सुर्खेतको बैयलकाँडामा २०१७ साल जेठ २६ गते जन्मिएका हृदयराम थानी नेतृत्व क्षमताको पाको र अनुभवी, विकास प्रेमी र जुझारु नेताको रुपमा चर्चित छन् । स्कूले जीवनमा जुनियर रेडक्रस सर्कलको सभापति भएदेखि नै क्षमताको विकास गर्दै लगेका थानी अध्ययनका लागि २०३६ सालमा पुलचौक इन्जिनियरिङ कलेज काठमाडौं पुगेकै वर्ष नेविसंघको इकाई सभापतिको जिम्मेवारी पाएका थिए ।
मिजासिलो स्वभाव र जुझारु क्षमताकै कारण राजधानी बाहिरको जिल्ला सुर्खेतबाट गएका थानीले २०४१ देखि २०४३ सम्म नेविसंघबाट शंकरदेव क्याम्पसमा स्ववियू सभापतिको रुपमा काम गरेर आफ्नो पहिचान स्थापित गरे । २०४२ सालको सत्याग्रह, २०४६ सालको जनआन्दोलन लगायत २०६२/०६३ सम्म लोकतन्त्र प्राप्तिका लागि भएका विभिन्न आन्दोलनमा सक्रियता जनाउनेक्रममा थानीले पटक–पटकगरी २ बर्ष जेलनेल भोगिसकेका छन् ।
विवि कोइराला, कृष्णप्रसाद भट्टराई र गणेशमान जस्ता मुर्धन्ने नेताको छत्रछायामा रहेका कांग्रेस नेता थानीले संघर्ष र सफलताको दुरी राम्रैसँग मापन गरेका छन् । २०४३ सालमा नेविसंघको केन्द्रीय उपसभापति हुँदा उनले स्थापित विद्यार्थी नेताको छवि बनाएका हुन् । कांग्रेस नेता थानीले पञ्चायतकालमा प्रतिबन्धित नेपाली कांग्रेस जिल्ला कार्यसमिति सुर्खेतको सदस्य भएर उदयमान नेताको नयाँ परिचय बनाएका थिए । २०४७ सालमा बहुदल प्राप्तिपछि सुर्खेत फर्किएका नेता थानीले संगठन विस्तारका लागि जिल्लाको पश्चिम क्षेत्रमा गरेको दौधथुप अहिले पनि त्यही जोसजाँगरका साथ चलिरहेकै छ ।
२०४९ सालमा वीरेन्द्रनगर वडा नम्बर १ को वडाध्यक्ष बनेका थानीले जिल्लामा पार्टी संगठनका लागि गरेको मेहनत र पार्टीप्रतिको लगाव देखेर पार्टीले २०५१ सालको निर्वाचनमा सुर्खेत क्षेत्र नं. २ को सांसदको उम्मेदवार बनाएको थियो । २०५२ सालमा क्षेत्र नम्बर २ को क्षेत्रीय सभापति भएका थानीले कमलराज रेग्मीलाई क्षेत्रीय सचिव बनाएका थिए ।
‘तिम्रो दुःख तिमीले नै खाने हो, अरुले खाँदैन’ भन्ने किसनज्यूको भाइनबाट प्रेरित थानीले कहिल्यै हार मानेनन र फेरि उही दुख गर्न लागे । तबमात्र २०५६ सालमा सुर्खेती जनताले उनलाई पत्याए र पहिलो पटक सांसदमा विजयी भएका थानीमा जनताले गरेको विश्वासलाई कायम राख्न जनतालाई अनुभूति हुनेगरी केही काम गर्नैपर्छ भन्ने जुनुन थियो । फलस्वरु उपत्यकका चक्रपथको रेखाङ्कन, दशरथपुर–नेटा–दह, रातानाङ्ग्ला–धरमपोखरा–मटेला–दह सडकको रेखाङ्कन, झुप्रा बृहत खानेपानी (हालःको सुर्खेत उपत्यका खानेपानी आयोजना, मध्यपश्चिम विश्वविद्यालय र तत्कालीन क्षेत्रीय अस्पताल (हालको प्रदेश अस्पताल) स्थापनाको काम सुरु भएको सुर्खेती जनताले विर्सीएका छैनन् ।
२०५७ सालमा कांग्रेस नेता थानी राज्य व्यवस्था समितिको सभापति हुँदा अख्तियार दुरुपयोग अनुसन्धान सम्बन्धि ऐन बनाएर चर्चित भए । संसद र संगठन दुबैमा चर्चितहुँदै गएका थानीले संगठनलाई आइपरेको चुनौतिको सामना गर्दै २०५८ सालमा कांग्रेस सुर्खेतको जिल्ला सभापति भएर नेतृत्व गरे । संगठन निर्माण, विकास निर्माणमा मात्रै होइन जनआन्दोलनमा पनि अग्रणी भूमिकामा उभिय उनी । २०६३ सालमा संसद पुर्नस्थापित भइसकेपछि पनि राज्य व्यवस्था समितिको सभापतिको जिम्मेवारी पाएका उनी आफ्नो पुरानो लयलाई कायम राख्दै प्रमाणिकरण ऐन, नेपाली सेना ऐन लगायतका बहुचर्चित ऐन बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरे । सार्वजनिक पदमा रहदा डटेर जिम्मेवारी पूरा गर्ने र पदमा नहुँदा डटेर संगठन विस्तारमा जुट्ने उनको पुरानै शैली हो । यही शैलीलाई पच्छाउँदै २०६४ सालमा भएको पहिलो संविधान सभाको निर्वाचनमा अनपेक्षित नतिजा बेहोरेपछि उनी फेरि जुटे संगठन विस्तारमा । पश्चिम सुर्खेतका उत्तरपूर्वी गाविसहरुको भोक र प्यास मेटाउन उनी दिनरात नभनी जुटेका काँग्रेस नेता थानीले गाउँगाउँमा पुगेर बगाएको पसिनाको परिणाम स्वरुप २०७० सालको निर्वाचमा उनी फेरि जनताको रोजाइमा परे ।
दोस्रो पटक जनताको रोजाइमा परेका उनी २०७२ सालमा नेता तथा आमकार्यकर्ताको रोजाइमा पनि परे र तेह्रौं महाधिवेशनतबाट सबैभन्दा बढी मत ल्याई नेपाली काँग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भए ।
नेता थानी संविधान सभा सदस्य भएकै बेला तत्कालीन सरकारले कर्णाली प्रदेशलाई सुदुरपश्चिममा गाभ्नेगरी ६ प्रदेशको खाका ल्यायो तर कर्णालीलाई अन्याय पर्नेगरी ल्याइएको ६ प्रदेशको खाकालाई परिमार्जन गर्नका लागि नेता थानीले संसद र सरकारमा महत्वपूर्ण भूमिका निभाए । त्यतिमात्र होइन, कर्णाली छुट्टै प्रदेश र त्यसको राजधानी सुर्खेत नभए म सांसद पनि हुँदैन भनेर लोगोसमेत शीर्ष नेतृत्वलाई बुझाइदिने चेतावनी दिए । त्यसकै बलमा अन्ततः सरकारले दश जिल्लासहितको कर्णालीलाई छुट्टै प्रदेश र अस्थायी राजधानी सुर्खेतलाई घोषणा गर्न बाध्य भयो ।
तस्विर: कर्णाली प्रदेशलाई सुदुरपश्चिममा गाभ्ने सरकारको निर्णय सच्याउन २०७२ साउन २७ गते तत्कालीन प्रधानमन्त्री सुशील कोइरालालाई दवाव दिँदै नेता थानी र स्वर्गीय नेता तप्तबहादुर विष्ट ।
२०७३ सालमा सहकारी तथा गरिवी निवारण मन्त्रीसमेत हुन पुगे । त्यस पटक संविधान बनाएर जनतालाई निकास दिने र जनताले चाहे जस्तो विकास गरेर देखाउन उनका साथ चुनौति थियो । यी दुबै काम पुरा गर्न उनी खरो रुपमा उत्र्रिए ।
वीरेन्द्रनगरको फोरलेन सडक, सौर्य सडक बत्ति, काँक्रेविहारको पुनःनिर्माण यावत् योजनाको विकास निर्माणमा थालनी गराएको जस पनि उनलाई नै जान्छ । पहिलो पटक मन्त्री भएका उनले राज्य व्यवस्थाको सभापति हुँदा जस्तै ऐन कानून बनाउने र मन्त्रालय स्थापित गराउने काममा सक्रिय भए । फलस्वरुप लामो समयदेखि अलपत्र परेको सहकारी ऐन ल्याउन सफल भए भने गरिवी निवारण सम्बन्धि कार्यक्रम सहकारी तथा गरिवी निवारण मन्त्रालय मातहत ल्याई स्थापित मन्त्रालयको रुपमा सफल भए ।
वीपीको संगतले दुरदर्शिता, गणेशमानको संगतले अविचलन, किसुनजीको संगतले सादगी र गिरीजाबाबुको संगतले तीब्र निर्णय लिने क्षमताबाट प्रभावित भएका थानी सुर्खेतमा काँग्रेस राजनीतिको मियोको रुपमा स्थापित हुन पुगेका छन् । यही आदर्श र मूल्य मान्यतामा रहेका थानीले २०७९ को निर्वाचनमा सुर्खेत क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य पदमा पार्टीले उम्मेदवार बनाएको छ । सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार भएका थानी अहिले सुर्खेती जनताका सामु घरदैलोका लागि पश्चिम सुर्खेतमा व्यस्त छन् । कहिले पार्टी संगठन त कहिले विकास निर्माणमा खटिरहने नेपाली कांग्रेसका नेता थानीको ४३ वर्ष देखिको राजनीतिक यात्रा अविच्छिन्न रुपमा जारी छ ।
प्रकाशित मिति: ३० आश्विन २०७९, आईतवार १६:००