१ कात्तिक, पोखरा । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत हकी प्रतियोगितामा मंगलबार भएको खेलमा कर्णाली प्रदेशले बागमती प्रदेशलाई १–० ले हराएको छ । त्यसअघि कर्णालीले लुम्बिनी प्रदेशलाई १–० ले नै हराएको थियो । नवौं राष्ट्रिय खेलकुदमा सहभागी टिम गेम्सका खेलाडी प्रदेशभित्र रहेका जिल्लाजिल्लाबाट छनोट भएर पोखरा आएका हुन् । तर, कर्णाली प्रदेशको हकी टिमको कथा भने बेग्लै छ । सुन्दा पनि कथाजस्तो लाग्ने कर्णालीको टिममा एउटै जिल्लाका मात्रै होइन, एउटै वडाका आफन्तसमेत हुन् । राष्ट्रिय सडक सञ्जालले नछोएको र भौगोलिक रुपमा पनि अति विकट हुम्लाको सिमकोट गाउँपालिका वडा नम्बर ५ बाट आएको हकी टिम प्रदेशलाई पदक दिलाउने सपनासहित पोखराको गौरीशंकर मैदानमा उत्रिएको छ । पहिलो खेल विभागीय टिम नेपाल पुलिसँग हारे पनि त्यसपछिका खेलम लुम्बिनी र बागमतीलाई हराएपछि कर्णाली सेमिफाइनलमा पुगेको छ । राष्ट्रिय खेलकुदको नवौं संस्करणमा कर्णाली प्रदेश पदक अंकतालिकामा सबैभन्दा तल्लो स्थानमा छ । तर, हकीमा पदक जितेर नयाँ इतिहास बनाउन चाहन्छन्, हकी संघ हुम्लाका अध्यक्षसमेत रहेका कप्तान रामजन रावत ।
कर्णालीका अन्य जिल्लाबाट खेलाडी छनोट गर्न खोजे पनि खेलाडी नै नहुँदा एउटै वडाका आफूहरु टिममा समेटिनु परेको बाध्यता रावत सुनाउँछन् । ‘कर्णाली आफैंमा विकट छ, फेरि यो खेलसँग सम्बन्धित मान्छे पनि त्यहाँ छैनन् । अलिकति पहिलादेखि सिकेको भएर मात्रै हामीलाई सजिलो भाको हो,’ उनी भन्छन्, ‘हामी पनि गरौं भनेर जुटेको मात्रै हो । नत्र सम्भावना नै थिएन । २०७२ मा स्थापना भएको हुम्ला हकी संघको टिमले नै अहिले हकीमा कर्णाली प्रदेशको प्रतिनिधित्व गर्दै आइरहेको छ । प्रदेश विभाजनअघि हुम्लाका केही खेलाडी तत्कालीन मध्यपश्चिमाञ्चलको प्रतिनिधित्व गर्थे । तर, आठौं राष्ट्रिय खेलकुद पछि भने हुम्लाका खेलाडीले नै प्रदेशको प्रतिनिधित्व गर्दै आएका छन् ।
बालगृहबाट हुम्ला पुगेको हकी
अहिले कर्णालीको प्रतिनिधित्व गर्दै आइरहेकोे हुम्लाको हकी टिमको सुरुआती कथा बुझ्न २०५२ सालमा फर्कनुपर्छ । त्यतिबेला रामजनसहित ६ जना वीरगञ्जस्थित एक बालगृहमा पुगेका थिए । त्यही बालगृहबाट हकी हुम्ला पुुगेको रामजन स्वयं बताउँछन् । ‘कोहीको आर्थिक अवस्था, कोेहीको बुवाआमा नभएको त्यतिबेला आफन्तले नै बालगृह लगे,’ विगत फर्कन्छन्, ‘त्यहाँ हामी दश वर्ष बस्याथिम् । त्यहीबेला १२–१३ वर्षको हुँदा पहिलोपल्ट हकी खेल्यौं ।’ बालगृह पुग्दा आफूहरु सरदर ६–७ वर्षको रहेको उनीहरु सम्झन्छन् । ‘वीरगञ्जबाटै खेल्न थाले पनि काठमाडौं आएकोबेला हामीलाई हकी सिकाउने गुरु राजेन्द्र पाठक हुनुुहुन्थ्यो,’ रामजन भन्छन्, ‘त्रिपुरेश्वरमा ट्रयाकमै खेलेर हामीले हकी सिक्यौं ।’ त्यसपछि प्लस टु पढ्न नेपालगञ्ज आयौं र गृह जिल्ला फर्कियौं । तर, गृहजिल्ला उनीहरुले सोचेजस्तो थिएन । भारतीय तीर्थालुबीच प्रख्यात गन्तव्य मानसरोेवरको मुख्यद्वार भए पनि पर्यटन व्यवसाय फस्टाइसकेको थिएन । उनीहरु भन्दा साना उमेरका बालबालिका कुलतमा फसिकेका थिए । ‘नेपालमा धेरैलाई थाहा नभए पनि हकी इन्डियाको राष्ट्रिय गेम हो भन्ने हामीलाई थाहा थियो । हुम्लामा पनि धेरै इन्डियन टुरिस्ट नै आउँथे । उनीहरु आएकोबेला हामी खेलेको देखेर खुसी हुन्छन्, आकर्षित हुन्छन् भनेर हकी खेल्न थाल्यौं,’ रामजनले भने, ‘त्यसमाथि कुलतमा लागेको भाइहरुलाई पनि सुधार्नुथियो ।’ कर्णाली प्रदेशको टिम नै धाने पनि हुम्लामा खेल्ने ठाउँ छैन । उनीहरु कहिले सीमसार क्षेत्र पुुग्छन् त कहिले स्कुलको प्रांगण, बाँझो जमिनलाई नै खेल मैदान बनाएका छन् । खेलाडी सन्तोष रावत खेलबाट जीवन धान्न असम्भव भए पनि खेलप्रेमकै कारण छोड्न नसकेको सुुनाउँछन् । ‘हुम्लाको मान्छेले हकी खेल्छ भन्दा अनौठो कुरा के होला ? काठमाडौंका मान्छेलाई त हकीबारे थाहा छैन, झन् हाम्रो ठाउँमा कसैले वास्ता गर्ने, नजर लगाउने भन्ने त झन् छँदै छैन,’ सन्तोष भन्छन्, ‘कन्टिन्यू गर्दैछौं । कहाँसम्म हुर्काएर फल कति फलाउन सक्छौं त्यो भने हेर्नै बाँकी छ, अहिले नै भन्न सकिन्न । तर, भौतिक रुपमा जति पनि खटिन तयार छौैं ।’

प्रदेशको सहयोग शून्य, प्रतिद्वन्द्वीसँगै खेल सामग्री सापटी
अहिलेसम्म बिना प्रशिक्षक नै खेलिरहेका हुम्ला हकी टिमका खेलाडीले नवौं राष्ट्रिय खेलकुदको तयारीका लागि एक महिनाअघि प्रशिक्षक पाए । उनीहरुले प्रशिक्षक पाएको केही दिनपछि नै पानी पर्न थाल्यो । न उनीहरुले केही सिक्न पाए न त कुनै गुुनासो गर्न नै । त्यसमाथि आफूहरुले प्रदेश सरकारबाट अहिलेसम्म कुनै सहयोग नपाएकोसमेत गुनासो गरेका छन् । ‘बल्ल बल्ल आयौं । प्रदेशले एउटा टिसर्ट बाहेक केही दिएको छैन । यहाँ खेल्न आउनेबेला पनि हामीसँग किपरले लगाउने सामानसमेत छैन,’ कप्तान रामजनले गुनासो गरे, ‘हामीभन्दा अगाडि खेलेका टिमसँगै मागेर यहाँ खेलिराख्या छौं ।’
नवौंमा सेमिफाइनल पुुगेको कर्णालीका खेलाडी आफूूहरुको जित ऐतिहासिक भएको बताउँछन् । ‘एक त कर्णाली पिछडिएको क्षेत्र भइाल्यो, त्यसमाथि हुम्ला । अझ हकीबाट जित्यौं, यसलाई ऐतिहासिक नै भन्छु,’ रामजनले खुसी साटे । तर, पोखरा आउनुअघिसम्म खेल्न पाइन्छ कि पाइँदैन अनिश्चितजस्तै रहेको रामजन सुनाउँछन् । पोखरा आउने तयारी गर्दा मौसमले साथ नदिएपछि सुर्खेतसम्मै हिँडेर आउने योजना बनाएको पनि उनले खुलाए । ‘हामीसँग खेलाडी छ । तर,समस्या भनेको यातायात नै हो । सडक सञ्जाल पुुगेको छैन । पानीले साथ नदिएको खण्डमा ३–४ दिन हिँडेर गाडी पुुग्ने ठाउँसम्म पुुगेर सुर्खेतसम्म पुुग्ने हाम्रो योजना थियो,’ उनले भने, ‘तर, जेहोस् मौसमले साथ दिएपछि प्लेनबाटै आयौं ।’
कर्णालीको महिला टिम बनाउने सपना
जारी नवौं राष्ट्रिय खेलकुदअन्तर्गत हकी प्रतियोगितामा कर्णालीको महिला टिम सहभागी छैन । यसको एउटै कारण, हो खेलाडीकै अभाव । नवौंमा आफूहरुले महिलाको पनि टिम बनाउन हरसम्भव कोसिस गरेको तर सफल नभएको कर्णाली हकी संघको भनाइ छ । हुम्लामा आफूहरुजस्तै महिलाहरु पनि हकी खेल्ने गरेको उनीहरुलाई नै नवौंमा समेट्न खोजे पनि स्रोत र साधनको अभाव सपना पूरा नभएको रामजन सुनाउँछन् । दशौं राष्ट्रिय खेलकुदमा भने हुम्लाबाटै महिला हकी टिम उतार्ने रामजनको लक्ष्य छ । ‘हाम्रो ठाउँमा महिलाहरु पनि कस्तो राम्रो खेल्नुहुन्छ । उहाँहरुलाई अहिले सहभागी गराउन सकिएन,’ उनले भने, ‘तर, दशौंमा भने टिम तयार पार्छौं । सरसामान नहुँदा नहुँदै पनि खेलिराखेका छौं, केवल प्रशिक्षकमात्रै चाहिएको होे । (विकास राेका/अनलाइनखबर)
प्रकाशित मिति: १ कार्तिक २०७९, मंगलवार २३:०८