नं. २ का प्रदेश क का उम्मेदवार कालीप्रसाद शाक्यले विकास र निकासका लागि गठवन्धनका साझा उम्मेदवारहरुलाई जिताउन सवै क्षेत्र खटिन सुझाव दिनुभयो ।
प्रकाशित मिति: ८ कार्तिक २०७९, मंगलवार ११:००